Merry-Christmas-Images-2014-wallpapersअविवाहित मेरीले जेसस क्राइस्टलाई विना कुनै पुरूषसँगको सम्बन्धबाट जन्म दिएको इसाईं धर्मको पवित्र ग्रन्थ बाइबलले उल्लेख गरेको छ। जस अनुसार मेरीको कुनैपनि पुरूषसँग यौन सम्बन्ध भएन। इसाई धर्मग्रन्थलाई चूनौति दिँदै मेरीमाथिको बलात्कारपछि गर्भधारण भई जेससको जन्म भएको तथ्यहरू सार्वजनिक भए। जस अनुसार बीबीसीले वृत्तचित्र तयार गरी रोमन सैनिकको बलात्कारपछिको गर्भधारणबाट जेससको जन्म भएको उल्लेख गर्‍यो। विवादमा परेको उक्त वृत्तचित्रलगायत मेरीको विवाह अगाडिको सम्बन्धबाट गर्भधारणबारे विभिन्न अध्ययन अनुसन्धानले निष्कर्ष निकाल्यो। जसलाई चर्च, इसाईं धार्मिक गुरूलगायतले अस्वीकार मात्र गरेनन् चर्को विरोध गरे। इशाईहरूको पवित्र देश भ्याटिकनले उक्त वृत्तचित्रप्रति आपत्ती जनायो। प्रभु इशुकी माताप्रतिको नकारात्मक धारणा माने। धर्मले एकातर्फ सत्यलाई आत्मा मान्दछ अर्कोतर्फ धर्मका रक्षक दाबी गर्नेहरू सत्यलाई सहज मान्दैनन्। धर्ममाथिको प्रहार ठान्छन् उनीहरू। बलात्कृत मेरीलाई भर्जिन मेरी उपमा दिएर इशाई पादरीहरूले सत्यलाई झूटको कबचले छोपेनन् मात्र नारीको कुमारीत्वलाई पवित्र अपवित्र छुट्याउने विषय बनाए। यसबाट धर्मले नारीलाई हेर्ने दृष्टिकोण र अन्यायमा परेकी नारीप्रतिको भावना कत्तिपनि सकारात्मक छैन भन्ने बुझ्न सकिन्छ। आफूलाई सभ्य र धर्महरूमध्ये उदार र उत्कृष्ट दाबी गर्ने पादरीहरूले समेत नारीप्रतिको भावनामा खासै बदलाब ल्याउन सकेका रहेनछन्। पवित्रताको मापन ‘यौन जीवन’ इसाईहरू उदार भनिएपनि नारीको विषयमा चर्च र पादरीहरू रुढीवादी नै छन्। दुई हजार वर्ष अगाडि जन्मिएका र ‘अवैध’ भनिएका जेससले समाज परिवर्तनका लागि जे जस्ता संघर्ष गरेपनि उनलाई परमेश्वर बनाउन वास्तविक इतिहास लुकाउन खोजियो। मेरीमाथिको अन्यायको घटना लुकाएर भर्जिन मेरी अर्थात् कुमारी मेरी उपमा दिएर नारीप्रतिको सम्मान देखाउन खोजियो। यसबाट बुझ्न सकिन्छ कि जतिसुकै सभ्य दाबा गर्ने समाज या उदार दाबा गर्ने धर्म अझै बलात्कृत या यौनजन्य हिंसाको शिकार बनेकी नारीलाई सहज रूपमा लिन चाहँदैन। कुमारी सम्मानित हुन्छे, पूजिन्छे तर बलात्कृत नारी नपिएको विषको शिकार बन्छे, कलंकको धब्बा लगाइन्छे। भ्याटिकन सिटीमा बस्ने पोप देखि लोकतन्त्रको जननी भनिने बेलायतको राजसंस्थाले नारीको पवित्रता र अपवित्रतालाई उनको यौन जीवनलाई मुख्य आधार मान्ने गरेको छ। त्यसैले होला राजा एडवार्ड आठौंले दुईवटा पुरूषसँग विवाह गरी पारपाचुके गरिसकेकी वालिस सिम्प्सनलाई विवाह गर्न खोज्दा महिला र गद्दीमध्ये एक रोज्नुपर्‍यो। सच्चा प्रेम गरेका एडवार्डले गद्दी त्यागे, तर प्रेमिका त्यागेनन्। डायनाको मुसलमान प्रेमी डोडी अल फाइदसँगको सम्बन्धप्रति बेलायती दरबार मात्र नभई पादरीहरूसम्मले गम्भीरता देखाएका थिए। कुनैबेला एडवार्डलाई विधवा विवाह गर्दा गद्दी त्याग्न लगाएका बेलायती शासकहरूले राजकुमार चार्ल्सको पारपाचुके गरेकी महिला क्यामिलासँगको सम्बन्धलाई स्विकार्यो। त्यो पनि रानी बन्न नपाउने शर्तसहित। नारीको प्रेम र यौन सम्बन्धहरूलाई धर्म र समाजले प्रतिष्ठाको विषय बनाएको कथाहरू इशाई बाहुल्य समाजमा उत्तिकै छन् जति अन्य धर्मालम्बी बाहुल्य समाजमा छन्। म्याडम क्युरीको प्रेमसम्बन्धका कारण दोस्रोपटक नोबेल पुरस्कार विजेता बन्दा उनको चर्को आलोचना भयो। यतिसम्मकी स्वीडेनका राजाको हातबाट पुरस्कार थाप्न विधवा म्याडम क्युरी कुनै विवाहित पुरूषसँगको सम्बन्धमा रहनुले योग्य नभएको सम्म भनियो। क्युरीले आफ्नो वैज्ञानिक क्षेत्रमा पुर्‍याएको योगदान र व्यक्तिगत जीवनबीच के सम्बन्ध? भनी प्रश्न तेर्साइन्। त्यसपछि विरोधीहरूको आवाज सुस्तायो। सीता र सतीहरू हिन्दु पुराणहरूमा रोचक तरिकाले नारीलाई ‘यौन शिकार’ बनाइएका कथाहरू बुनिएका छन्। महाभारतमा कुन्तिमाथि विवाहपूर्व सूर्यले सम्बन्ध राख्दा कर्णको जन्म भयो। विवाहपूर्व बच्चा जन्मिँदा समाजको संस्कारविरुद्ध हुने रीतिका कारण आफ्नो इज्जत जाने भयले कुन्तीले कर्णलाई गँगामा बगाइदिइन्। माझीले फेला पारेपछि कुन्तिपुत्र कर्ण राधा पुत्र बने। देवताहरूले यौन सम्बन्ध राखेर उनै कुन्तिबाट पाँच पाण्डवको जन्म भयो। परासर ऋषिले नदीको बीचमा डुङ्गा चलाइरहेकी सत्यवतीको सतित्व लुटे। पुराणमा व्याख्या भए अनुसार यौन सम्बन्ध राख्न परासरले समयको आवश्यकता भन्दै फकाएको बुझ्न सकिन्छ। तर, कुमारी सत्यवतीसँगको सम्बन्धबाट वेद व्यासको जन्म भयो। तिनै ब्यास ऋषीलाई सत्यवतीले बोलाएर आफ्नी बुहारी र दासीसँग सम्बन्ध राख्न लगाएर पूर्णविराम लागिसकेको वंश जोगाइन्। विष्णुले जालन्धर पत्नी वृन्दालाई छलपूर्वक यौन सम्बन्ध राखे। सतित्वको हिन्दु पुराणको व्याख्या र सतित्व डगमगाउँदाको शक्तिक्षयको तर्क पनि छ। जालन्धर तब मारिए जब विष्णुले सम्बन्ध राखेपछि वृन्दाको सतित्व डगमगायो। रावणले छलपूर्वक सीताको हरण गरे। सीतालाई नछोएपनि भगवान भनिएका रामले बनवास पठाए। धर्मले नारीको सतित्वलाई यौनमा सिमित राखेर बढी व्याख्या गरेको छ। यसबाट विश्वका अधिकांश जनसंख्याले मान्ने गरेको मुख्य धर्महरूको प्रभाव जति छ उतिकै रुढीवादी छन्। धर्मगुरूहरू परिवर्तनको …प’ समेत सुन्न चाहँदैनन्। बुर्काभित्रको सम्मान नारीप्रति अति सम्मान गर्ने दाबा गर्ने मुसलमान समाजको आफ्नै तर्क छ। कुनैबेला यस्तो थियो की छोरी जन्मिदा जिउँदै गाडिदिन्थे। पैगम्बर मोहम्मदले यो प्रथा हटाउन भूमिका खेले। छोरीको हत्या हुन त छाड्यो उनले बुर्काभित्र कैद हुनपर्‍यो। यसलाई इस्लाम गुरू मौलानाहरूले नारीप्रतिको सम्मानको तरिका भन्ने गर्छन्। परिवर्तनका लहरहरू मुसलमान समाजमा आइरहेछ। मुसलमानहरूको पवित्र धार्मिकस्थल मक्का मदिनाको देश साउदी अरबका महिलाहरू निर्धक्क सवारी चलाउने अधिकारका लागि अझै संघर्षरत छन्। मतदानको अधिकार सन् २०१० देखि पाए। मुसलमानहरू जति आफ्नो धर्मका स्त्रीको सम्मान गरेको ठान्छन् त्यही सम्मान अन्य धर्मका स्त्रीप्रति गर्दैनन्। आखिर नारी त सबै नारी नै हुन्। चाहे ती जुनसुकै धर्म, जाति वा समुदायका नै किन नहुन्। नारीप्रति वर्तमान समाजको सोच विवाह र यौन सम्बन्धका लागि भर्जिन युवती खोज्ने प्रवृत्ति समाजमा अझै व्याप्त छ। कुनैपनि नारीको पवित्रता र अपवित्रता उनको कुमारी हुनु र नहुनुलाई मुख्य आधार मान्ने समाज थुप्रै छन्। विवाहपूर्व सम्बन्धको आशंकामा घरबाट लखेटिने र श्रीमान्बाट हेलित हुने नारीहरूको संख्या उत्तिकै छ। यस मामलामा पश्चिमा समाज केही उदार देखिएपनि उनीहरू कुमारी नारीको चाह राख्दैनन् भन्ने होइन। कतिपय पश्चिमा नागरिकहरू एशियादेखि अफ्रिकासम्मको यौन बजारमा भर्जिन युवतीसँगको सम्बन्धका लागि यौन पर्यटक बनेर पुग्छन्। इशाई पादरीहरूबाट भएका यौन दुराचारका धेरै घटना सार्वजनिक भएका छन्। नेपालमै एक दशक अगाडि इशाई पादरीको यौन दुराचारले हत्यासम्मको अवस्था आएको तथ्य खुलिसक्यो। यौन दुराचारका घटनामा हिन्दु धर्मगुरूदेखि इस्लाम गुरूहरू समेत अछुतो छैनन्। भारतमा हिन्दु धर्मगुरू आशाराम बापु कम उमेरकी युवतीमाथिको यौन दुराचारको अभियोगमा पक्राऊ परे। धर्मगुरूहरूको ढोंग र सत्यलाई छोपेर झुटको बजार निर्माण गर्ने प्रवृत्ति व्याप्त छ। नारीप्रति धर्मगुरूहरू अझै उदार बन्न सकेका छैनन्। कुनै नारीको सामाजिक बेइज्जती र असफल बनाउन यौन र प्रेमलाई मुख्य हतियार बनाउनेहरूको कमी छैन। समाज यही हो जुन धर्मको आधारमा खडा भएको छ। समाजशास्त्री इमाइल दुर्खिमले धर्म र समाज एउटै हो भनेका छन्। कार्ल मार्क्सले धर्मलाई अफिम भनेपनि धर्मले समाजलाई निर्देशित गरिरहेको तथ्यलाई भुल्न सकिँदैन। तर, धर्मले नारी र पुरूषलाई दिएको स्थान र यौन र प्रेमका मामलामा दुवैप्रतिको विभेदकारी दृष्टिकोण केलाउनु जरूरी छ। हिन्दु, इशाई र इस्लाम जुनसुकै धर्मले पनि नारीको पवित्रता र सतित्व व्यक्तिगत सम्बन्ध अर्थात् यौनसँग जोडेर हेरेको छ। भर्जिन मेरीको प्रसंग होस् या सीता देखि सत्यवतीको व्यक्तिगत जीवन नै किन नहोस् धर्मले नारीलाई उच्च सम्मान दिने गरी विषयहरू उठाएको त छ, तर उनको व्यक्तिगत स्वतन्त्रता कुल्चने अभिप्राय लुकेको छ। यस मामलामा संसारभर मानिने गरिएका मुख्य धर्म कोही भन्दा कोही कम छैनन्। तसलिमा नसरिनलाई अराजक भनेपनि उनले मुसलमान समाजले महिलाप्रति गरेको अति विभेदकारी व्यवहार र अन्य धर्म मान्ने समाजका नारीप्रति मुसलमानहरूको अत्याचारबारे तर्कसंगत विषय उठाएकी छिन्। परिणामस्वरुप धर्मभिरूहरूले उनको टाउकाको मूल्य तोकेपछि निर्वासित हुनुपर्‍यो। एकातर्फ, विभिन्न धर्महरूले नारीको सबैभन्दा बढी सम्मान आफ्नो धर्मले गर्ने दाबी गरेका छन्। अर्कोतर्फ, तिनै धर्मले नारीको आत्मनिर्णयको अधिकारलाई कुण्ठित बनाउन महिलामाथि कडाई हुने गरी रीति र रिवाज निर्माण गरेको छ। भर्जिन र बलात्कृत मेरीहरू देखि सीता र सतिहरूका कथा पर्दाभित्र र बाहिर फरक फरक छन्।( महिलाखवरबाट)