भद्रपुर । मानव वस्तीको विचमा सञ्चालित इटा उद्योगले खेतियोग्य जमिन लगायत स्वास्थ्यमा गम्भिर असर पारेको अवस्थामा उद्योग हटाउन स्थानीयले बारम्बार जानकारी गराएपनि उद्योगीले बेवास्ता गरेको गुनासो गरेका छन् । झापाको दक्षिणी क्षेत्र साविक पृथीवीनगर २ हाल भद्रपुर नगरपालिका १ दियालोवस्तीमा सञ्चालित डिविआई र नायक ब्राण्डका ईटा उद्योगका कारण स्थानीय विस्थापित हुने अवस्था आएपछि हटाउन माग गरेपनि उद्योगीले कुनै चासो नदेखाएको उनिहरुले गुनासो गरेका हुन् । करिब ७ वर्षदेखि घना मानववस्ती रहेको स्थानमा सञ्चालन हुदै आएका दुइ ईटा उद्योगले स्थानीय तथा सधियार देउकुमार लिम्बु, राजन सुवेदी, शम्सेर कार्की, देवेन्द्र लिम्बु, लालबहादुर तामाङ्, भीम गेलाल, शंकर लिम्बु, डम्बर गुरुङ्ग लगायत स्थानीयको खेती योग्य जमिनमा असरमा परेको पाइएको छ । दुई ईटा उद्योगको दुरी तीन सय भित्र पर्छ । उद्योगले आफ्नै जमिनमा माटो कटान गर्दा सधियारको खेती योग्य जमिन पनि कटान हुने खतरा देखिएकोले तत्काल उद्योग हटाउनु पर्ने स्थानीय देवेन्द्र लिम्बुले बताए । उनले उद्योगबाट निस्किएको बायु तथा ताप प्रदुषणले मुटु, मधुमेह, झाडापखला र रुघाखोकी जस्ता रोगबाट स्थानीय ग्रस्ति बनेको बताए । डिवीआई ईटा उद्योगले आफ्नो जमिन छाडेर पैनी तथा बाटो मिचेको उनले आरोप लगाए । उद्योग सञ्चालकले उद्योग भित्रैबाट गएको पैनीको संरक्षण गर्नु पर्नेमा उल्टै माटोले पुरेर बन्द गरिदिएको,कामदारले जताततै दिसा पीसाव गरेको,रक्सीका वोतल खेतमा फालेको जस्ता गतिविधि गरेको उनको भनाइ छ । उद्योगको पूर्वी भागमा कामदार बस्ने घर निर्माण गरेर बाटो बन्द गराएपछि खोला तथा पैनीको पानीले क्षेत्र डुबानमा पर्न थालेको स्थानीय मेदनीप्रसाद शिवाकोटीले बताए । उद्योग र छेऊमा रहेको चिया बगानले बाटो मिचेका कारण झनै समस्या आइरहेको शिवाकोटीको भनाइ छ । खाल खेतलाइ डाडो वनाएर पानी सवै गहिरो तर्फ गएपछि उब्जनी शुन्य भएको स्थानीय देवेन्द्र लिम्बुले बताए । उद्योगवाट निस्किएको धुलोले पोखरीमा जालो लागेपछि सञ्चालित माछा व्यवसाय दुइवर्ष यता देखि घाटामा गएको लिम्बुले बताए । गाउका युवा वैदेशिक रोजगारीमा गएका बखत बुढा पाकालाइ सर्जिवन गराएर उद्योग स्थापना भएकोमा उनिहरुले आपत्ती जनाएका छन् । उद्योग सञ्चालनको मापदण्ड विपरित मानववस्तीको बिचमा सञ्चालित दुई वटा ईटा उद्योग हटाउन माग गर्दै स्थानीयवासी संघर्ष उत्रिएका छन् । उद्योगको प्रदुषणले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको र खेती योग्य जमिन काटन सुरु गरेपछि स्थानीय दुवै उद्योग हटाउने पक्षमा उभिएका हुन् । उद्योग सञ्चालकको लापरवाहीले सो क्षेत्र आसपासका स्थानीय विस्थापित हुने अवस्था आएपछि स्थानीयले उद्योग हटाउनु पर्नेसहित विभिन्न १९ बुदे माग राख्दै डिविआई नायक ईटा भट्टा पीडित संघर्ष समिति गठन गरेका छन् । मावनवस्ती बिचमा उद्योग बन्द गराउनु पर्ने भन्दै विगत दुई बर्षदेखि स्थानीयवासी लागि परेका छन् । तर, उद्योग सञ्चालकले उद्योग हटाउने पक्षमा नदेखिएपछि स्थानीय संघर्षमा उत्रिएका छन् । उद्योग मन्त्रलायको कार्यविधि दिग्दर्शन २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने बुदामा उल्लेख छ । त्यस क्षेत्रमा बर्षौदेखि घनबस्ती रहेको देखिन्छ । तर, वातावरण प्रदुषण परिक्षण गर्दा हचुवाको भरमा रिपोर्ट बनाएर उद्योग सञ्चालनको अनुमति दिएपछि अहिले विवाद चुलिएकोले संघर्ष समितिका संयोजक देउकुमार लिम्बुले बताए । स्थानीयवासीको मागलाई सम्बन्धित सरकारबाला निकायले अहिले सम्म सम्बोधन नगरेकाकारण संघर्ष समिति गठन गरेको संयोजक लिम्बुको भनाइ छ । उद्योगले मानवीय जिवनमा असर पुर्याउन थालेपछि २०७३ माघ १२ गते वडा नागरिक मञ्च वाल कुमार गिरीको संयोजकत्वमा अन्दाजी २ सय बढी स्थानीयको हस्ताक्षर गराएर वडा कार्यालय पृथ्वीनगरमा गएपनि सुनुवाई नभएको स्थानीयले बताए । उद्योगको विवादलाई लिएर ०७४ साउन २६ गते भद्रपुर नगरपालिका, उद्योगी र संर्घष समिति बिच पटक पटक छलफल भएपनि समस्याको समाधान हुन नसकेको उनले बताए । समितिले उद्योगलाई निसर्त यो क्षेत्रजाट हटाइनु पर्ने संघर्ष समितिले अडान लिएको उनले बताए । सञ्चालित उद्योगको वातावरण माण्दण्ड हेरी न्याय दिलाउन पीडित स्थानीयले उद्योग मन्त्रलाय, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरपालिका र प्रशासन कार्यालय झापासमक्ष अपिल गरेका छन् । कानुनी रुपमा स्थापना भएको उद्योगलाइ हटाउन नमिल्ने भद्रपुर नगरपालिका मेयर जीवन कमार श्रेष्ठले बताए । उद्योग सञ्चालनमा सहजताका बारेमा स्थानीयलाइ सेवा सुविधा ,सडक मर्मत लगायतका बुद्धाहरुमा सहमतिय हस्ताक्षर गर्न अनुरोध गरेपनि स्थानीयले उद्योग हटाउनु पर्ने अडान राखेकोले दुवै पक्षलाइ कानुनी प्रक्रियाको बाटो अपनाउन सल्लाह दिएको मेयर श्रेष्ठले बताए ।