भद्रपुर । हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी बस्ने २५ वर्षीय प्रतिक अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीले दिएको विवरण अनुसार मङ्गलबार  बिहान ८ः५० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रु चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्लुबी७४एजे०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

त्योसंगै उनले बोकेको सानो छालाको साईड ब्यागभित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट, मोबाईल थान ४ फेला परेको उनले जनाए । हतियार,मोबाईल र सवारी साधनसहित उनलाई नियन्त्रणमा लिई इप्रका काँकडभिट्टामा राखिएको खड्काले बताए ।

गोली प्रहार गरी ब्राउनसुगर कारोबारीलाई पक्राउ 

भद्रपुरमा प्रहरीले गोली प्रहार गरी लागूऔषध ब्राउनसुगर कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मङ्गलबार दिउँसो भद्रपुर–८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली प्रहार गर्दै दुई जना कारोबारीलाई पक्राउ गरेको हो । 

प्रहरीको गोली प्रहारबाट एक कारोबारी घाइते भएका छन् । उनको ओमसाई पाथीभरा हस्पिटलमा उपचारपछि डिस्चार्ज भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । परिमाण धेरै भएकोले अनुन्धान भइरहेको हुँदा पूरा विवरण दिन अहिले नमिल्ने उनले जनाए ।