घण्टाघर/ प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने यकिन नहुँदा अन्योल बढिरहेकै बेला विभिन्न आधार र भौतिक संरचनाले पनि भरिपूर्ण भएको भन्दै धरानलाई राजधानी बनाउन माग गरिएको छ ।

राजनीतिक दलहरूले सोमबार पत्रकार सम्मेलन गरेर प्रदेश राजधानीका लागि धरान नै उपयुक्त हुने धारणा राखेका छन् । सर्वदलीय छलफलपछि दलहरूले पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमा धरानकी नगर उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले धरानलाई प्रदेश राजधानी बनाउन उपयुक्त भौतिक सुविधा सम्पन्न पूर्वाधारको खोजी गरी सरकारलाई लिखित जवाफ पठाइसकिएको जनाइन् । ‘माथिबाट नै पठाउनु भनेकोले हामीले आधार र संरचनाको पूर्ण विवरण पठाइसकेका छौँ ।’ उनले भनिन् । उनले प्रदेशसभा र प्रदेश सरकारका लागि कार्यालय राख्न सकिने पूर्वाधारको अवस्था पनि प्रस्तुत गरिन् । उनका अनुसार प्रदेशसभाको सचिवालयका लागि भौतिक पूर्वाधारले सम्पन्न सभागृह, प्रदेश सभाहलका लागि सभागृह र अस्पतालको सेवा र शैक्षिक क्षेत्रलाई असर नपार्ने गरी बीपी प्रतिष्ठानस्थित एकेडेमी तथा पुनःस्थापना केन्द्र, अडिटरियम हल, दशहरा हल, प्रदेशसभाका सभामुख र उपसभामुखका लागि प्रतिष्ठानमै रहेको निर्वाणा कन्ट्री क्लब, प्रदेश प्रमुखको कार्यालय आन्तरिक राजश्व कार्यालयमा राख्ने सकिनेछ ।

यस्तै, प्रदेश प्रमुखको निवासका लागि निर्वाणा कन्ट्री क्लब, मुख्य मन्त्रीको कार्यालयका लागि धरान–१८ स्थित पुनःस्थापना केन्द्र र आन्तरिक राजश्व कार्यालय, पुरानो अस्पताल, पुरानो कर कार्यालय, सङ्घीय इकाइ कार्यालय, नेपाली सेनाको ब्यारेक, सडक डिभिजन कार्यालय, सिद्धि नेवाः परिषद्, ब्रिटिस कम्युनिटी हल, सुनसरी उवासङ्घलगायतका स्थान उपयुक्त रहेको उनले जनाइन् । धरान उमनपाले धरानलाई राजधानी बनाउन उपयुक्त हुने आधारहरू पनि प्रस्तुत गरेको छ ।

प्रदेशको राजधानीबारे विवाद गर्नुभन्दा सबैभन्दा उपयुक्त र सबैलाई पायक पर्ने स्थान धरान नै भएकोले सबैको ध्यान धरानतिर केन्द्रित हुनुपर्ने उपमेयर भण्डारीले आग्रह गरिन् । ‘सबै खाले पूर्वाधार भएको हुनाले प्रादेशिक राजधानी धरान नै हुनुपर्छ’, उनले भनिन्, ‘यसका लागि सबै क्षेत्रको भूमिका मवपूर्ण हुन्छ ।’ विभिन्न आधारमा सबैभन्दा उत्कृष्ट धरान नै हुने जानकारी पुगिसकेको उमनपाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए ।

माओवादी केन्द्रका नगर संयोजक चोत्लुङले सर्वदलीय निर्णयअनुसार केन्द्रीय सरकारसँग पनि लबिङ थालिएको जनाए । ‘आइतबार संयुक्त बैठकद्वारा निर्णय गरेर राजधानी बनाउनका लागि पहल गर्न केन्द्रसम्म कुरा पु¥याइसकेका छौँ ।’ उनले भने । ‘भौतिक पूर्वाधारको अवस्थाबारे अध्ययन भइसकेको छ, हामी तयारी अवस्थामा छौँ ।’ उपप्रमुख भण्डारीले भनिन् । खेलकुदको संरचना, अन्य जिल्लाहरूसँगको धार्मिक र सांस्कृतिक सम्बन्ध, तराई र पहाडको संगमस्थल, ऐतिहासिक आधार, शैक्षिक केन्द्र, स्वास्थ्यको केन्द्र, प्रशासनिक सुगमता, धार्मिक र सांस्कृतिक सहिष्णुताका हिसाबले पनि राजधानी उपयुक्त रहेको उनको भनाइ छ ।

धरानलाई प्रदेशको राजधानी बनाउन ‘धरान प्रदेश नं. १ को राजधानी बनाऊ अभियान स्वतन्त्र समिति’ गठन भएको छ । समितिमा राजनीतिक दलका नेता–कार्यकता, सामाजिक सङ्घ–संस्थाका पदाधिकारी, अधिकारकर्मी र व्यवसायीसमेत छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य अइन्द्रविक्रम बेघाको संयोजकत्वमा गठित समितिमा सहसंयोजक हिमाल राई, सचिव श्याम पोखरेल, सहसचिव ताजुबकुमार लिम्बू र कोषाध्यक्ष विजय डागा छन् । यस्तै सदस्यहरूमा व्यवसायी खजाञ्चिदास अग्रवाल, महिला सञ्जालकी अध्यक्ष शिला बज्राचार्य, अधिकारकर्मी राधिका गजमेर, शिवकुमार राई, युनिस राना मगर, शशी शाह, डम्बर गुरुङ, गिरिधारी सापकोटा र पवन अग्रवाल छन् ।

मागलाई अझ बुलन्द गरी केन्द्रसम्म पुर्याउन समिति गठन भएको पत्रकार सम्मेलनमा संयोजक बेघाले जनाए । ‘धरान सबै हिसाबले उपयुक्त छ, कुनै कुराले पनि कमी छैन, त्यसैले हामीले आन्तरिक रूपमै आ–आप्mना तर्पmबाट माथिसम्म कुरा चलाइरहेका छौँ ।’ उनले भने । धरानलाई विकल्पका रूपमा हेरिए धरानवासी हात बाँधेर बस्ने अवस्था नरहेको उनको भनाइ थियो । विशेष आधारहरूको पहिचान गराई राजधानीका लागि पहल गर्न जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने सहसचिव लिम्बूले बताए ।

यसैबीच, धरानबाट भर्खरै निर्वाचित सांसद् तथा उपमहानगरका प्रमुख र उपप्रमुखले पनि धरानलाई राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाइसकेका छन् । प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गरेअनुसार हुने संवैधानिक व्यवस्था छ । राजधानी बनाउन प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र प्रशस्त सरकारी जमीन हुनुपर्छ । प्रदेश नं. १ को राजधानीका लागि धरान, धनकुटा, इटहरी, गोठगाउँ र विराटनगर चर्चामा छन् । हिमाल, पहाड र तराई क्षेत्र मिलाएर बनाइएको यस प्रदेशमा सबै जातिको बसोबास छ । उच्च हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, पहाडी जिल्ला उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम तथा तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरी मिलेर यो प्रदेश निर्माण गरिएको छ ।