भनिन्छ, रङ्गकर्म गर्न समाज बुझेको हुनुपर्छ, समाजको सभ्यता, कला, साहित्य र विभिन्न आयमहरु बुझेको हुनुपर्छ । त्यसैले होला, रङ्गकर्मीहरुले समाजलाई बुझाउन कला, विचार, प्रस्तुतिमार्फत् समाजको ऐना प्रस्तुत गरिरहेका हुन्छन् । नाटक समाजको परिचायक हो । समाज कस्तो छ भनेर हेर्नु प¥यो भने त्यहाँको कला, साहित्यलाई सबैभन्दा पहिलो नम्बरमा राखेर हेरिन्छ । तर, हाम्रो जस्तो मुलुकमा विकासलाई पहिलो प्राथमिकतामा राखिन्छ । नाटकले समाजको कुरीति, विसंगति, विकृति, यथार्थलाई धरातलमा उतारिदिन्छ । त्यसैले त, नाटकमा जीवन्तता भेट्न सकिन्छ । जुन कुरा फिल्ममा भेट्न सकिँदैन, त्यो स्वाद नाटकमा भेट्न सकिन्छ । अर्थात्, रंङ्गकर्मले त्यो कुरालाई चित्रित गरिदिन्छ । जीवन्त प्रस्तुतिले नै नाटक बाँचेको छ । पश्चिमका विलियम सेक्सपियरको संयोगान्त, वियोगान्त नाटक लेखेर नाटकको प्रारम्भ गरे भने पूर्वीय साहित्यमा भरतमुनीका नाटकहरुले देश, काल, परिस्थितिलाई चित्रित गरेकै कारण नाटक जीवित छ । नाटकले मान्छेलाई डो¥याउँछ तान्छ, मोह जगाउँछ र त्यसबाट रंगकर्मीहरु कहिले पनि टाढा भाग्न सक्दैनन् । परिस्थिति जतिसुकै अनुकूल बने पनि नाटककर्मबाट बाहिर भाग्न सक्दैनन् । त्यसैले डेढदशक सुशुप्त अवस्थामा रहेको आरम्भ नाट्य डबली, थिएटर सहारा फेरि उठेको छ, धरानको रङ्गकर्मलाई सिञ्चित गर्न ।  धरानमा नाटकको परम्पराको विकास १९९७ देखि नै भएको हो । विभिन्न कालखण्ड पार गर्दै धरानको नाट्य क्षेत्रले पूर्वको प्रतिनिधित्व गरिरहेको थियो । तर, डेढदशक जतिको सुस्ततामाले गर्दा धरानको नाटक सुशुप्त मोडमा उभिएको थियो ।

कमब्याक आरम्भ

रंगमञ्चको लागि हिजोको विरासतलाई कायम राख्दै फेरि पनि आधार स्तम्भ तयार गर्न आरम्भ जुटेको छ । तर, फेरि कमब्याक भएको छ । यो कमब्याकलाई एउटा मात्रै संस्थाले डो¥याइरहेका छैनन् । धरानमा एकताका दुईदर्जन नाट्य संस्थाहरुले धरानको रंगकर्मलाई डो¥याउँथे । अहिले त्यो मात्रामा छैनन् ।

तर, वैचारिक हिसाबले हेर्ने हो भने धरानको नाटक अब दरिलो र सबल भएर आएको छ । आरम्भले त पूर्वका नाट्यघर नै बनाएर नाटकलाई पुस्ता हस्तान्तरणको मोडमा उभिइरहेको छ । रंगकर्ममा दुईदशक अघिको क्रान्तिलाई यथावत् राख्ने तयारीमा उभिएको आरम्भले पुरानो पुस्तादेखि नयाँ पुस्तामा सार्ने आरम्भका अध्यक्ष गोपाल देवान बताउँछन् । ‘नयाँ पुस्ताको निर्माण गर्ने, तालिम, विचार गोष्ठी गर्नेछौं ।’ उनी भन्छन्, ‘रंगकर्मको पाटो भनेको कृयात्मक पाटो हो ।’

धरानको नाटकको कालखण्ड

धरानको नाटकमा काल विभाजन गर्ने हो भने १९९७ देखि २००७ सम्म एउटा बेला थियो भने २००७ सालदेखि २०१५ सम्म अर्को कालखण्ड हो । २०१५ देखि २०२२ सम्म अर्को कालखण्ड हो । त्यसपछि २०२२ देखि २०३५ सालसम्म धरानको नाटकले एउटा कालखण्ड बोकेको थियो । २०३५ यतादेखि मात्रै धरानको नाटकमा आधुनिक काल भित्रिएको हो ।

२०३६ देखि धरानको नाटकमा २०५४ सम्म एकखालको उभार आयो । जसमा अनाम, आरम्भ, समपर्ण, हाम्रो नाट्य जमात, संकर नाट्य जमात, सहारा नाट्यजमातलगायतले धरानको रंगकर्मलाई ब्यँुझाइरहे । ‘त्यो ज्यादै उर्वर समय हो धरानको नाटकको लागि’ –देवान भन्छन् । धरानको परिचय रंगकर्मले सिञ्चित गरेको थियो । ‘धरानको परिचय नै कला साहित्य, रंगकर्म बनेको थियो’ –देवान थप्छन् । वास्तवमै रङ्गले आम मानिसमा उत्साह, आशाहरुलाई सञ्चार गर्छ । समाज परिवर्तन गर्ने दिशातर्फ उन्मुख हुनु रङ्कर्मको उद्देश्य हो ।