इटहरी/ उर्वर भूमिमा रासायनिक मलको प्रयोग बढ्दा माटोमा अम्लियापन बढ्दै गएको छ । माटोमा अत्याधिक रासायनिक मल , बिषादीको प्रयोग बढ्दा उर्वर भूमिमा वर्षेनी उत्पादन घट्नुका साथै माटो मर्न थालेको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काले जनाएको छ । माटोमा क्याल्सियम चुन तत्व र मैग्नीशियम तत्व कम हुदा माटोमा अम्लीय बढीरहेको माटो बिज्ञहरु बताउँछन् । पहिले राम्रो उब्जनी दिने जमीनहरुमा उत्पादन घट्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ घट्दै जादा पूर्वको उर्वर भुमि मानिएका जिल्लाहरुमा पनि वर्षेनी उत्पादन घट्न थालेको हो । रासायनिक मलहरुको जथाभावी प्रयोग बढिरहदा माटोको आयु घट्दै गएको माटो बिज्ञहरुकाे भनाई छ ।  उच्च पहाडी क्षेत्र बाहेकका अन्य ठाउँमा प्राङ्गारिक पदार्थ घट्दै जादा उत्पादनमा समस्या देखिएको क्षेत्रीय माटो परिक्षण प्रयोगशाला झुम्काका माटो बिज्ञ सुनिलकुमार सिंहले जनाए । पूर्वी नेपालमा बढेको, प्राङ्गारिक पदार्थ घटेको र उत्पादन कम हुन थालेको कारण माटो मर्न थालेको उनी बताउँछन । उत्पादनको लोभमा अहिले जथाभाबी रुपमा अत्याधिक रासायनिक मल प्रयोग गर्दा माटो मर्न थालेको उनको भनाई छ । अन्नभण्डार मानिने तराईको माटोमा प्राङ्गारिक पदार्थ निकै कम हुँदै गएको तथा यही गतिमा माटो बिग्रेमा खाद्य उत्पादन उल्लेखनीय घट्ने क्रममा रहेको बिज्ञ सिंहको भनाई छ । पूर्वको विभिन्न जिल्लामा गरेको प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लिया बन्दै गएको र उर्वर शक्ति ह्रास हुदै गएको छ उनी भन्छन् । उनले भने फस्फोरस र पोटासको मात्रा पनि घटेको छ । पहाडी भेगमा गाईवस्तु कम पाल्नु, वन जंगलमा स्याउला कम पाइनु वा ल्याउने चलन घट्नुले पनि माटोको उर्वराशक्ति कमजोर पारेको उनको भनाइ छ । उत्पादन घटेको थाहा पाए पनि माटोको अवस्था परीक्षण गर्ने विधि र ठाउँबारे अधिकांश किसानलाई जानकारी छैन । क्षेत्रीय प्रयोगशालामा उन्नत प्रविधि छ भने जिल्लाका प्रयोगशालामा कलर मेथड प्रविधिबाट माटो परीक्षण गरिन्छ । गत आर्थिक वर्षमा ६ सय ४९ माटो परिक्षण गर्दा ५ सय ४० माटोमा भने अम्लियपन भेटियो कार्यलयका प्राविधिक साहयक योगेन्द्र यादबले भने । अहिले पहाडी जिल्लामा बढि समस्या देखिएको उनको भनाई थियो । स्थानीयस्तरमा तयार गर्न सकिने गड्यौला मल, पिसाब मल, घरको फोहोरबाट बनाउन सकिने कम्पोष्ट मल, गोबरग्याँस प्लान्टमा सरकारले किसानलाई पर्याप्त प्रोत्साहन दिएको छैन । माटोमा पिएच, नाइट्रोजन, फस्पोरस, पोटास, लगायत १६ पदार्थ रहेका हुन्छन । यी पदार्थ माटोमा सन्तुलित रहेनन् भने माटोको उर्वरा शक्ती नास भै माटो मरूभूमिमा परिणत हुने गर्दछ । उत्पादनमा कमी आएपछी किसानहरु पनी चिन्तित हुन थालेका छन् । माटो बिग्रिनुको धेरै कारणमध्ये रासायनिक मल र विषादीको अत्यधिक प्रयोग प्रमुख कारण हो। तराईमा खेतमा हाल्नुपर्ने गोबर गुइँठा बनाएर बाल्ने र खेतमा खरानी हाल्ने प्रवृत्तिले पनि माटो बिगारेको माटो बिज्ञहरु बताउँछन् । माटो जोगाउँन के गर्ने ? अत्याधिक रासायनिक मलको प्रयोगले माटो मदै गएको छ । माटोलाई जोगाउँन रासायनिक मलको प्रयोग घटाउने,प्राङ्गारिक मलको प्रयोग बढाउने, तराईमा गुइँठाको विकल्प खोजी गोबरलाई खेतमै राख्ने, पिसाब मल, गड्यौला मल, फोहोर व्यवस्थापनबाट घरमै तयार हुनसक्ने कम्पोष्ट मल उत्पादन गर्ने, मलखाद र खेतबारीमा स्याउलाको प्रयोग बढाउने,बाली चक्र अपनाउने,पराल, भुस, छ्वाली खेतबारीमा नजलाउने,भकारो व्यवस्थित गर्ने, नियमित रूपमा माटोको परीक्षण र परामर्श लिने गर्नु पर्छ ।