विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा दाजु–भाइबीचको अंश विवादका कारण भाउजूको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अंश विवादको कारण ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो । रतुवामाई नगरपालिका–६ की टीकामाया आफ्नै देवर ६९ वर्षीय टङ्कबहादुर बस्नेतको हातबाट मारिएको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले आरोपित टङ्कलाई सोमबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो । हत्या गर्न प्रयोग गरिएको हँसिया पनि उनको घरमै लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
टीकामायाको शव असार २१ गते दिउँसो आफ्नै बारीमा फालिएको अवस्थामा भेटिएको थियो । बोली नआउने र इसाराले मात्र संवाद गर्ने शारीरिक अवस्था उनलाई भेटिएको प्रहरीले जनाएको छ । विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टअनुसार उनको टाउकोको पछाडि दायाँ भागमा गम्भीर चोट देखिएको थियो; जुन हँसियाको बिँडले प्रहार गरिएको पुष्टि भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।
इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा थाहा भएअनुसार मृतक टीकामायाका श्रीमान् गणेशबहादुर बस्नेत र टङ्कबहादुरबीच वर्षौंदेखि अंशसम्बन्धी विवाद रहँदै आएको थियो । टङ्कले पुख्र्यौली सम्पत्ति एकलौटी गर्न खोजेपछि गणेश अदालत पुगेका थिए । अदालतले गणेशलाई पनि अंश पाउने फैसला गरेको थियो; जसले विवाद झनै चर्किएको थियो ।
प्रहरीका अनुसार गणेश र टङ्क फरक आमाका छोराहरू हुन । गणेश जेठी आमाका र टङ्क कान्छी आमाका छोरा हुन् । अंशमा भाग बाँडफाँट गर्नुपर्ने अवस्था आउँदा टङ्क असन्तुष्ट बनेका थिए । टङ्कले टीकामायालाई बारम्बार गालीगलौज र दुव्र्यवहार गर्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । असार २१ गते घाँस काट्न गएकी टीकामायामाथि हँसियाको बिँडले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । डीएसपी चुडालका अनुसार टङ्कविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरिएको छ । थप अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।