राप्रपा नेपाल सङ्घीयताको खारेजीको पक्षमा रहेको छ । हाम्रो पार्टी संरचनामा प्रदेश तहलाई हटाइसकिएको छ ।

जिल्लासँग समन्वय गर्न सात वटा क्षेत्रीय स्तरका समन्वय समिति गठन गरिएको छ । तदअनुरुप सोही सात वटा क्षेत्रमा भेला तथा प्रशिक्षण गर्ने पार्टीको कार्यक्रम थियो । यसअघि पूर्वान्चल क्षेत्रबाहेक सबै क्षेत्रको भेला तथा प्रशिक्षण सम्पन्न भइसकेको छ । यो क्षेत्रीयस्तरको अन्तिम प्रशिक्षणका निमित्त हामी इटहरीमा भेला भएका छौं ।

पूर्वान्चल क्षेत्रका सबै जिल्लाहरुको यस प्रशिक्षणमा सहभागिता रहने छ । यो प्रशिक्षणमा हामी पार्टीको राजनीतिक, वैचारिक विषयका साथै समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशाका बारेमा पार्टीका विभिन्न तहका साथीहरुलाई अवगत गराउने छौं ।

प्रशिक्षणमा यो क्षेत्रका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला अध्यक्षहरु र नगरका अध्यक्षहरुको उपस्थिति रहनेछ ।

देशको वर्तमान अवस्थाको सम्बन्धमा म व्याख्या नगरीकन सूत्रबद्ध रुपले राख्न चाहान्छु ।
हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले चार सूत्रीय अवधारणा र कार्यदिशा नीति साथ निर्धारण गरेको छ ।

सबैभन्दा पहिलो निष्कर्ष वा अवधारणा भनेको देशमा हाल कायम रहेको धर्म निरपेक्षता, सङ्घीयता, गणतन्त्र असफल प्रमाणित भएको छ । धर्म निरपेक्षता, सङ्घीयता, गणतन्त्र भ्रष्ट र तस्करतन्त्रमा रुपान्तरण भएको छ । यो भ्रष्ट व्यवस्थाबाट र भ्रष्ट व्यवस्थाका सवाहकबाट देशलाई मूक्त तुल्याउनु पर्दछ । यसको विकल्प भनेको राजासहितको प्रजातन्त्र सर्वधर्म समभाव र धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र र सुशासनको धरातलमा आर्थिक समृद्धि हो भन्ने हाम्रो पार्टीको निष्कर्ष छ ।

यो विकल्प स्थापित गर्ने तर सहमति र सहकार्य तत्काल सम्भव नदेखिएको कारणले गर्दा आन्दोलन अपरिहार्य रहेको पार्टीको निष्कर्ष रहेको छ । तर केवल एउटा पार्टीले मात्र आन्दोलन गरेर यो लक्ष्य प्राप्ति गर्न सकिदैन । यसर्थ समान विचारधारा भएका राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी, हिन्दुवादी, राजतन्त्रवादी सबै एक ठाउँमा उभिएर राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा रहेको छ ।

यही धारणाअनुरुप अहिले हामी तयारी गरिरहेका छौं । मोर्चा निर्माणको प्रयास गरिरहेका छौं । मैले पत्र्कार साथीहरूलाई सक्षेपमा पार्टीको निष्कर्ष र आगामी कार्यदिशाका बारेमा जानकारी गराएँ ।

- हाम्रो अभियान कुनै पार्टीविरुद्ध केन्द्रित छैन । सत्र वर्षको राजनीतिक अभ्यासले धर्म निरपेक्षता, सङ्घीयता, गणतन्त्र असफल भएको प्रमाणित गरिसकेको छ । अहिले लोकतन्त्रको आवरणमा देशमा ब्रह्मलुट कायम छ । सीमित राजनीतिक दलका सीमित नेताहरुले सिण्डिकेट खडा गरेर भ्रष्टाचार गरिराखेका छन् । सीमित नेताहरुले अकुत सम्पत्ति कमाएका छन् । त्यसरी भ्रष्टाचार गरेर कमाएका कालोधनलाई केही नेताहरुले समेत विदेशमा लगेर लुकाएर राखेको अवस्था छ ।

एकातिर सर्वसाधारण सामान्य जीविकोपार्जन समेत गर्न सकेका छैनन् । देशभित्र रोजगारीको अवसर छैन । भ्रष्ट साशक र भ्रष्ट व्यवस्थाप्रति जनताको भरोसा टुटिसकेको छ । यही भरोसा टुटेको कारणले गर्दा लाखौं युवाहरु देश छाडेर विदेश पलायन भइरहेका छन् । अहिले पछिल्लो कालखण्डमा त राज्य सरकार र दलप्रतिको वितृष्णाले गर्दा देशै छोडेर जाने प्रवृति पनि व्यापक रुपले बढिरहेको छ ।

अर्कोतर्फ धर्म निरपेक्षताको आडमा सङ्गठित रुपमा नेपालको धर्म सस्कृतिलाई कमजोर बनाउने विस्थापित गर्ने र विदेशी धर्म सस्कृति, परम्परा स्थापित गर्ने कार्य भइराखेको छ । धर्म परिवर्तनको डढेलोले हाम्रो राष्ट्रको पहिचान र एकताको आधार नै कमजोर भएको छ ।

यसैगरी ०६३ सालयता नेपालमा बाह्य शक्तिको चलखेल तीव्ररुपमा बढेर गएको छ । नेपालका प्रमुख भनिने दल र नेताहरुले राज्यहीत र स्वार्थको सट्टा विदेशीको हित र स्वार्थ सम्बर्धन गर्ने गोटीका रुपमा प्रयोग भइराखेका छन् ।

अर्थतन्त्र दिनप्रतिदिन धरासायी हुँदै गइरहेको छ । लघुवित्त, सहकारी र बैंकको ऋणले गर्दाखेरी आमजनता आक्रान्त भएका छन् । लाखौं जनता घरबारविहीन हुने खतरा देखिइरहेको छ । यी स्बै कुरातर्फ सरकारले ध्यान दिइरहेको छैन । त्यही कारण गर्दा यो भ्रष्ट साशक र भ्रष्ट व्यवस्थाबाट देशलाई मूक्त तुल्याउन अब आन्दोलनबाहेक अन्य कुनै विकल्प छैन भन्ने हाम्रो निष्कर्ष हो ।
अहिले धर्म निरपेक्ष, सङ्घीयता र गणतन्त्रका सवाहकबाट राज्य सत्ता कब्जा गरेका छन् । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएका छन् । यिनीहरुलाई विस्थापित गर्न सजिलो छैन । त्यही कारणले गर्दा हामीले मोर्चा निर्माणको प्रयास गरेका हौं । र, मलाई पूरा विश्वास छ, अहिले जुन प्रकारको वितृष्णा, असन्तुष्टि देखापरेको छ, यो अवस्थामा राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउने हो भने केही महिनाभित्रमा नै हामीले हाल कायम रहेको भ्रष्ट व्यवस्थालाई विस्थापित गर्न सक्दछौ । त्यसका निमित्त सबै राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनु पर्छ ।

हामी प्रयास गरिरहेका छौं, सजिलो छैन । केही राजनीतिक दल र समूहले असन्तुष्टि र आक्रोश व्यक्त गरेपनि एक्लै एक्लै आन्दोलन गरौं भन्ने कुराहरु गरिराख्नु भएको छ । म उहाँहरुलाई के निवेदन गर्न चाहान्छु भने एक्लै एक्लै आन्दोलन गर्ने भनेको प्रकारान्तले घुमाउरो पाराले अहिलेको भ्रष्ट व्यवस्थालाई नै निरन्तरता दिने कार्य हुन्छ । त्यो आत्मघाती हुन्छ । त्यसर्थ एक्लैएक्लै होइन सबै एकजुट भएर आन्दोलन गर्नु पर्छ भन्ने हाम्रो प्रयास छ । स्वयम् राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यो मान्यता लिएको छ ।

यही कारणले गर्दा हामी एक ठाउँ उभिनु पर्छ भनेर हामीले राप्रपा, दुर्गा प्रसाईजी लगायतका व्यक्ति र अन्य समूहसँग पनि सम्वाद गरिराखेका छौं । र, म आशावादी छु कि यो संवादले सार्थकता पाउने छ । र, हामीले वृहद मोर्चा निर्माण गरेर अघि बढ्न सक्छौं भन्ने मलाई लागेको छ ।

- विगतका त्रुटि कमिकमजोरीबाट हामीले पाठ सिकेका छौं । हिन्दू राष्ट्र र राजसस्थाको एजेण्डा बोकेको पार्टी पटकपटक सरकारका गएको जुनसुकै सरकारमा पनि सहभागी भएको जनताले चित्त बुझाएनन् । हाम्रा सहयोगी शुभचिन्तकहरुले चित्त बुझाएनन् । यो वास्तविकतालाई दृष्टिगत गर्दै विगतका कमिकमजोरी र त्रुटिबाट पाठ सिकेर हामीले सत्ता केन्द्रित होइन । सिद्धान्त केन्द्रित पार्टी निर्माण गर्नुपर्दछ । हिन्दू राष्ट्र र राजसस्था पुनर्स्थापित हुने सुनिश्चित नभइकन सरकारमा जानुहुदैन भन्ने मान्यता कायम रहनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ । र, अहिले जुन किसिमबाट जनतामा असन्तुष्टि, आक्रोश प्रमुख राजनीतिक दल र नेताप्रति वितृष्णा देखिएको छ, यो अवस्थामा सबै राष्ट्रवादी शक्ति एक ठाँउमा आउने हो भने परिवर्तन असम्भव छैन ।

र, हामीले फेरि राजसस्थालाई पुनर्स्थापित गर्ने भनेर प्रजातन्त्रलाई कमजोर बनाउन खोजेको होइन । अहिले गणतन्त्रका संवाहकहरु स्वयम् प्रधानमन्त्रीले नै भनिराख्नु भएको छ, फेरि प्रतिगामीहरु सलबलाउन थाले । निरङ्कुश व्यवस्था स्थापित गर्ने प्रयास भइराखेको छ । लोकतन्त्रलाई समाप्त गर्ने कार्य भइराखेको छ भन्ने आरोपहरु लगाइराख्नु भएको छ । यो आरोपमा कुनै सत्यता छैन । यो भ्रमबाट मूक्त हुनका निमित्त सम्पूर्ण देशवासीलाई आग्रह गर्न पनि चाहान्छु ।
हामीले राजसंस्थाको पुनस्थापनाको कुरा गरेर प्रजातन्त्रलाई कमजोर बनाउने प्रयास गरेको होइन । प्रजातन्त्रको विकल्प छैन । निश्चय पनि प्रजातन्त्रको विकल्प भनेको उन्नत प्रजातन्त्र हो । र, हाम्रो दृष्टिकोणमा नेपालको निमित्त उन्नत प्रजातन्त्र भनेकै राजसंस्थासहितको प्रजातन्त्र हो । उहाँहरुले राजाविहीन प्रजातन्त्रको कुरा गरिरहनु भएको छ, जसको अभ्यास हामीले करिब १७ वर्षदेखि गर्दै आएका छौं । त्यसबाट राष्ट्रले कुनै उपलब्धि हासिल गर्न सकेको छैन । राष्ट्रको अस्तित्व नै सङ्कटमा परेको छ ।

त्यसकारणले गर्दा राजाविहीन प्रजातन्त्र होइन, राजसंस्थासहितको प्रजातन्त्र नेपालको निमित्त उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो । वास्तवमा अहिले हाम्रो प्रयासबाट भन्दा पनि गणतन्त्रभित्रको अन्तरविरोध राजनीतिक दलहरुले अवलम्वन गरेको गलत मार्गचित्रको कारणले गर्दा नै गणतन्त्र मक्किंदै गएको छ, धरासयी हुँदै गएको छ ।
स्वयम् गणतन्त्रभित्रकै अन्तरविरोधले गर्दा गणतन्त्र कायम हुनसक्दैन भन्ने तथ्यलाई विगतका घटनाक्रमले प्रमाणित गरिराखेको छ ।
यो अवस्थामा जबरजस्ती सङ्घीय गणतन्त्रलाई कायम राख्नु भनेको देशलाई थप दुर्घटनातर्फ अग्रसर गराउनु हो । सङ्घीयता मुलुकले धान्न सक्दैन भन्ने प्रमाणित भइराखेको छ ।

अहिलेको सङ्घीय संरचना भ्रष्टाचार र राजनीतिक अस्थिरताको अखडा बनेको छ । यो प्रदेश तहको संरचना तत्काल खारेज हुनुपर्छ । यसको कुनै उपयोगिता छैन ।

विगतमा चाहे त्यो भूकम्पका बेलामा होस्, भूकम्पपछिको पुनर्निर्माणका बेलामा होस्, वा कोभिडका बेलामा होस्, केन्द्र र स्थानीय सरकारको प्रभावकारिता रह्यो, यो प्रदेश संरचनाको कुनै भूमिका रहेन । जबकि यो प्रदेश संरचनालाई कायम राख्नका निमित्त राष्ट्रले अर्बौं रुपैयाँको लगानी गरिराखेको छ । यो निरर्थक, बालुवामा पानी हालेको जस्तो भइरहेको छ । त्यसकारण यो प्रदेश संरचना तत्काल खारेज हुनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।

हामीले जुन आन्दोलन गर्न चाहिरहेका छौं, यो आन्दोलन अन्ततगत्वा सहमति र सहकार्यको वातावरण तयार गर्नका निमित्त मद्दत पुर्याउछ भन्ने हामीलाई लाग्छ ।

- हामी एकताप्रति सकारात्मक छौं । तर हाम्रो प्राथमिकता वृहद राष्ट्रिय मोर्चा निर्माण हो ।

- तर दरबार हत्याकाण्डको छानविन गर्नेतर्फ कुनै किसिमको उत्सुकता देखाउनु भएन । र उहाँले त्यसलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्न खोजिरहनु भएको छ । यदि प्रधानमन्त्री इमान्दार हुनुहुन्छ भने आफ्नो बोलिमा पक्का हुनुहुन्छ भने चाँडोभन्दा चाँडो निष्पक्ष, उच्चस्तरीय न्यायिक आयोग गठन गरेर छानविन प्रकृया अगाडि बढाउनुहोस् । यो छानविन प्रकृयाबाट उहाँहरुले जुन किसिमको भ्रम सिर्जना गर्न खोजिरहनु भएको छ, त्यसको पनि अन्त हुन्छ भन्ने हामीलाई लाग्छ । तर मलाई लाग्दैन प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रतिबद्धताअनुसार छानविन समिति अगाडि बढाउनुहुन्छ भन्ने मलाई लाग्दैन । छानविन गराउने उहाँको नियत नै होइन । त्यो केवल भ्रम सिर्जना गर्ने एउटा थप प्रयास हो । त्यसर्थ उहाँसँग हिम्मत छ भने छानविन समिति गठन गर्नुहोस् । र, वास्तविकता छर्लङ्ग पार्नुहोस् । सबैले खोजेकै त्यही हो । भ्रम सिर्जना गरेर, भ्रमको खेती गरेर राजा ज्ञानेन्द्र वा राजसंस्थाप्रति नै लान्छना लगाउने काम बन्द गर्नुहोस् भन्ने आग्रह गर्न चाहान्छु ।

(सुनसरी जिल्ला भ्रमणमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले इटहरीमा आयोजित क्षेत्रीय स्तरको अन्तिम प्रशिक्षणका क्रममा पत्रकार भेटघाटमा अभिव्यक्त धारणा )