धरान । कोशी प्रदेशमा तीन महिनाको अवधिमा राज्यपक्ष र गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका मानव अधिकारविरूद्धका घटनामा ३ सय ७५ जना पीडित भएको पाइएको छ । राज्यको तर्फबाट ५८ जना पीडित भएको पाइएको छ ।
इन्सेकले हालै सार्वजनिक गरेको तीन महिनाको अवधिमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटनाको विवरणमा अन्य पक्षबाट भएका घटनामा घाइते पुरुष ३०, कुटपिट महिला दुईसहित नौ जना पीडित भएको जनाइएको छ । यस्तै अमानवीय व्यवहार घटनामा दुई जना पुरुष, हत्याका घटनामा दुईजना महिलासहित चार, अपहरण घटनामा एकजना महिला, धम्कीका घटनामा एकजना पुरुष, बाल अधिकारविरुद्धका घटनामा ४१ जना र महिला अधिकारविरुद्धका घटनामा २ सय २८ गरी कुल ३ सय १६ जना पीडित भएका छन् ।
इन्सेकको अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुव्र्यवहारका घटनामा पीडित भएको जनाएको छ ।
महिला अधिकारविरुद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुव्र्यवहार एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १ सय ९७ गरी २ सय २८ जना महिला पीडित भएको इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले जानकारी दिए ।
प्रहरीको ब्यारेक र कारागारमा छ जनाको मृत्यु
तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारहरूमा गरी ६ जनाको मृत्यु भएको इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।
सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानवअधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु भएको पाइएको हो ।
इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकभित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीनजना र सुनसरी झुम्का कारागारमा एकजना गरी चारजनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
इन्सेकको प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमा कानेपोखरी गाउँपालिका–७ का ४९ वर्षीय स.इ. धनराज खतिवडाको फागुन ४ गते झुण्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका–१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको छ ।
जिल्ला कारागार मोरङमा रहेका बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको पुस २० गते, पथरीशनिश्चरे नगरपालिका–४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सातजना महिला र ४२ जना पुरुष गरी ४९ जनालाई गिरफ्तार गरेको इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहर पोखरेलले जानकारी दिएका छन् । सो अवधिमा राज्यपक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरुष घाइते भएका छन् ।
मानवअधिकार संरक्षण एवम् सम्बद्र्धन गर्ने मुख्य दायित्व राज्यको भएकाले मानवअधिकारका सवालमा राज्य गम्भीर हुन प्रतिवेदनमा सुझाइएको छ । इन्सेकले अभिलेखीकरण गरेका तथ्याङ्कहरूलाई दृष्टिगत गरी मानवअधिकार संरक्षण र सम्बद्र्धनका निम्ति राज्यले ठोस, प्रभावकारी र हस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्बन गर्न संयोजक पोखरेले सुझाएका छन् ।