
पथरीशनिश्चरे । नेपाली भाषा र साहित्यको संरक्षण र सम्वर्द्धनका खातिर नेपाल र दशगजा पारिका सर्जकहरुको सहभागितामा झापाको दमकमा २ दिने साहित्य कला महोत्सव सुरु भएको छ । जहाँ नेपाल, भारत र भूटानका प्रतिनिधिमुलक सर्जकले रचना वाचन गर्नुका साथै भाषा र साहित्यका विषयमा छलफल तथा वहस गरेका छन् ।
दमक नगरपालिकाको समेत सहयोगमा साहित्य कला संगम दमकले राजधानी काठमाडौंका साथै सुदुरपश्चिमसम्मका जिल्ला तथा भारतको विभिन्न प्राप्तहरुबाट नेपाली भाषी साहित्यकारहरुको प्रभावकारी जमघट गराएर बुधबारबाट महोत्सव थालेको हो । भाषिक कार्यशाला तथा साहित्य संगोष्ठी नाम दिइएको महोत्सवको प्राज्ञ उपेन्द्र पागलको प्रमुख आतिथ्यतामा उद्घाटन् भएको छ ।

दार्जीलिङकी अगुवा साहित्यकार मध्येकी डा.विन्द्या सुब्बाले भारतका विभिन्न प्रान्तमा बसेर पूर्ण लेखनमा स्वतन्त्रता महसुस गर्न नपाएको अवस्थामा पनि नेपाली भाषा र साहित्यको सम्वर्द्धनमा डटिरहेको सुनाइन् । काँकडभिट्टाका पुण्यप्रसाद खरेल, उर्लाबारीकी मिश्र बैजयन्तिले मोफसल क्षेत्रको साहित्य र कलाको संरक्षण र विकासका लागि सो कार्यक्रम महत्वपूर्ण रहेको धारणा राखेका छन् ।
कार्यक्रममा, क्रमश : धिमाल, लिम्बू र राजवंशी भाषा र साहित्यको क्षेत्रमा योगदान दिने दयाराम धिमाल, सेसेमीसे नाल्वो र पानीलाल राजवंशीलाई सम्मानित गरिएको छ । शिक्षासेवी तेजकुमार श्रेष्ठ र साहित्य कला संगममा २१ लाखको अक्षयकोष प्रदान गर्ने साहित्यानुरागी भवानीप्रसाद मिश्रलाई पनि उसैगरी सम्मानित गरिएको छ ।
सो अवसरमा प्राध्यापक डाक्टर टंक न्यौपानेले ‘दमक नगरपालिकाको भाषिकस्थिती र अपेक्षित भाषानीति’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । उनले दमकमा नेपाली, अंग्रेजी सहित जातीय भाषा गरी कुल ४० भाषा बोलिने गरेको तथ्याङ् कार्यपत्रमा प्रस्तुत गरेका छन् ।
साँझ गजल वाचन भएको छ । जसमा विशेष अतिथिका रुपमा पुष्प अधिकारी अञ्जली, रुपक अलंकार, अमला अधिकारी, अनन्त अनुराग, सुमन स्मारिका, प्रकाश किरण, शान्ति शर्मा, दिग्गध द्यौराली र मधु केरुङले गजल वाचन गरेका छन् । प्रतिनिधि गजलकारका रुपमा अजल आँशु, गगन एक्पाङदेन, इन्दिरा कुमाल, राज दिलाञ्जली, महेन्द्र विरही, रोमा निरौला, चेतन अन्जान, मौसम वराल, विष्णु कार्की, राजन कार्की, प्रचुर अभाव, राजकुमार अनिश्चित, याम थुलुङ र टंक भण्डारीले आफ्ना प्रभावकारी गजल वाचन गरेका छन् । साथमा सुरभि कलाकेन्द्रको गजल गायन रहेको कार्यक्रम संयोजक विवश वलिभद्र कोइरालाले बताए ।

विहीवार अन्य कार्यक्रम हुनेछन् । जसमा एकु घिमिरे, प्रवीण बानियाँ, मनु विक, ताराबहादुर बुढाथोकी, धर्म तिवारी, सुन्दर कुरुप, इन्दु नेपाल योञ्जन, सागरमणि दहाल, मुकुन्द प्रयास, प्रेम ओझा, धनपति ढुंगेल, सन्देश सुब्बा, सबीर राई दिल्पाली, रमेशचन्द्र अधिकारी र अकेला यात्रीका कविता प्रस्तुत हुनेछन् । साथमा प्रकाश बुढाथोकी, मुनाराज शेर्मा, ढाकातारा पराजुली, शिवराम खड्का, मेचीपुत्र, बिर्खे अन्जान, विराट किराती, नवीन प्राचीन र अमृता स्मृतिले कविता वाचन गर्ने कार्यक्रम संयोजक शिव प्रणतले जनाए । मिश्र वैजयन्ती, मधुसुदन गिरी, इरान राई, चेतनाथ धमला, कृष्ण सारथी, तीला लेकाली, डिकेश लामा, राजेन्द्र पासा, हेमसागर पोखरेल र असफल गौतमले हाइकु वाचन गर्नेछन् । हरि कट्टेल, खोलाघरे साँहिलो, रोहित पराई, टीका आत्रेय, सुरेश सुवेदी, खगिन्द्रा खुसी, गणेश खतिवडा, रीता पोखरेल, सीसा थारु चौधरी, अजय प्रधान, सृजना अर्याल अधिकारी, मनोज भण्डारीले छन्दका कविता वाचन गरेर छन्दको स्वाद दिएर यसको संरक्षणको सन्देश दिएको छ । अशोक बस्नेत सहितले मुक्तक समेत वाचन गर्नेछन् । विन्द्या सुब्बा, कविता क्षेत्री, अर्जुन निरौला, जिवीका अश्रु सहितले दशगजापारीका कविता प्रस्तुत गर्ने संस्थाका अध्यक्ष नरपति पाण्डेले जनाए ।