विराटनगर । विराटनगर महानगरपालिकाले सूचना आह्वान गरेको ९ महिना बितिसक्दा पनि नगर प्रहरी नियुक्त गर्न ढिलाइ गरेको छ ।
रिक्त रहेको ३५ जना नगर प्रहरी जवान पदको लागि सूचना आह्वान गरेको ९ महिना बितिसक्दा पनि अहिलेसम्म महानगरपालिकाले प्रहरी नियुक्त गर्न सकेको छैन ।
महानगरमा ४८ जना नगर प्रहरी जवानको दरबन्दी रहेको छ । जसमा ३० असोज २०८१ मा ३५ जना नगर प्रहरी माग राखेर १५ दिने सूचना आह्वान गरेको थियो । महानगरले आवेदन आह्वान गरेपछि ४ सय ९८ जनाले आवेदन दिएका छन् । आवेदन दिएको ९ महिना भइसक्दा पनि अहिलेसम्म नगर प्रहरी नियुक्तिको प्रक्रिया महानगरपालिकाले अगाडि बढाएको छैन ।
दरबन्दीअनुसार नगर प्रहरीको जनशक्ति नहुँदा महानगरपालिकाभित्र काम कारबाही गर्न नसकेको गुनासो छ । महानगरपालिकाभित्र रहेको केसलिया र सिङ्घिया खोलामा ठेक्का नलागेको भए पनि त्यहाँ खुल्लमखुल्ला माटो (भरौट) र बालुवा तस्करी हुने गरेको छ । चोरी तस्करी रोकथाम र नियन्त्रणको जिम्मेवारी पाएको नगर प्रहरी पर्याप्त हुन नसक्दा अवैध उत्खनन् रोक्न नसकेको नगर प्रहरी बताउने गर्छन् । महानगरपालिकाले पदपूर्ति गर्ने भनेर सूचना आह्वान गर्ने तर आवेदकको पत्र थन्क्याएर राखेको महिनौं भएको छ ।
“महानगरपालिकाले नगर प्रहरी माग गरेपछि हामीले ५ सय रुपैयाँ बुझाएर आवेदन दियौँ । आवेदन दिएको पनि ९ महिना भयो । अहिलेसम्म महानगरपालिकाले कुनै निर्णय प्रक्रिया अगाडि बढाउन सकेको छैन । महानगरमा गएर बुझ्दा पनि नियुक्ति गर्ने कुनै टुङ्गो लागेको छैन” नगर प्रहरीमा आवेदन दिएका एक जनाले भने, “यसरी ढिलाइ गर्नु भनेको महानगरको अक्षमता हो ।”
महानगरपालिकामा हाल एक जना प्रहरी निरीक्षकसहित १८ जना नगर प्रहरी कार्यरत रहेका छन् । ४८ जनाको दरबन्दी भएकोमा केवल १८ जना मात्र कार्यरत रहेको अवस्थामा सुरक्षा र नियन्त्रणका कामहरू प्रभावित भएका छन् ।
विराटनगर महानगरपालिकाको नगर प्रहरी नियुक्ति प्रक्रियामा आएको ढिलाइले प्रशासनिक असक्षमता देखाएको छ । आर्थिक अवस्थालाई कारण देखाउँदै ९ महिनासम्म नियुक्ति प्रक्रिया अगाडि नबढाउनु गम्भीर चुनौती बनेको छ । यसले केवल आवेदकहरूलाई निराश पारेको छ । महानगरपालिकाले तत्काल यो समस्याको समाधान गर्दै नियुक्ति प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवेदन दिनेहरू बताउँछन् । अन्यथा नगर प्रहरीको अभावमा सार्वजनिक सेवामा थप समस्या आउने उनीहरूको भनाइ छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आन्तरिक स्रोत साधनले नभ्याउने भएको कारणले नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताए ।
“सहज भएपछि नियुक्ति प्रक्रियालाई अगाडि बढाउनेछौँ । गतवर्ष आन्तरिक स्रोत राम्रो थियो र रिक्त रहेको नगर प्रहरी पदपूर्तिको लागि सूचना आह्वान भयो । गत आर्थिक वर्षमा ६७ करोड आम्दानी भएको थियो भने यो चालु आर्थिक वर्षमा साढे ५३ करोड मात्रै आम्दानी छ । १० करोड आम्दानी घटेको देखिन्छ । यसरी आम्दानी घटेका कारणले नगर प्रहरी नियुक्ति प्रक्रियामा ढिलाइ भएको हो” –प्रमुख कोइरालाले भने ।