विराटनगर । सरकारले बर्खायाममा नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाए पनि विराटनगर महानगरपालिका–४ इकराइस्थित केसलिया खोलाबाट अवैधरूपमा माटो उत्खनन् भइरहेको पाइएको छ ।
स्थानीयका अनुसार दैनिक दर्जनौँ ट्याक्टरबाट भरौट र बालुवा निकाले पनि सम्बन्धित निकाय मौन छन् । स्थानीयवासीले प्रशासनको मिलेमतोमा खोलाबाट अवैधरूपमा माटो र बालुवा निकासी भइरहेको आरोप लगाए । “सरकारले बर्खामा खोलाबाट निकासीमा प्रतिबन्ध लगाएको छ । तर केसलिया खोलाबाट दिनकै दर्जनौँ ट्याक्टरबाट माटो निकासी भइरहेको छ” नाम नछाप्ने शर्तमा एक स्थानीयले भने, “महानगरको नगर प्रहरीदेखि राजनीतिक दल एवम् प्रहरी प्रशासनको आड नपाए कसैले यसरी भरौट निकाल्न सक्छ ?” विराटनगरवासी गणेश यादवको को.१ त ३५८ नम्बरको ट्याक्टरमा कमल यादव, अमुल यादव, जयकिशोर यादव र प्रभुलाल यादवले अवैध रूपमा माटो उत्खनन् गर्दै आएको स्थानीयको आरोप छ । दैनिक एक जनाले ५ देखि ८ ट्रिप माटो लगेर बिक्री गर्दै आएका छन् । एक ट्याक्टर माटो मूल्य विराटनगरभित्र एक हजार ५ सयदेखि दुई हजार रुपैयाँसम्ममाच बिक्री गर्दै आएका छन् ।
अवैध उत्खनन्ले खोलामा १५ देखि २० फिटसम्म गहिरो खाडलहरू बनेको स्थानीयले बताए । बर्खामा बाढी आउँदा बस्तीमा पस्ने खतरा रहेको स्थानीय बताउँछन् । बर्सेनि बस्तीमा बाढी पसेर विराटनगरको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको छ । बाढीको खतरा बढेकाले समस्या समाधानका लागि प्रभावकारी अनुगमन र कडा कारबाही गरिनुपर्ने यहाँका स्थानीय बताउँछन् । स्थानीयका अनुसार उत्खनन् बिहान, दिउँसो र साँझको समयमा हुने गरेको छ । स्थानीयका अनुसार उत्खनन्को क्रममा ट्याक्टर छिराएपछि स्थानीय प्रहरीलाई मिलाएकाले जिल्लाबाट प्रहरी टोली आउँछ कि भनेर निगरानी राख्न इकराइ चोकमा टोली खटाउने गरेको छ । “इकराइ चोकबाट प्रहरीको टोली पश्चिम लागेपछि उनीहरूलाई सूचना पुग्छ । त्यसपछि हतार हतार गर्दै ट्याक्टर खोलाबाट निकाल्ने गर्दछन्”–एक स्थानीयले भने ।
अवैधरूपमा उत्खनन् हुने गरेको जानकारी पाएपछि बिहीबार सञ्चारकर्मीहरूको टोली विराटनगर–४ इकराइस्थित केसलिया खोलामा पुगेका थिए । सञ्चारकर्मीहरू त्यहाँ पुग्दा चारवटा ट्याक्टरमा अवैधरूपमा भरौट उत्खनन् भइरहेको थियो । सञ्चारकर्मीहरूले फोटो र भिडियो खिच्न थालेपछि को.१ त ४५८, ५४३१, १२२३, २४८० नम्बरको ट्याक्टरमा खोलाको आधा माटो मात्रै भरेर बाहिर निस्किए । स्रोतका अनुसार अवैधरूपमा उत्खनन् गर्नेहरूले नगर प्रहरीलाई मासिक रकम बुझाउने गरेका छन् । विराटनगर महानगरपालिकाको नगर प्रहरी प्रमुख इन्स्पेक्टर राजन पौडेलले जनशक्ति अभावको कारणले गर्दा खोलाहरूमा अनुगमन गर्न नसकिएको बताए । “यसअघि हामीसँग ४६ जना जनशक्ति रहेको थियो । अहिले १३ जना मात्रै रहेका छौँ । भएको जनशक्तिले बजारतिर हेर्दा ठिक्क भएको छ” उनले भने, “हामीसँग म्यानपावर नभएपछि खोलामा हुने अवैध उत्खनन् रोकथाम र नियन्त्रणका लागि हामीले जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार पनि गरेका छौँ ।”
विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन थपलियाले असार, साउन र भदौमा खोलाबाट कुनै पनि किसिमका नदीजन्य पदार्थ निकाल्न नपाइने र त्यस्तो गरेको पाइए कानून अनुसार कारबाही हुने बताए । नगर प्रहरीलाई तत्काल पठाएर घटनाबारे बुझ्ने उनले बताए ।