धरान/इटहरीका ओमनाथ कोइराला र उनको पत्नी हरिमाया कोइरालाले शरीर दान गरेका छन् । उनीहरुले मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दानको इच्छा पत्रमा हस्ताक्षर गर्दै शरीर दान गरेका हुन् । [caption id="attachment_45423" align="alignnone" width="1109"] शरीर दानको इच्छा पत्रमा हस्ताक्षर पछि बीपी प्रतिष्ठानको सामान्य प्रशासनका कर्मचारीलाई बुझाउँदै । तस्बिरः भाेजराज श्रेष्ठ[/caption] कोइराला दम्पती ६२ वर्षका छन् । इटहरी २ बौकाचापका उनीहरुले ढेडवर्ष अघिदेखि शरीर दान गर्ने बारे सोचिरहेका थिए । ‘बीपीमा आएको बेला किड्नी, मुटु, आँखा आवश्यक पर्छ भनेर चर्चा सुने । मरेर त्यसै जाने चोला दान दिँदा २० जना विद्यार्थीले पढ्न त पाउँछन् भनेर दान गरेको हो ।’ दान गर्ने रहस्य बारे ओमनाथले भने । यस अघि उनले एक प्रोफेसरले शरीर दान बारेमा टेलिभिजनमा भनेको सुनेपछि उनी पनि शरीर दानको लागि उत्सुक भएका थिए । त्यसपछि छोराछोरीहरुलाई सम्झाई बुझाई गरेपछि छोराछोरीहरुले पनि स्वीकृति दिए पछि दान गरेका हुन् । कोइराला परिवारको ४ छोरा र २ छोरी छन् । जसमा दुई छोराहरुले शरीर दानको पत्रमा हस्ताक्षर गर्दै अनुमतिसमेत प्रदान गरेका छन् । खरानी भएर जानु भन्दा दुई जनाको अङ्गले १० जना बाच्छन् भने त्यो हाम्रो लागि गौरवको कुरा रहेकाले पनि दान गरेको बताए । प्रतिष्ठानमा २०५६ सालदेखि दान गर्ने प्रचलन सुरु भएको हो । खासमा प्रतिष्ठान सुरु भएलगत्तै यो कार्यक्रम ल्याएको भए पनि शरीर दान गर्नेहरु खासै नहुने गरेको सामान्य प्रशासनका बरिष्ठ प्रशासनिक सहायक महेश्वर राईले बताए । उनका अनुसार २०५६ सालदेखि हालसम्म १८५ जना शरीर दान गर्ने व्यक्तिहरु भइसकेका छन् । पछिल्लो समय दान गर्ने प्रचलन बढेको छ । खासमा हिन्दु संस्कार अनुसार मानिसको शरीर पञ्चतत्व बनेको हुने र उक्त पञ्चतत्वमै विलिन गराउनको लागि जलाउने प्रचलन छ । मानिस शरीर मरे पनि आत्मा मर्दैन, त्यो भौतिक शरीरलाई जलाएपछि पञ्चतत्वमा विलिन गराउने परम्परा रहेको छ । उक्त कारण पनि शरीर दानको खासै प्रचलन हुने गरेको छैन् । विशेष गरी छोराछोरीहरुले अनुमति नदिँदा पनि दान दिने चलन हुँदैन । ‘१० जना मलामीलाई दुःख दिनु भन्दा आफ्नो शरीरले अन्य काम हुन्छ भने दान गर्नु ठिक सम्झे ।’ कोइराला दम्पती भन्छन् ।