पाँचकन्या/किरात राईहरुको महान चाड साकेला पर्व उभौली यस वर्षपनि धुमधामसाथ मनाइने भएको छ ।किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सुनसरीमा १५ दिनसम्म मनाइने चाडको तिथिमिति साथै प्राकासस्तरीय साकेला शिली प्रदर्शनी कार्यक्रम सार्वजनिक गरिएको छ ।
साकेला उभौली २०७४, प्रचारप्रसार समितिका संयोजक तथा किराया सदस्य उपेन्द्र चाम्लिङका अनुसार १५ दिन सम्म चल्ने यो पर्वको पहिलो दिन बुधबार धरान–१४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको दरबार क्षेत्र विजयपुर गढीमा धरान लगायत सुनसरीका विभिन्न स्थानबाट आएका किरातीहरुले पूजाआजा गरी ढोल झ्याम्टासहित नाचगान गर्नेछन् ।
जेठ ११ गतेसम्म सुनसरीका इटहरी, पकली, विष्णुपादुका, दुहवी, पाँचकन्या, हाँसपोसा, बराहक्षेत्र, शान्तिनगर, बक्लौरी, इनरुवा, प्रकाशपुर आदि ठाउँमा साकेला शिली प्रदर्शनी कार्यक्रम आयोजना गरिने उनले बताए ।
किरात राईहरुको पहिचान र अस्तित्वलाई सदा बचाई राख्न किरात राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको किरायाले अाफ्नाे पहिचान र सांस्कृति अयभानको रुपमा राजनीतिक अभियान पनि थालेको किरात राई यायोक्खा जिल्ला कार्य समिति अध्यक्ष कमला राईले बताइन् ।
‘अाफ्नाे गुमेको राज्य, पहिचान र इतिहासलाई साक्षी राखी अब बन्ने नयाँ सङ्घीय नेपालमा किरात स्वायत्त राज्य जित्ने लडाइमा किरात राई यायोक्खा होमिएको छ ।’ उनले भनिन् । उनले यस वर्षको साकेला उभौलीको अवसरमा सङ्घीय नेपालमा किरातीहरुले किरात राज्य प्राप्तिमा बाजी मार्ने यलम्बरको कसम खाएर साकेलामा ढोल झ्याम्टा बज्ने बताइन् ।
‘साकेला नाच सदियौँदेखि चलिआएको संस्कार हो । अहिले राज्य प्राप्तिको आन्दोलनको एक सहायक गतिविधि वा सङ्केतका रुपमा लिइएको छ ।’ उनले थपिन् । किरात राई यायोक्खाका सचिव हिन्दुहाङ राईले अाफ्नाे पुर्खादेखि चलिआएको सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै भावीपुस्तासम्म यसको जर्गेना गर्नकै लागि यो पर्व सामूहिकरुपमा मनाउन थालिएको बताए । यो चाड नेपालमा किरातीहरुको वाहुल्यता भएको स्थानमा धुमधाम मनाउनुका साथै किराती विदेशमा समेत मनाउने गरिएको छ ।
लगाइएका बाली सप्रिऊन्, वर्षभरि पुग्ने अन्न फलाऊन्, चौपाया, पशुपंक्षी र मानव जीवनको सुस्वास्थ्य र दीर्घजीवन होस्, प्राकृतिक प्रकोप नहोस् लगायत कामनाका लागि किरात राई समुदायले सदियौँदेखि साकेला उभौली मनाउँदै आएका छन् । आदिवासी किरात राईहरुले वर्षमा दुईपल्ट प्रकृतिको पूजा र पितृपुर्खाहरुलाई सम्झने क्रममा तीन चूल्हा पुज्ने संस्कारअन्तर्गत साकेला उभौली मनाउने गर्दछन् । उभौली प्रत्येक वर्ष बैशाख पूर्णिमादेखि सुरु हुन्छ ।
यो किरात राईहरुको जातीय पहिचान, ऐतिहासिकता र मौलिकता झल्काउने चाड हो ।यस चाडको संरक्षण, सम्वद्र्धन, व्यवस्थापन लगायतको सम्पूर्ण कार्य संस्थागत रुपमा किरात राईहरुको साझा सर्वोच्च सामाजिक संस्था किरात राई यायोक्खाले गर्दै आएको छ । मातहतका कार्यसमितिहरुमार्फत यायोक्खाले प्रत्येक उभौली र उधौलीलाई संस्थागत रुपमा मनाउँदै आएको छ । अन्य जिल्लामध्ये राईहरुको बाहुल्यता भएको र यायोक्खाका अन्य शाखाहरुमध्ये सक्रिय शाखा भएकाले प्रत्येक उभौली निकै भव्यतापूर्वक आयोजना हुँदै आएका छन् ।सुनसरी साकेलाको विशेष पक्ष नै साकेला शिली प्रतियोगिता हो ।
प्रत्येक उभौलीको अवसरमा अन्तर प्रारम्भिक कार्यसमिति साकेला सिली प्रतियोगिता आयोजना हुँदै आएको छ । यसअनुसार प्रत्येक माताहत समितिहरुलाई तयारीका लागि सर्कुलर गरिसकिएको सचिव राईले जानकारी दिए । प्रतियोगितामा सामूहिक नृत्यमा एकरुपता, सहभागी संख्या, सिलीको उचित प्रयोग, मौलिक भेषभुषा र सामाग्रीको प्रयोग आदिका आधारमा मूल्याङ्कन हुने गर्छ ।
उनका अनुसार समूहगत सिली प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना घोषित प्रारम्भिक समितिहरुलाई पुरस्कारको व्यवस्था गरिन्छ । साकेला चाडको महत्वपूर्ण पक्षको रुपमा रहेको साकेला नृत्यलाई उचित संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि प्रतियोगिता सुरु भएको सदस्य रमेश राई बताउँछन् ।
अझ साकेला सिलीमा भएका विविधताहरुलाई लोप हुनबाट जोगाउन र स्वस्थ प्रतिस्पर्धामार्फत मौलिक संस्कृतिप्रति किरात राईहरुको थप लगाव स्थापित गर्न प्रतियोगिता आवश्यक रहेको उनको भनाइ छ । पत्रकार सम्मेलनमा किरात राई यायोक्खा उपाध्यक्ष बलराम राई, सहसचिव राजेन्द्र राई, सदस्य नविन राई, कोषाध्यक्ष सुवित्रा राई, सदस्य देविका राई, रेखा राई, झुमा राई, मेनुका राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका धरान–१२ स्थित एम्स एकेडेमीकी प्रमोटर ओमु राईले टिसर्ट हस्तान्तरण गरिन् ।
                    
        
                                        
                                                                                                
        































