बिर्तामोड । आफ्नो श्रीमान्सँग सम्बन्ध राखेको आशङ्का गर्दै झापाको अर्जुनधारामा एक महिलाको कुटपिटबाट ज्यान गएको छ । अर्जुनधारा–८ शनिश्चरे क्याम्पसनजिक ५ जना महिलाको कुटपिटबाट एक महिलाको ज्यान गएको हो ।
महिलाहरूको एक समूहले कुटपिट गरेपछि अर्जुनधारा नगरपालिका वडा नं.४ भाङबारी घर भै हाल सोही नगरको वडा नं. ८ शनिश्चरे क्याम्पसनजिक डेरा गरेर बस्दै आएकी २२ वर्षीया गङ्गा रार्ईको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनलाई मङ्गलबार राति ११ बजेतिर भोजपुरको रामप्रसादराई गाउँपालिका वडानम्बर ६ वैकुण्ठे घर भई अर्जुनधारा–८ मा डेरा गरेर बस्ने सुस्मिता भुसालको समूहले कुटपिट गरेको थियो । भुसाललाई सोही स्थानका मैया श्रेष्ठ, बबिता विक, मेनुका पाँचकोटी र नर्वदा सुन्दासले कुटपिटमा सहयोग गरेको जनाइएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी राईलाई शङ्कर अस्पताल शनिश्चरे लगेर सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा बुधबार बिहानको राति १ः२० बजे राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्न ५ जना महिला र सुस्मिता भुसालका श्रीमान् रमेश भुसालसमेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएको छ ।
आफ्ना श्रीमान् रमेश भुसाल गङ्गा रार्ईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर राईलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।