पाँचथर । पाँचथर कुम्मायक गाउँपालिकामा सञ्चालित यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी योजनाको दुईवटा पम्प जल्दा चार वडाका २२ सय घरधुरी प्रभावित भएका छन् ।

कुम्मायक–५ स्थित लुम्बुघाटको इनारका दुईवटा पम्प जलेपछि खानेपानीको हाहाकार भएको हो । तमोर नदीले धार परिवर्तन गरेपछि इनारमा पानीको सतह घटेको थियो । जसका कारण पम्पले बालुवा र पानी एकै साथ तानेपछि पम्प जलेको उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले जानकारी दिए । जलेको पम्प मर्मत गरेर सञ्चालन गर्न नसकिने भएकाले नयाँ खरिद गर्नुपर्ने उनले जानकारी दिए । एउटा पम्पको मूल्य करिब १८ लाख रुपैयाँ पर्छ ।

कुम्माकको १, ३, ४ र ५ नम्बर वडाका २२ सय घरधुरी खानेपानीबाट प्रभावित बनेका हुन् । कुम्मायकको यासोक, स्याबरुम्बा, रानीगाउँका बासिन्दा खानेपानीको समस्यामा परेका छन् । कुम्मायक–५ बिजुवापानीका बुद्धिमान बुढाथोकीले दुई दिनमा एक पटक पानी आउँदै गरेकामा पम्प बिग्रिएपछि पानी नआउँदा  चिन्ता थपिएको बताए । उनका अनुसार पशुचौपायादेखि दैनिक घरायसी काम गर्न एक सय लिटर पानी आवश्यक पर्छ ।

तर, धारामा पानी आउन छाडेपछि पानी बोकेर दैनिक गुजारा गर्नुपरेको उनी बताउँछन् । कुम्मायक–४ का पदमदुःखी सम्बाहाम्फे दैनिक १ सय ५० लिटर पानी आवश्यक पर्ने बताउँछन् । दुई दिनदेखि धारामा पानी आउन छाडेपछि कुवा र पँधेरो धाउने बाध्यता रहेको उनले बताए । ‘पशुचौपायालाई दैनिक १ सय लिटर लाग्छ । यस्तो अवस्थामा पानी बोकेर पनि सम्भव छैन’–सम्बाहाम्फेले भने ।

यसैबीच मङ्गलबार खानेपानी योजनामा देखिएको समस्या हल गर्न कुम्मायक गाउँपालिका र उपभोक्ता समितिले स्थलगत अनुगमन गरेको छ । स्थलगत अनुगमन गरी इनारभित्रको बालुवा हटाउने र नदीको सतहलाई इनारतर्फ फर्काउन काम भइरहेको गाउँपालिकाका प्रवक्ता देबेन्द्रकुमार लावतीले बताए । ‘खानेपानीको समस्या कुम्मायक गाउँपालिकाको जटिल समस्या हो । तमोर नदीले धार परिवर्तन गर्नु र इनारको सतह घट्नुले खानेपानी योजनामा गम्भीर सङ्कट उत्पन्न भएको छ’–लावतीले भने । खानेपानीमा देखिएको समस्या हल गर्न एक सातासम्म लाग्ने भएकाले सम्बन्धित कार्यालयमा यो विषयमा सहयोग माग्ने समितिको भनाइ छ ।

उपभोक्ता समितिका अध्यक्ष निरौलाका अनुसार तत्काल समस्या समाधानको लागि पम्प खरिद र छुट्टै इनार निर्माण गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम समक्ष माग गरिनेछ । उपभोक्ता समितिसँग आन्तरिक स्रोत नभएकाले तत्काल पम्प खरिदको लागि सङ्घीय खानेपानी कार्यालय इलामसँग माग गर्ने समितिका सचिव जकेन्द्र लावतीले बताए ।