गुणस्तरीय स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा प्रदायकको रुपमा एक मौलिकता स्थापित गर्न सफल नेपालकै प्रतिष्ठित स्वास्थ्य शिक्षण संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाञ्चल कै गौरव बनेको छ । यसले मृत शहर धरानलाई पुनरर्जीवन दिएको धेरैको बुझाई छ । स्वास्थ्य सेवा वितरणका साथ साथै पृथक तथा गुणस्तरीय स्वास्थ्यकर्मी उत्पादनमा यस संस्थाले विगतको २४ वर्ष विभिन्न आरोह र अवरोहको बाटो तय गरेको छ तर पनि स्वास्थ्य सेवा प्रदान र गुणस्तरीय स्वास्थ्यकर्मी तथा चिकित्सक उत्पादनमा आफ्नो उत्कृष्टता यथावत राख्न सफल मानिएकै छ । प्रतिष्ठान स्वास्थ्य शिक्षा प्रदायकको हकमा एक पृथकरुपमा स्थापित संस्था हो र यो भारतको दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को समान अवधारणमा स्थापित भएको जीकिर धेरै पटक गरिएको छ । २०४९ मा संसदबाट पारित प्रतिष्ठानको ऐनले पनि नेपालमा यस संस्थालाई मौलिकता कायम राख्ने अवधारणा सहित स्थापित गरेको थियो, हाल यस्तै अवधारणका धेरै प्रतिष्ठान स्थापित भए पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओज अझै कायम नै छ । शुरुवाती दिनहरुमा भारतको सहयोग पाएको र एम्सका चिकित्सक प्राध्यापकहरुवाट शिक्षा तथा स्वास्थ्य सेवा प्रदान भएकोले यस संस्थाले आफ्नो मौलिकता कायम राख्न कुनै कसर राखेन तर पछिल्ला केही वर्षमा विभिन्न प्रभावका कारण यस संस्थाले आफ्नो मौलिकता कायम राख्न निकै संघर्ष गरिरहेको सत्यता सबैमा छर्लङ छ ।
यसका लागि हुनु पर्ने प्रभावशाली एवम् कुशल नेतृत्वको अभाव नै प्रमुख कारण हो भन्नु गलत हुने छैन् । यस प्रतिष्ठानसँग सरोकार राख्ने कसैले पनि प्रभावकारी रुपमा आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह नगर्दा नेपालमै फरक दृष्किोणबाट स्थापित यस संस्थाको ओज दिनानुदिन कम हुँदै गएको छ । विभिन्न निकायहरुबाट यसको पृथकतालाई मेटाउने प्रयासहरु भएका छन् र प्रतिष्ठानको भावना विपरितका क्रियाकलापहरु अगाडि बढ्दै गएका छन् । पछिल्लो समयमा प्रतिष्ठानको अनुमति बेगरै प्रतिष्ठान परिसर भित्रै रहेको डिपोट विद्यालयले प्रतिष्ठान परिसर भित्रै फन पार्क निर्माणको सम्झौता गरेर प्रतिष्ठान कमजोर रहेको प्रष्टोक्ति दिन खोजिएको देखिन्छ । हाल प्रतिष्ठान हाता भित्र फनपार्क निर्माण विवादले जुन रुप लिएको छ त्यो निकै नै दुःखद समाचार बन्न पुगेको छ । फनपार्क धरानवासीको लागि आवश्यक होला, यसमा कुनै संदेह छैन् तर स्वास्थ्य सेवा प्रदायक संंस्थाको थप विकास गर्ने ठाउँमा फनपार्क निर्माण आफैमा सोचयोग्य विषय हो । हुनत कुशल नेतृत्वको अभावमा प्रतिष्ठानमा विभिन्न समस्या आएका होलान्, कमी कमजोरी पनि भएका होलान् तर यसको अर्थ प्रतिष्ठान कमजोर भयो र जे गर्दा नि हुन्छ भने भावनाले प्रतिष्ठान प्रतिकुल निर्णय गर्दा पुर्वकै स्वास्थ्य सेवा प्रभावित हुने देखिन्छ । प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभाकारी नहोस भन्ने भावनाले ओतप्रोत भएका निजी स्वास्थ्यसेवा प्रदायक संस्थाहरु र तिनका सहयोगीहरु आफ्नो फाईदाको लागि प्रतिष्ठानको अवगतिको लगि प्रयासरत छन्, यस सत्यतालाई सबै धारानवासीले बुझ्नु जरुरी छ । बेथिति बढ्दै छ । समस्याहरुको समाधानका लागि प्रतिष्ठानमा उचित नेतृत्वको चयन तथा समस्याको उचित समाधान खोजिनु पर्नेमा प्रतिष्ठानको मौलिकता हराउने गरी जसरी धरानवासीबाटै जे नर्णियहरु भएकाछन् यसले प्रतिष्ठान तथा नेपालको स्वास्थ्य क्षेत्रमा दुरगामी नकारात्मक असर पर्ने पक्का पक्की छ, यसको पछिल्लो उदाहरणका रुपमा प्रतिष्ठान हाता भित्र ३० वर्षको लागि लिजमा फनपार्क निर्माणको डिपोट विद्यालयले गरेको सझौतालाई लिन सकिन्छ ।
प्रतिष्ठानको मौलिकता कायम राख्न प्रतिष्ठानका विद्यार्थी, प्राध्यापक–शिक्षक, चिकित्सक, कर्मचारीहरु सक्रिय भएर लागेका छन् र फनपार्क निर्माणको खुलेर विरोधमा छन् । उनीहरु सबै आन्दोलन तथा जनचेतनाको कार्यक्रमहरु सहित अगाडी बढेका छन् तर यसमा स्थानीय धरानवासीले समेत यथार्थ बुझी फनपार्क निर्माण तत्काल रोकी यसको स्थानान्तर गरी प्रतिष्ठानको ओज कायम राख्न सहयोग गर्नु निकै जरुरी छ । फनपार्क धरानवासीको मनोरंजनको लागि आवश्यक होला तर प्रतिष्ठान पूर्वका जनताको आधारभूत आवश्यकता हो, वास्तविकता यही हो । स्वास्थ्य सेवाको पहुच सबै नेपाली जनतामा हुुनु पर्छ, यसवाट बञ्चित गराउने अधिकार कसैको छैन् । त्यसैले प्रतिष्ठान हाता भित्र फन पार्क हैन थप स्वास्थ्य सेवा प्रदान हुने गरी स्वास्थ्यसेवा विस्तारमा सरोकारलावा सबै लाग्नु जरुरी छ ।
अन्तमा विक्रम सम्बत २०४५ को भूकम्पबाट भौतिक, समाजिक, आर्थिकरुपमा अस्तव्यस्त भएको धरान र त्यस अधि नै धरानबाट पोखरामा व्रिटिस गोर्खा सैनिक भर्ती केन्द्र सारिनाले मृत प्रायको अवस्थामा धरान बजार रहेको धरानलाई जीवनदान दिंदैं धेरै विवाद पछि मोरङमामा खोलिने भनिएता पनि धरानमा स्थापित वीपी कोइराला प्रतिष्ठानको मौलिकता जोगाई राख्नु सबै सरोकारवाला पक्षको जिम्मेवारी हो । धरानका नागरिक समाज, राजनैतिक दल, प्रतिष्ठानका विद्यार्थी शिक्षक, कर्मचारी, विद्यार्थी, न्यायिक निकाय, पदाधिकारी तथा सरकारी नियमकारी निकाय सबैले आ–आफ्नो स्थानवाट प्रभावकारीरुपमा सक्रिय भूमिका निर्वाह गर्दै प्रतिष्ठानलाई जोगाउनु तथा प्रतिष्ठानसंग सरोकार राख्ने सबैलाई विधिको शासन भित्र ल्याउनु आजको आवश्यकता हो । प्रतिष्ठानको पृथकता हामी सबैको लागि एक गौरवको विषय हुनेछ यसलाई यथावत रहन दिनु पर्छ ।
(प्रतिष्ठानको विद्यार्थी कल्याण समाजको संस्थापक महासचिव डा. साह हाल पाटनमा एमडी अध्ययनरत छन् ।)