धरान एक्स्पोको नवौं दिनमा पनि औसत व्यापार भएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा एक्स्पो लागिरहेको छ । एक्स्पोमा सहभागी व्यवसायीहरूले औसत मात्रै व्यापार भएको बताए ।

व्यापारका लागि विराटनगरबाट आएका नमो इन्टरप्राइजेजका मन्दिप ढकालले सामान्य व्यापार मात्रै भएको बताए । उनी भन्छन्, 'दैनिक ५० हजार रुपैयाँसम्म कारोबार भइरहेको छ । अन्य ठाउँको भन्दा त कमै हो तर, पनि सन्तुष्ट नै भन्नुपर्छ ।' उनको स्टलमा सरफ, साबुनलगायतका सामग्री पाइन्छ । यस्तै सङ्खुवासभाको पाँचखपन नगरपालिका-४ का डि.एल.एम.एस. बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्मका दिलबहादुर मगरले व्यापार उत्साहजनक नभएको बताए ।

उनले एक्स्पोमा सख्खर, अम्लिसोलगायतका स्थानीय उत्पादन बिक्रीका लागि ल्याएका छन् । उनी भन्छन्, 'व्यापार त कमै भए पनि प्रचार-प्रसार हुन्छ भनेर आएको, फाइदा नै भएको छ ।' रुकुमबाट समेत एक्स्पोमा आएकी रुकुम एग्रोभेट प्रा.लि.की सञ्चालिका सङ्गीता गुरुडले पोखरेली जेठो बूढो चामल, हाडे ओखरलगायत अग्र्यानिक उत्पादन स्टल राखेकी छन् । उनी भन्छिन्, 'विशेषगरी भीरमौरीको मह नै हो ।' तर, उनी गतवर्षको भन्दा सन्तोषजनक व्यापार भएको बताइन् । उनी भन्छिन्, 'गत वर्षभन्दा राम्रो छ ।'

भीरमौरीको मह प्रतिकिलो तीन हजार ७ सय ७४ रुपैयाँ रहेको छ । उनको दैनिक औसत १० हजार रुपैयाँसम्मको बिक्री भइरहेको जानकारी दिइन् । एक्स्पोका स्टल व्यवस्थापन समितिका संयोजक विष्णु बराल स्थानीय उत्पादन र कृषिको प्रवर्द्धनका लागि सहुलियत दरमा स्टल उपलब्ध गराएको बताउँछन् । उनी भन्छन्, '१७ हजार ५ सय लागत पर्ने स्टल १० हजारमा दिएका छौं । यो व्यवसायी प्रवर्द्धनका लागि गरिएको हो ।'

Dharan Tred N Expo

एक्स्पोमा छुटै छुट
उद्योग व्यवसायको प्रवर्द्धनका लागि आयोजना गरिएको एक्स्पोमा विभिन्न सामग्रीमा छुटको व्यवस्था गरिएको छ । एक्स्पोमा एक जोर जुत्ताको खरिदमा एक जोर निःशुल्क दिइएको छ । यस्तै साबुन तथा सरफ खरिदमा पनि छुटको व्यवस्था गरिएको छ । नमो इन्टरप्राइजेजका प्रोप्राइटर मन्दीप ढकाल भन्छन्, 'एक दर्जन लुगा धुने साबुनको खरिदमा एक दर्जन भाँडा धुने सित्तैंमा दिइरहेका छौँ । ४ केजी कपडा धुने सरफ खरिद गर्दा एक केजी सरफ र एउटा बाक्टिन दिइरहेका छौँ ।' उक्त प्याकेज खरिद गर्दा ६ सय ५० रुपैयाँ पर्ने उनको भनाइ छ । चाउचाउलगायतका सामानको खरिदमा पनि थप सामग्री दिइरहेका छन् ।

'धरानेले अर्गानिक नै चिन्दा रहेनछन्'
जुम्लादेखि अर्गानिक स्याउसहित अन्य खाद्य सामग्री लिएर एक्स्पोमा आएकी हिमाली कृषि उद्योगकी सञ्चालक गङ्गादेवी राउतले दाल, फापरको पिठोलगायत स्थानीय उत्पादन लिएर आएकी छन् । उनका सबै उत्पादन अर्यानिक छन् । तर, एक्स्पोको अवलोकन गर्न आउनेहरूले अर्य्यानिक स्याउलाई कुहिएको भनेर हिँड्ने गरेको अनुभव सुनाइन् । उनी भन्छिन्, 'अर्गानिक स्याउलाई कुहेको भन्छन्, धरानका मान्छे अर्गानिक वस्तु चिन्दैन रहेछन् ।'