धरान । मोरङ लेटाङ नगरपालिका–३ त्रिशूलेका मनकुमारी लिम्बू, शारदा राई, सोनु लिम्बू हुल बाँधेर बिहान सखारै चारकोसे झाडीमा निगुरो टिप्न झर्छन् । बिहानभरि एकजनाले ४५ देखि ५५ मुठासम्म निगुरो टिप्छन् । त्यो बेचेबापत पाँच सय ६० रुपैयाँभन्दा बढी कमाउँछन् ।
गत चैतदेखि आउँदो कात्तिकसम्म उनीहरूको दैनिकी अधिकांश यसरी नै बित्छ । खेतीपातीबाहेक अन्य समय निगुरो टिपेरै बित्ने गरेको उनीहरू सुनाउँछन् । यसबाट दैनिक घरखर्च चल्ने गरेको सुनाउँछन् । छोराछोरीलाई खाजा खर्च, आफूलाई खर्चसम्म पुग्ने गरेको शारदा राई बताउँछिन् । उनी भन्छिन्, ‘घरखर्च मेन्जो धानेको छ । आफूलाई मनलाग्ने कुरा खान पाइन्छ । दूध लग्यो, मोही लग्यो खायो ।’
उनीहरू जस्तै हुल बाँधेर आउनेहरू झण्डै ८÷९ वटा समूह छन् । सबैजना जङ्गलमा फैलिन्छन् । आ–आफ्नो समूहकाले निगुरो टिप्छन् र भेला पारेर व्यवसायीलाई बेच्छन् । ‘यहाँ १५ रुपैयाँ प्रतिमुठा बेच्छौँ, उनीहरूले उता कतिमा बेच्छन् थाहा भएन’ तीनजनामध्ये सबैभन्दा पाको उमेरकी मनकुमारी बोलिन्, ‘हिजोअस्तिसम्म २० रुपैयाँ दिन्थ्यो । अहिले घटाको छ । भाउ छैन भन्छ । खै उही जानोस् ।’ भर्खरै निगुरो बेचेकाले सबैले हातमा मुठ्ठी पारेर पैसा बोकेका थिए । ‘आज ४५ मुठा जति टिपेँ’ हातमा भएको पैसा देखाउँदै मनकुमारी बोलिन्, ‘यी पैसा यही त हो ।’
यहाँका महिलाका लागि निगुरो दैनिकी चलाउने माध्यम बनेको छ । घर प्रत्येक निगुरो टिप्न दैनिक बिहान ४० रुपैयाँ खर्चेर आइपुग्छन् । शारदा भन्छिन्, ‘बिहान टेम्पुमा आउनुपर्छ । ४० रुपैयाँ भाडा लिन्छ । जाँदा बसमा जान्छौँ । २० रुपैयाँ लाग्छ ।’ महेन्द्र राजमार्ग र लेटाङ बजारको बीच भागको जङ्गलमा दैनिक निगुरो खोज्न सयौँको लर्को लाग्ने गरेको छ । यहाँ लेटाङवासी मात्रै हैन, कानेपोखरी गाउँपालिकाका महिलाहरू पनि निगुरो खोज्न आइपुग्छन् । निगुरो खोज्ने पनि आ–आफ्नो क्षेत्र तोकिएको छ । लेटाङवासीहरूले आफ्नो क्षेत्रभित्र मात्रै निगुरो खोज्न पाउँछन् भने कानेपोखरीवासीले पनि आफ्नो क्षेत्रमा मात्रै निगुरो टिप्छन् । ‘तलको तलै, माथिको माथि नै निगुरो खोज्छन्, तलका यता आउँदैनन् । हामी पनि त्यता जाँदैनौँ’–मनकुमारीले भनिन् ।
करिब ६ महिनासम्म उनीहरूलाई घरखर्च, केटाकेटीलाई खाजा खाने मेलो यही निगुरोबाट चल्ने गरेको छ । ‘घरमा काम भको बेला त आउँदैनौँ’–सोनुले भनिन् । विगतभन्दा अहिले निगुरोको माग केही घटेको उनीहरूको अनुभव छ । ‘काठमाडौँ जाँदा त टिप्न भ्याई नभ्याई हुन्थ्यो । पैसा पनि राम्रो कमाइन्थ्यो । अहिले त छैन’ शारदा भन्छिन्, ‘अहिले पथरी, बेलबारीतिरबाट व्यापारी आउँछन् र लान्छन् । त्यही भर भाउ दिँदैनन् । काठमाडौँ जाँदा यहीँबाट लोड गरेर फुलगाडी लान्थ्यो ।’ अहिले सुँगुर पाल्नेहरूले पनि चारोको रूपमा लाने भएकाले निगुरोको उत्पादन घट्दै गएको छ । ‘कचियाले स्वामस्वाम काटेर लाग्छन्’–मनकुमारी भन्छिन् ।
निगुरो महिलाहरूको अर्थोपार्जनको मेलो बनेको छ । विना लगानी राम्रै कमाइ हुने भएपछि निगुरो टिप्नेहरूको लाम लाग्ने गरेको छ । ‘बिहान त यहाँ हेरौँ हेरौँ लाग्ने गरी लर्को लाग्छ’ मनकुमारीले भनिन्, ‘ये कत्ति आउँछन् कत्ति । निगुरो किन्न पनि सिटी सफारी, टेम्पो नै लिएर आइपुग्छन् । टिपेपछि बिक्री भइहाल्छ । पैसा आइहाल्छ । लगानी भनेको उही परिश्रम त हो नि ।’ कतिपयले निगुरोमा मल लगाई फलाउने गरेको चर्चा भइरहँदा उनीहरू भन्छन्, ‘खेतमा लगाउने मल छैन । जङ्गलको निगुरोलाई कसले मल हालोस् ? हावा कुरा’–शारदाले अनुहार बिगार्दै भनिन् ।