भद्रपुर । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ खुैरबारीस्थित मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा नाबालकसहित दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालकको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कचनकवल गाउँपालिका वडा नं. ३ का २७ वर्षीया उर्मिला राजवंशी र उनका छोरा ३ वर्षीय आयुष राजवंशी रहेका छन् । उनीहरूको अवस्था गम्भीर रहेकोले उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार अपरान्ह १५ः४० बजेबाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडक–खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए ।
ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा ४ः४० बजे दुवै चालकको मृत्यु भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको डिएसपी खड्काले जनाए ।