धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिको विषय ‘हटकेक’ बनिरहँदा धरानका सरोकारवालाहरूले ‘धरानबाटै’ उपकुलपति नियुक्त गर्नुपर्ने अडान लिएका छन् ।
सरोकारवालाहरूले राजनीतिक भागबण्डाले ‘बीपी प्रतिष्ठान तहस–नहसको स्थितिमा पुगेको’ निष्कर्ष निकाल्दै बीपी प्रतिष्ठानलाई राम्ररी बुझेका योग्य र सक्षम व्यक्तिलाई उपकुलपति बनाउनुपर्ने अडानमा उभिएका छन् । ‘धरान र बीपीलाई बुझेको धरानको अनुभवीलाई उपकुलपति बनाउनुपर्छ’ सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले उवासङ्घमै भएको सरोकारवालासँगको छलफलको क्रममा भने, ‘विशुद्ध धरानेलाई यसपटक उपकुलपति बनाउनुपर्छ भनेर दबाव दिनुपर्छ ।’
मङ्गलबारको छलफलको उद्देश्यबारे बताउँदै उनले भने, ‘केन्द्र सरकारले खेलवाड नगरोस् भनेर क्याम्पियन गर्ने कि भन्ने यो छलफलको उद्देश्य हो । नेपाल सरकारलाई दबाव दिने र ध्यानाकर्षण गराउने उद्देश्य हो ।’ सरोकारवालाहरूले पार्टीगत भागबण्डा र पैसाको चलखेलबाट उपकुलपति नियुक्त हुने प्रचलनको अन्त्य आवश्यक रहेको बताए । ‘मुख्य समस्या भनेको राजनीतिक भागबण्डा नै हो’ राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर सभापति सुमन श्रेष्ठले भने, ‘सबै राजनीतिक दलले प्रतिबद्धता जनाऔँ । स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय जाआँै । यो कुरा मान्दैनौँ भनेर दबाव दिऔँ ।’
बीपी प्रतिष्ठानको उपकुलपतिको विषयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको अवस्था छ । उक्त समितिले उपकुलपति बनाउने विषयमा घनिभूत छलफल गरिरहेको छ । यही बीचमा धरानका सरोकारवालाहरूले आवाज उठाउन थालेका हुन् । धरानबाटै प्रतिनिधित्व हुने गरी उपकुलपति बनाउनुपर्ने छिटफुट आवाजहरू यसअघि उठे पनि यस पटक भने दबाव सिर्जना गर्ने मुडमा देखिएका छन् । ‘दलको साझा धारणा यो हो भनेर प्रधानमन्त्रीलाई भन्नुप¥यो’ –नेकपा (माओवादी केन्द्र) का धरान इन्चार्ज चोत्लुङले भने । उवासङ्घका पूर्व अध्यक्ष अशोक ताम्राकारले धरानबासी नभएमा ताला लगाउँछाँै भन्ने हिसाबमा अगाडि बढ्नुपर्ने बताए ।
बीपीको भिसी काङ्ग्रेसको भागमा
बीपी प्रतिष्ठानको उपकुलपति (भिसी) नेपाली काङ्ग्रेसको भागमा परेको बुझिएको छ । काङ्ग्रेसमा पनि वरिष्ठ नेता शेखर कोइरालाको भागमा परेको खबर बाहिरिएको छ । काङ्ग्रेसबाट सङ्गीता भण्डारी, प्रल्हाद कार्की, रोशन पोखरेललगायतको नाम अग्रपङ्क्तिमा छ ।
कोशी प्रदेशकी सांसद् यशोदा कायस्थले भनिन्, ‘बीपीको भिसी काङ्ग्रेसको भागमा परिसकेको छ भनेर मलाई जानकारी आएको छ ।’ उनले यसले गर्दा चलखेलका आधारमै भिसी हुने प्रचलन फेरि पनि कायमै रहने सुनिश्चित जस्तै भएको बताइन् । ‘चलखेल धेरै हुने कारणले बीपीमा समस्या छ । पैसाको चलखेल गरेर भिसी बन्दा भ्रष्टाचार मौलाएको छ’–उनले भनिन् । मिडिया सञ्चालक मातृकाप्रसाद नेपालले नेपाली काङ्ग्रेसमा पनि शेखर कोइरालाको भागमा परेको दाबी गरे । नेपाली काङ्ग्रेस निटकसमेत रहेका नेपालले भने, ‘भिसीका लागि शेखर कोइरालालाई भेटेमा ५० प्रतिशत समस्या यहीँबाट हल हुन्छ ।’
छलफलमा रहेका पूर्व सङ्घीय सांसद् जयकुमार राईले पनि बीपी प्रतिष्ठानको उपकुलपति काङ्ग्रेसको भागमा गएको भन्ने जानकारी आएको बताए । उनले भने, ‘भिसीमा काङ्ग्रेसको इन्ट्रेस बढी छ ।’ छलफलमा सहभागी धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले भने, ‘काङ्ग्रेसको भागबण्डामा परेको भन्ने सुन्नमा आएको छ ।’ यस्तै नेकपा (माओवादी केन्द्र) का धरान नगर इन्चार्ज चोत्लुङले थपे, ‘यदि काङ्ग्रेसको भागमा परेको छ भने झन् धेरै छलफल गर्नुपर्छ । काङ्ग्रेसका साथीहरूसँग बसेर साझा धरणा बनाउन आवश्यक छ ।’
भागबण्डाले बिग्रियो बीपी
बीपी प्रतिष्ठानमा अधिकांश उपकुलपति पार्टीगत भागबण्डाका आधारमा आउने गरेका छन् । यसले गर्दा बीपीमा काम गर्न नसकेको गुनासो व्यापक छ । पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले भने, ‘पदाधिकारी नियुक्त हुने बेलामा पार्टीको भागबण्डाको कुरा सुरु हुन्छ ।’
बीपीमा विगतदेखि हालसम्म पार्टीगत भागबण्डाबाटै पदाधिकारीहरू नियुक्त हुँदै आएका छन् । उपकुलपति मात्रै नभई शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशकसम्म भागबण्डाबाटै हुने गरेको छ । यस्तै नियुक्त गर्दा रकमको चलखेल पनि व्यापक हुने गरेको आरोप लाग्दै आएको छ । ‘भिसी नियुक्त गर्दा पैसाको चलखेल हुँदै हुँदैन भन्ने छैन’–जनता समाजवादी पार्टी नेपालका धरान नगर अध्यक्ष ताजुब लिम्बूले भने । उवासङ्घका अध्यक्ष विजय श्रेष्ठले भने, ‘राजनीतिक भागबण्डा र पैसाको बिटो दिएर आयो भने बीपी थप रुग्ण हुन्छ ।’
साझा धारणा बनाऔँ
उपकुलपति बनाउने विषयमा साझा धारणा आवश्यक बनेको सरोकारवालाले बताएका छन् । पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले धरानमा रहेका सबै पार्टीहरूलाई प्रतिबद्धता गराई सङ्घीय सरकारमा ‘डेलिगेसन’ जानुपर्ने बताए । उनले भने, ‘कि विक्रमलाई बनाऊ कि सञ्जीवलाई बनाऊ भनेर जानुपर्छ । उनीहरू हुँदा राजनीतिक स्वार्थबाट मुक्त हुन्थ्यो कि भन्ने हो । बीपीको हितविपरीत बाहिर जाँदैनन् भन्ने हो ।’त्यस्तै रास्वपाका नगर सभापति सुमन श्रेष्ठले अब बन्ने उपकुलपति ‘यो यो काम गर्छु भनेर प्रतिबद्धता गर्ने भिसी चाहियो भनेर डेलिगेसन’ जानुपर्ने बताए । माओवादी केन्द्रका इन्चार्ज चोत्लुङले भने, ‘ओपन्ली छलफल गर्दा हुन्छ । विक्रम श्रेष्ठलाई बनाउँदा हुन्छ । दलको धारणा यो हो भनेर प्रमलाई भन्नुप¥यो ।’ नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले ‘धरानको हुनुपर्छ’ भन्ने हिसाबमा डेलिगेसन जानुपर्ने बताए । ‘त्यसका लागि दबाव दिनुप¥यो । बीपीको विकृति अन्त्य गर्ने कुरामा पनि चासो दिनुपर्यो ।’
पूर्व सङ्घीय सांसद् जयकुमार राईले बीपीको हकमा सबै पार्टी तथा सरोकारवाला निकायहरू एकजुट हुनुपर्ने बताए । ‘बीपीको हकमा एकजुट हुनुपर्छ । डेलिगेसन जाआँै’–उनले भने । यस्तै अर्थविज्ञ एवम् उवासङ्घका सल्लाहकार कृष्णकुमार अग्रवालले भने, ‘लिडर राम्रो भयो भने सबै कुरा सुध्रिन्छ । पार्टीबाट हैन, योग्य व्यक्ति दिऔँ भनेर लबी गरौँ ।’ उनले बीपीले तीन वर्ष अगाडिसम्म आन्तरिक राजस्व कार्यालयमा करिब २५ करोड राजस्व तिर्ने गरेकोमा हाल १६–१७ करोड राजस्व तिरिरहेको बताए । यही कुराले पनि बीपी प्रतिष्ठानको अवस्थालाई चित्रण गर्ने उनले बताए । यसका लागि चाँडै डेलिगेसन गई दबाव दिने वातावरण सिर्जना गर्नुपर्ने अधिकांश वक्ताहरूले बताए ।
उवासङ्घले पूर्व स्वास्थ्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने
सुनसरी उद्योग वाणिज्य सङ्घले पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापालाई धरानमा आज (बुधबार) ज्ञापन–पत्र बुझाउने भएको छ । धरानकै उपकुलपति बनाउनुपर्ने भनी ध्यानाकर्षण गराउन ज्ञापन–पत्र दिने तयारी गरिएको अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । ‘भोलि पूर्व स्वास्थ्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने तयारी गरेका छौँ’ –उनले भने ।
ज्ञापन–पत्रमा विभिन्न मागहरू राखिएका छन् । पूर्व स्वास्थ्यमन्त्री थापा नेपाली काङ्ग्रेस धरान नगर समितिको कार्यक्रममा सहभागी हुनका लागि धरान आउँदै छन् । सोही क्रममा उवासङ्घले बीपी प्रतिष्ठानको उपकुलपति बनाउँदा धरानकै योग्य र सक्षम व्यक्तिलाई बनाउन दबाव सिर्जना गर्ने गरी ज्ञापन–पत्र बुझाउन लागेको हो । विभिन्न पाँच बुँदे ज्ञापन–पत्र बुझाउने तयारी गरिएको छ ।