धरान । धरानमा कायस्थ परिवारको नाम शुभ छ । उनीहरू समाज सेवा र राजनीतिमा अब्बल छन् । पछिल्लो पुस्ताकी धरान–२ निवासी यशोदा कायस्थ एक यस्तो नाम हो, जसले नेपाली समाजसेवा र राजनीति दुवै क्षेत्रमा विशिष्ट पहिचान बनाएकी छन् । समाज परिवर्तनको अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आएकी कायस्थको यात्रा धरानको एउटा सामाजिक अभियन्ताबाट सुरु भई प्रदेशसभा सदस्यसम्मको विन्दुमा आइपुगेको छ । यो यात्रा सरल र सजिलो थिएन, तर उनको निष्ठा, लगनशीलता र नेतृत्वदक्षताले यो सम्भव बनाएको छ ।

यशोदा कायस्थको सार्वजनिक जीवनको सुरुवात समाजसेवामार्फत् भएको उनी बताउँछिन् । उनले २०५८ सालदेखि रेयुकाई नेपालबाट समाजसेवाको यात्रा सुरु गरिकी थिइन् । २०६५ सालमा पतञ्जली योग समिति धरान उपमहानगर कमिटीको अध्यक्ष भएर योग ध्यानमार्फत् समाज परिर्वतन गर्ने अभियानमा लागिन् । उनलाई  उनका श्रीमान् मुकुल कायस्थ र सासू सरला कायस्थले समाजसेवा गर्न निकै प्रेरित गरेका थिए । उनी २०६८ सालमा महिला एकता मञ्च नेपालको अध्यक्ष भएर सुनसरीका महिलाहरूको सशक्तीकरणका लागि योगदान दिइन् । उनको अभियान महिलाको सीप विकास र सशक्तीकरणतिर मोडियो । २०७३ सालमा नेपाल उद्यमशील महिला सङ्घ स्थापना गरेर त्यसको नेतृत्व गरिन् ।

समाज सेवा अभियान उनको जारी नै रह्यो । २०७८ सालमा नेपाल रेडक्रस सोसाइटी सुनसरी विजयपुर उपशाखाको सभापति हुने अवसर पाइन् । रक्तदान, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा जस्ता कार्यहरूमा संलग्न भएर जनसेवाको जग बसाइन् । त्यसपछि, उनी विभिन्न सामाजिक संस्थामा सक्रिय भइन् । हाल उनी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको सञ्चालक समिति सदस्य पनि छन् । उनले विशेषगरी महिलाहरूलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सक्षम बनाउने काममा विशेष ध्यान दिइन् । समाज सेवामा गरेको लगानीले उनलाई राजनीतिक क्षेत्रको उचाइमा पुर्यायो ।     

राजनीतिक यात्रा
समाजसेवाको बलियो जग बोकेकी यशोदा कायस्थ २०७९ सालमा नेकपा (एमाले) पार्टीको तर्फबाट समानुपातिकमा प्रदेशसभामा अवसर पाइन् । २०६७ सालमा पार्टीमा सक्रिय भएकी कायस्थले महिला सशक्तीकरण, समाजसेवा र स्थानीय जनतासँग परिचित भएकै कारण पार्टीले उनलाई अवसर दियो । पार्टीले दिएको अवसरलाई उनले यतिबेला सदुपयोग गरिरहेकी छन् । राजनीतिक जीवनमा उनले सधैँ समाजको सीमान्तकृत वर्ग, महिला र गरिब जनताको आवाज बनेर काम गरिरहेकी छन् । पार्टीको सुनसरी जिल्ला सचिवालय सदस्यको रूपमा काम गरिरहेकी छन् ।

प्रदेशसभा सदस्यको यात्रा
समाजसेवा र स्थानीय राजनीतिमा सक्रिय भएर जनताको मन जित्न सफल यशोदा कायस्थ प्रदेशसभा सदस्य भएपछि प्रदेश, केन्द्र र स्थानीय तहसँग समन्वय गरेर जनताको सेवा गरिरहेकी छन् ।

प्रदेशसभामा उनको भूमिकाले महिलाको हकअधिकार, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका सवालमा विशेष प्रभाव छोडेको छ । विशेषगरी उनले प्रदेश तहमा महिला नेतृत्वको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर आवाज उठाइरहेकी छन् । आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश र सङ्घसँग समन्वय गरेर बजेट ल्याउने काममा पनि उनी उत्तिकै सक्रिय छिन् । “धरानमा ५–६ करोड बजेट ल्याउन मैले भूमिका खेलेको छु । धरानमा विकासमा ओझेल परेका वडाहरूको स्वास्थ्य, शिक्षा र सडक निर्माणमा बजेट ल्याउन लविङ गरिरहेको छु”–कायस्थले भनिन् । उनले धरान वडा नं. ५ को खोप केन्द्र बनाउन २५ लाख बजेट, पाँचकन्या स्वास्थ्य चौकीको भवन स्तरोन्नति गर्न १५ लाख बजेट प्रदेशबाट ल्याएर काम सम्पन्न भएको छ ।

उनले धरानमा छुट्टै नगर अस्पताल हुनु पर्छ भन्ने मान्यता राखेर धरान–१ स्थित पुरानो स्वास्थ्य केन्द्रमा नगर अस्पताल निर्माणका लागि प्रस्ताव लिएर उनी प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, अर्थमन्त्री र राजनीतिक दलका प्रमुखसँग भेटेर प्रस्ताव पेस गरेकी थिइन् । स्थानीय तहसँग सहकार्य गरेर नगर अस्पताल बनाउने उनको धोको छ । उनले महिला सञ्जाल धरानको भवन निर्माणका लागि प्रदेशबाट २५ लाख र नेपाल रेडक्रस सोसाइटी सुनसरीको भवन निर्माणका लागि यही आर्थिक वर्षमा २५ लाख बजेट प्रदेशबाट ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।  यशोदा कायस्थको यात्रा एक उदाहरणीय कथा हो, जहाँ समाजसेवाको निःस्वार्थ भावना राजनीतिमा रूपान्तरण भएर जनप्रतिनिधित्वमा परिणत भएको छ ।