धरान । धरान उपमहानगरपालिका–५ को बस्ती जोगाउन ‘च्यानलिङ गर्ने नाउँ’ मा सेउती खोलामा दुईवटा जेसिबी प्रयोग गरिएको पाइएको छ । असारदेखि भदौको मसान्तसम्म तीन महिना खोला क्षेत्रमा कुनै पनि किसिमको मेसिनलगायत प्रयोग गर्न वन ऐनले रोकेको छ ।
“तीन महिना चाहिँ खोला नखन्नू भन्ने ऐन मै उल्लेख छ; खोला खन्न मिल्दैन” सव–डिभिजन वन कार्यालय पाँचकन्याका वन सहायक श्यामकुमार सापकोटाले भने, “ऐनमा स्पष्ट भनेको छ । अहिले खन्ने समय होइन । नखन्नू ।” नगरको योजना भन्दै धरान उपमहानगरपालिकाको दुईवटा जेसिबी र दुईवटा टिपर प्रयोग गरी सेउती खोलामा च्यानल बनाइरहेको पाइएको हो । च्यानल बनाउँदा धरान–५ तिर माटो थुपारी धरान–१५ को वनक्षेत्रलाई क्षति हुने गरी काम गरेको पाइएपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीयले बिहीबार दिउँसोतिर प्रतिवाद गरेका थिए । उक्त प्रतिवादको क्रममा धरान–५ का स्थानीय र धरान–१५ का स्थानीय र समूहका पदाधिकारीबीच तनावको स्थिति सिर्जना भएको थियो ।
“पल्लो बस्ती संरक्षण गर्ने नाममा सिधै वन क्षेत्रलाई क्षति पुग्ने गरी च्यानलिङ गरिएको पाइयो” बाँझगरा सामुदायिक वन समूहका कार्यवाहक अध्यक्ष कुमार भारतीले फोनसम्पर्कमा भने, “खोलाको बीच भागबाट लानुप¥यो । नगरको योजना हो भने नगरको प्राविधिक बोलाएर काम गर्नुस् भनेर भन्यौँ ।” उनका अनुसार ‘नगरको योजना हो, कसले रोक्न सक्छ ?’ भन्दै उनीहरू प्रस्तुत भएका थिए । “हाम्रो कुरा केही छैन मापदण्डअनुसार बीच भागबाट च्यानलिङ गर्नुपर्छ । मनोमानी तरिकाले खन्न पाइँदैन”–उनले भने ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बुधबारका दिन उक्त क्षेत्रमा पुगेका थिए । बस्ती बचाउनका लागि बीचमा च्यानलिङ गर्ने भनी छलफलसम्म भएको थियो । तर जिल्ला वन डिभिजन कार्यालय सुनसरीसँग च्यानलिङ गर्ने विषयमा अनुमति लिइएको छैन । “च्यानलिङ गर्ने विषयमा अनुमति लिएको छैन” धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले फोनसम्पर्कमा भने, “हिजो बिहानै मेयर सा’पले फोन गर्नुभयो र तल्लो देउराली झर्नू भन्नुभयो । झर्दाखेरि दुइटा जेसिबी र टिपर बसेको रै’छ । बहुसांस्कृतिक पार्क जोगाउनु पर्छ । बीच भागबाट पानी बगाउने गरी माटो दुईतिर फाल्नू भन्नुभएको थियो ।”
उनका अनुसार खोला र बस्तीको सतह उस्तै रहेकाले बस्तीमा पस्ने जोखिमलाई मध्यनजर गर्दै च्यानलिङ गर्ने भनिएको थियो । “तर काम गर्दै जाँदा धरान–५ तिर मात्रै माटो थुपारिदिनुभएछ, १५ तिर माटो थुपारेनछ त्यो गल्ती गर्नुभयो” उनले भने, “१५ का साथीहरू रिसाउनुभयो । त्यसपछि विवाद उठेछ ।” उनले आफूले धरान–१५ का वडाध्यक्ष नरेश इवारमलाई फोन सम्पर्क गरी सहमतिमा काम गर्नेगरी काम रोकिएको बताए । “भोलि ७ बजे धरान–५ र १५ का वडाध्यक्ष, स्थानीय र वन अफिसका कर्मचारी बसेर समाधान गर्ने भनेर काम रोकिएको छ”–उनले भने ।