हुन त हिउँद भनेकै जाडोको पर्यायवाची शब्द हो । जब हिउँद, तब जाडो । बरु नेपालमा त हिउँदमा जाडो मात्र हुन्छ । पृथ्वीका कतिपय ठाउँहरुमा हिउँदमा पानी परेर झन् खपिनसक्नुको जाडो हुने गर्छ । नेपालमा कात्तिक महिनादेखि हिउँदे जाडो शुरु हुन्छ र यो फागुनसम्म रहन्छ । यसको मध्यमास करीब पुस अन्त्यतिर पर्छ । त्यसैले यो समयमा बढ्तै जाडो हुन्छ । अचेल मूलतः तराईमा शीतलहर चलेको छ । तापक्रम १५ डिग्री सेन्टिग्रेडतिर झर्छ अनि मानिस र घरपालुवा जनावरलाई आच्छुआच्छु पार्छ । हरेक साल जाडोको कारण कति घरेलु चौपाया मर्छन्, विवरण पञ्जीकरण कुनै निकायले गरेको छैन ।
जाडो सहन नसकेर कति जङ्गली जनावरको मृत्यु हुन्छ । त्यसको पनि तथ्याङ्क छैन तर जाडोको कारण मृत्यु हुने मानिसको सङ्ख्या भने अभिलेखीकृत छ । हरेक वर्ष करीब एक दर्जन मानिसको मृत्यु नेपालमा जाडोमा कठ्याङ्ग्रिएर हुने गरेको छ । भारत, इथियोपिया, सुडानलगायतका देशमा योभन्दा धेरै मानिस मर्ने गर्छन् । जाडोले जन्तु जगत्मा ठूलो प्रभाव जमाएको छ । चिसोकै कारण धेरै जनावरहरू भूमिगत बन्न पुग्छन् । जस्तैः भ्यागुताजस्ता उभयचर हिउँदमा हराउँछन् । सर्पजस्ता सरिसृप पनि जाडोले गर्दा जमीनमाथि बाँच्न नसकिने स्थितिको ठहर गरी जमीनमुनि न्यानो खोज्दै शीतनिद्रामा छन् । हिउँदको चिसोसँग लड्न सक्ने क्षमता भएको भनिएका स्तनधारी र चरावर्गका जनावरसमेत जाडोपीडित हुने गरेका छन् । त्यसैले मुसाजस्ता स्तनधारी र साना बगैँचे चराहरू जाडो छल्न न्यानो र सुरक्षित ठाउँको पहिचान गरी लुकी बस्छन् । यति मात्र नभई हिमाली भेगका जनावर बेँसीतिर झर्छन् अनि धु्रवीय भेगका पनि भूमध्यरेखातिर हिउँदे बसाइँ सर्छन् ।
नेपालका सिमसारमा साइबेरिया र उत्तरी चिसो घाँसेमैदानी भागका चराहरू हिउँदमा जाडो छल्न आउने गरेका छन् । अरुलाई त चिसोले चिस्याउने नै भयो । विकसित कृत्रिमतामा रमाएको, प्रकृतिलाई नै चुनौती दिन सक्ने मानिसलाई समेत जाडोले कत्र्mयाउँछ । मानिसको शारीरिक तापक्रम ३७ डिग्री सेन्टिग्रेड हो । ३५ डिग्रीसम्म झर्नुले खास असर पार्दैन तर ३२ मा आयो भने हाइपोथर्मिया भएको भनिन्छ । यसको उपचारमा लाग्नुपर्छ, निकै सचेत भएर । अभैm शरीरको तापक्रम ३० डिग्री सेन्टिग्रेड भयो भने आत्तिने स्थिति आउँछ । यस्तो बेला इमर्जेन्सी उपचारमा लाग्नुपर्ने हुन्छ भनेर स्वास्थ्य क्षेत्रका विज्ञहरुले भन्ने गरेका छन् । घरभित्र बस्दा समस्या नहोला, शरीर तताउने प्रविधि जडान गरिएको होला तर बाहिर काममा निस्कँदा भने समस्यामा परिन्छ । जाडोबाट कसै गरी पूर्णतया सुरक्षित रहन सकिन्न अनि विभिन्न रोगले आक्रमण गर्छ । खास त रुघाखोकी जाडोका साह्रै साथी हुन् र दुवै सँगै आउने चिज हुन् अनि ब्रोन्काइटिस, निमोनिया, दम र अक्सिजनको कमी हुने हाइपोअक्सिया आदि प्रचारित र प्रशस्तै मानिसमा चिसो मौसममा हुने रोगहरु हुन् । अबको प्रसङ्ग छ– हिउँदकै सन्दर्भमा किन हिउँद र सँगै जाडो पनि आउँछ भन्नेबारेमा वैज्ञानिकहरुले खोजी गरे । समयसमयका वैज्ञानिकहरुको राय फरक पाइयो । केही पहिलासम्म के विश्वास थियो भने पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने बाटो (कक्ष) अण्डाकार छ ।
बीचमा सूर्य छ । पृथ्वी घुम्ने क्रममा जब सूर्यबाट टाढा पुग्छ, तब हिउँद हुन्छ अर्थात् जाडो हुन्छ तर यसमा आजका वैज्ञानिकहरुले विश्वास गर्न छाडे । अमेरिकी वैज्ञानिक संस्था नासाले भनेको छ, ‘पृथ्वीको कक्ष लाम्चिलो किसिमको वा अण्डाकार भएको कुरा गलत छैन । यसले ऋतु परिवर्तनमा केही भूमिका खेल्छ तर हावापानीमा खास ठूलो प्रभावमा पार्दैन । जाडो–गर्मी हुने विषयमा यो कक्षले खास असर पारेन ।’ अर्को अन्तर्राष्ट्रिय संस्था माउन्टेन नेचरले भन्छ, ‘हिउँदमा पृथ्वी सूर्यबाट टाढा होइन, झन् सबैभन्दा नजिक पुगेको हुन्छ ।’ त्यसो भए फेरि प्रश्न उठ्यो, ‘सूर्यबाट सबैभन्दा नजिक परेको बेला नै जाडो हुने के त्यस्तो कारण होला ?’ कारण यस्तो छ– पृथ्वीको अवस्थिति २३ डिग्री २७ मिनेट पूर्वतर्पm ढल्किएको छ । यसले गर्दा पृथ्वीको सतहका फरकफरक भागहरु सूर्यको नजिक पर्दछन् विभिन्न समयमा । तर पृथ्वीको यही ढल्काइले गर्दा हिउँदमा सूर्यका किरणहरु सानो कोण परेर आउँछन् । त्यसैले थोरै मात्र शक्ति पृथ्वीमा आइपुग्ने भयो । फेरि दिन छोटा भएका हुनाले धेरै बेरसम्म सूर्यको किरण आउन पनि पाउँदैन । ठीक उल्टो गर्मी ऋतुमा लम्बात्मक रुपमा आउँछन्, दिन लामो भएकाले धेरै बेरसम्म आउन पनि पायो र धेरै गर्मी भएको हो ।
पृथ्वीको गोलाकार आकार, सूर्यलाई परिक्रमा गर्ने अण्डाकार बाटो अनि पृथ्वीको असमतल सतह आदिका कारण सबैतिर एकै दरको जाडो र गर्मी हुँदैन । हिउँदमा जाडो हुने दर, जाडोको शक्ति ठाउँअनुसार फरक पर्दछ । त्यति मात्र कहाँ हो र ? कतिपय स्थानमा जाडोको समयमै पानी परिदिन्छ । यूरोप र अमेरिकातिर विशाल हिमपात हुन्छ । नेपालमा भने उच्च पहाडी भेगमा हिउँ पर्ने गर्छ । भइहाल्यो भने हल्का वर्षा हुने हो । यसपटक पनि काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम २० र न्यूनतम ७ डिग्री सेन्टिग्रेड पुगेको बेला यो पुसको मध्यतिर वर्षात् हुने सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले थप चिसो ल्याउने सम्भावना बढाएको छ । प्रदूषण बढ्दै आउँदा मूलतः नेपालमा हुस्सु लाग्ने समय, हुस्सुको घनत्व अनि यसको प्रभाव वर्षेनी बढेर आएको छ । सापेक्षिक आद्र्रता शतप्रतिशतसम्म पुग्ने गरी हावाको ओसिलोपना बढेको हुन्छ हिउँदमा । हावामा चिसोका कारण पानीको बाफ थोपामा परिणत हुँदै जाने क्रममा धुँवा, धूलोजस्ता वस्तु मिसिन पुग्दा हुस्सु बन्ने हो । विकाससँगै हुस्सु पैmलिँदै आएको कुरालाई नकार्न सकिन्न । जस्तैः केही वर्षयता पहाडी क्षेत्रमा यातायातका साधन पुगेसँगै हुस्सु पैmलिन शुरु गरेको छ ।
यसले चिसोको मात्रालाई बढाउनुका साथै साँच्चैको जाडो र हिउँदको आभास गराउँछ । सृष्टि चलुञ्जेल, पृथ्वी रहुञ्जेल घुमिफिरी हरेक वर्ष हिउँद आइपुग्छ जाडो लिएर । यसलाई सहनु वा योसँग मितेरी नलगाई जनावरको अर्को उपाय छैन । जाडोको सामना गर्न दैनिक ठीकठीक समयमा खाना खाने, भिटामिन सीयुक्त खानेकुरामा बल गर्ने अनि तातो पानी र झोलिलो पदार्थ सेवन गरे जाडोसँग लड्ने क्षमतामा वृद्धि हुन्छ । न्यानो लुगा लगाउने, आगो ताप्ने, तेल लगाएर जीउ सेक्ने केही उपायहरू हुन् । बिहानै चिसोमा मर्निङ वाक गर्नु हिउँदमा राम्रो मानिँदैन किनकि माथिबाट बाक्लो हुस्सुको तहले छाएको हुनाले धुँवा, धूलो पृथ्वीको सतहमै जमेर बसेको हुन्छ अनि हावा प्रदूषित भएको हुन्छ । शारीरिक कसरतहरुमा जोड दिई शरीरलाई दह्रो बनाएर जाडोसँग लड्ने क्षमता विकास गर्नु नै बेस हुन्छ । दिक्क मान्यो भने झन् शारीरिक र मानसिक पीडा बढ्छ र झन् जाडोको महसुस भइदिन्छ । तसर्थ यसो नगर्नु नै उपयुक्त हो ।