विराटनगर  /  विराटनगर जुटमिल्सले जुटको ‘सुतली’ पछि बोरा उत्पादन गर्न सुरु गरेको छ । जुटमिल्स सञ्चालनमा आए पछि सुतली उत्पादन गरेर निर्यात गरेकोमा अहिले जुटको बोरा उत्पादन गर्न सुरु गरेको विराटनगर जुट मिल्सका अध्यक्ष बसन्त वनले जानकारी दिए ।
सुतली प्याकिङ्ग गर्न एक सय केजीको बोरा उत्पादन गरेको जुटमिल्सका गुणस्तर नियन्त्रक सुचेन्द्र झाले जानकारी दिए । अहिले दुई प्रकारको बोराहरू उत्पादन गर्न सुरु गरेको जुटमिल्सले जनाएको छ । १ सय केजी तौल र ५० केजी तौल क्षमताको बोरा उत्पादन गर्न सुरु गरेको हो ।
बोरा उत्पादन गर्न अहिले २ वटा मेसिन चलिरहेको भए पनि विस्तारै सबै मेसिन संचालनमा आउने मिल्सका गुणस्तर नियन्त्रक झाको भनाई छ । बोरा उत्पादन हुने २ सय ७० वटा मेसिन मिल्समा छ । यी सबै एक साथबाट चाँडै सञ्चालनमा आउने बताइएको छ ।
धान, चामल राख्न मिल्ने खालको ४४ इन्च लम्बाई, २७ इन्च चौडाई भएको ९ सय ७ ग्रामको १ सय केजीको बोरा र ३७ इन्च लम्बाई र साढे २२ इन्च चौडाई भएको ६ सय ६० ग्राम तौलको ५० केजी क्षमताको बोरा उत्पादन गर्न जुटमिल्स लागिपरेको छ । एक सय केजी तौल क्षमताको बोरालाई बिटुडीय र ५० केजी तौल क्षमताको बोरालाई जिबिटी भन्ने गरिएको छ । 

जुटमिल्सले अहिले दैनिक १ सय ५० केजी बोरा उत्पादन गरिरहेको छ । जुटमिल्स सञ्चालनमा आए पछि उत्पादन गरेको ३२ टन सुतली बिक्री गर्ने अन्तिम तयारीमा रहेको अध्यक्ष वनले बताए । यस अघि बारम्बार बन्द हुँदै सञ्चालनमा आएको जुटमिल्सले उत्पादन गरे पनि बिक्री गर्न सकेको थिएन । झण्डै एक दशक पछि उत्पादन बिक्री गर्न लागेको हो । मिलले ७२ इन्च र ९० इन्च जुटको सुतली उत्पादन गरेको छ ।
९० इन्च लामो सुतली भारतमा बिक्री गर्ने तयारी गरिएको छ भने ७२ इन्चको स्वदेशको उद्योगमा बिक्री गर्ने बताइएको छ । ९० इन्चको लामो सुतली स्वदेशमा विक्री नहुने भएकोले छिमेकी राष्ट्र भारतमा बिक्री गर्ने तयारी मिल्सले गरेको हो । मिल्स सञ्चालनमा आउँदा जुटमिल प्रशासनले ८० टन जुट खरिद गरेको थियो ।
विराटनगर जुट मिल्सको गत भदौ २६ गतेबाट परीक्षण उत्पादन गरिएको थियो । त्यस यता अहिलेसम्म ३२ टन सुतली उत्पादन भएको छ । विवाद र किचलोको कारण जीर्ण बनेको जुटमिल सञ्चालन हुन थाले पछि स्थानीय र मजदुर उत्साहित छन् । विराटनगर जुट मिल्स बिस १९९३ असार ३० गते स्थापित भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन ।