विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ को इको पावर सोलुसन उद्योग परिसरमा ट्रक चालक गोर्खाबहादुर दोङको हत्या भएको पाइएको छ । 

हत्या आरोपमा प्रहरीले २५ वर्षीय ट्याक्टर चालक दिपेशकुमार कामतलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा कामतले लाठी प्रहार गरी सर्लाही हरीवन नगरपालिका–१० ताइवन निवासी ५४ वर्षीय ट्रक चालक दोङको हत्या गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । चालक दोङ पुरानो टायर बोकेर सर्लाहीबाट कटहरीस्थित नवनित अग्रवालद्वारा सञ्चालित इको पावर सोलुसन प्रा.लि.मा कच्चा पदार्थ पुर्याउन असार १८ गते आएका थिए ।

ना.५ ख ९६१६ नम्बरको ट्रक उद्योगको परिसरभित्र प्रवेश गरेलगत्तै ट्याक्टर चालक कामतसँग विवाद भएको प्रहरीले जनाएको छ । सोही झगडाका क्रममा कामतले लाठी प्रहार गर्दा दोङको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते अवस्थामा रहेका दोङलाई सुरुमा कटहरीस्थित जीवन विकास अस्पताल र त्यसपछि कोशी अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगर लगिएको थियो । तर असार १९ गते चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मृतककी बहिनी मधुमाया दोङका अनुसार उपचारमा ढिलाइ र सुरक्षामा खटिएका कर्मचारीको लापरबाहीका कारण दोङको ज्यान गएको हो ।

“उद्योग परिसरमै झगडा हुँदा पनि सुरक्षा गार्ड र उद्योग सञ्चालक नवनित अग्रवालले कुनै हस्तक्षेप गरेनन् । दाजु घाइते भएपछि तुरुन्त ठूला अस्पताल लैजानुपर्नेमा घुमाउँदै ढिलो पु¥याइयो” मधुमायाले भनिन्, “यसमा उद्योगको चरम् लापरबाही देखिन्छ ।” उनका अनुसार गोर्खाको टाउकोमा गम्भीर चोट लागेको थियो र यथोचित उपचारमा ढिलाइ हुँदा उनको मृत्यु भएको हो । मृतक परिवारले घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने आशङ्का गर्दै गहन अनुसन्धानको माग गरेका छन् । साथै पीडित परिवारलाई न्याय दिलाउन दोषीलाई कडा कारबाही र उद्योगबाट उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन् ।

गोर्खाबहादुरका दुई छोरा छन् । उनीहरूको उमेर क्रमशः १३ र ९ वर्ष छ । श्रीमतीसहित परिवारको जीविकोपार्जन उनी ट्रक चलाएर गरिरहेका थिए । “अब उनीहरूलाई शिक्षा र पालन–पोषणमा समस्या पर्न जान्छ” मधुमायाले भनिन्, “त्यसैले उद्योगले क्षतिपूर्तिको जिम्मा लिनैपर्छ ।” मोरङ प्रहरीले हत्या आरोपमा पक्राउ परेका ट्याक्टर चालक दिपेश कामतविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनाको प्रकृति र उद्योगभित्रै भएको झगडालाई ध्यानमा राख्दै थप संलग्नता र लापरबाहीको पाटोमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।