धरान । भोजपुरको टेम्के मैयुङ गाउँपालिका–४ को चखिया र लोहकिल डाँडाहरूमा राणाविरोधी गतिविधि गर्नका लागि निर्माण गरिएका २००७ सालमा निर्मित ट्रेन्च अहिले पनि अवशेषको रूपमा रहेको छ ।

ब्रिटिस सरकारको सहयोगी भई लडेर नेपाल फर्किएका फिर्कामान राई, नहकुल राई, लप्टन पूर्णप्रसाद राई, मणिकुमार राईलगायतले राणाविरुद्ध लडाइँ लड्नका लागि ट्रेन्च खनेका थिए । त्यसबेलामा खनिएका २५–३० वटा टे«न्च अहिले पनि देख्न सकिने ‘पानी पतिया’ का लेखकसमेत रहेका युद्धकवि काङ्माङ नरेश राईले जानकारी दिए । नरेशकृत पानी पतियाको १ सय ५५ पेजमा यसरी उल्लेख गरेका छन्, ‘फिर्कामान राई, नहकुल राई, लप्टन पूर्णप्रसाद राई र भक्तिको बाउ (मणिकुमार राई) लगायतले राणासँग लडाइँ लड्नका लागि भोजपुरको चखियामा र लोहकिल डाँडाहरूमा २५–३० वटा ट्रेन्च खनेका थिए । ती ट्रेन्चको अवशेष अझै पनि रहेको छ ।’

ट्रेन्च युद्धको समयमा निर्माण गरिने चलन रहेको थियो । ब्रिटिस सरकारले औपनिवेश बनाएका धेरै देशहरूमा ट्रेन्चहरू निर्माण गरी युद्ध लड्ने माध्यम बनाएका थिए । उनले सोही पुस्तकमा लेखेका छन्, ‘फिर्कामान राईले दोस्रो विश्वयुद्ध लडेका थिए । उनलाई जर्मन सेनाले ‘प्रिजनर अफ वार’ पिओडब्लु बनाएका थिए । उनी सकुशल घर फर्केर २००७ सालको क्रान्तिमा लडे ।’ ब्रिटिसको सहयोगी भई विभिन्न देशका विरुद्ध लड्ने गोर्खाली योद्धाहरूले आफ्नै देशमा रहेका राणाशासकका विरुद्ध लड्ने योजना बनाइआएको युद्धकविको कथन छ । २००७ सालको क्रान्तिको सुरुवात पनि भोजपुर र विराटनगरबाट भएको मानिन्छ । तत्कालीन समयमा नेपाली काङ्ग्रेसले थालेको क्रान्तिको विजारोपण त्यही ठाउँबाट भएको थियो । जहाँ नेपाली काङ्ग्रेसले थालेको सशस्त्र आन्दोलनको रेडियो प्रसारण त्यहीँबाट भएको मानिन्छ । वि.सं. २००७ साल मङ्सिर २५ गतेदेखि नारदमुनी थुलुङको नेतेृत्वमा रेडियो सञ्चालन भएको थियो । यस कुराको पुष्टि जननेता बिपी कोइरालाको आत्मवृत्तान्तमा पनि उल्लेख छ ।

फिर्कामानले २००७ सालको क्रान्ति लडेकोबारे टेम्के मैयुङ–४ का स्थानीय कृष्णबहादुर राईले यसरी सुनाएका छन्, ‘हामी ८–९ वर्षका थियौँ । त्यस बेलाको एउटा घटनाको पूरै याद छ । फिर्कामान राईको मूलघरमा हातहतियारहरू राखिएको थियो । हामी केटाकेटीलाई नजिक जान दिइँदैनथ्यो । मार्ग ट्रियल राइफल (मार्ग थ्री राइफल), भरुवा बन्दुकहरू, निजकै जम्मा गरिएको थियो । एउटा तोप पनि राखिएको थियो । बाहिर खोल पित्तलको जस्तो देखिन्थ्यो । राणाहरूलाई ढुकेर बस्नका लागि उक्त ट्रेन्चहरू खनिएको हो । तर, राणाहरू यता हाम्रो पट्टिबाट आएन भन्थ्यो । उनेरु हा¥यो भन्ने खबर आयो । निकै पछिसम्म त्यो तोप दाजु फिर्कामानको घरमा नै थियो ।’ लेखक राईले सन् २०२३ मार्च २४ का दिन गरेको वार्ताका आधारमा उक्त कुरा तयार पारेको भनी पुष्टिसमेत गरेका छन् ।

राणाशासनविरुद्ध भोजपुर जिल्लाबाट भूपू गोर्खा सैनिक नारदमुनि थुलुङ, रामप्रसाद राई, जसमान राई, श्रीपाल राई, मुगाधन राईलगायतले हतियार उठाएको प्रसङ्ग १ सय ५१ पेजमा लेखक राईले उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘जसमान राईका अनुसार पल्टनमा हुँदै उनीहरूले राणाविरुद्ध लड्ने योजना बनाइसकेका थिए । बेलायतबाट भारत स्वतन्त्र भएपछि ७ महिना लामो योजनाका साथ राणाविरुद्ध उनीहरूले हतियार उठाएका थिए ।’ २००७ सालका क्रान्तियोद्धा जसमान राईको ‘खुकुरीको धारमा’ नामक पुस्तकमा उल्लेख भएको कुरालाई यसरी सार्वजनिक गरेका छन्, ‘लाहुरेहरूले राणासँग नलडेको भए राणा नेपालबाट कहाँ हट्थ्यो र ? पल्टनमा हुँदा नै राणाको अत्याचारको बारेमा गुरुजीहरूले सुनाउनु हुन्थ्यो । अनि गुरुजीहरू भेला भएर भन्नुहुन्थ्यो, हामी जापान–जर्मनसँग त लड्यौँ भने नेपालमा गएर राणासँग किन नलड्ने ?’

यही क्रममा नै २००७ साल मङ्सिर २४ गते शनिबार नारदमुनि थुलुङ, रामप्रसाद राई, श्रीपाल राई, मुगाधन राई, कर्मकुमार राई, भूदेव राई आदिले हतियार उठाई भोजपुर जिल्ला कब्जा गरेको उनले पुस्तकमा उल्लेख गरेका छन् ।