स्वायत्त लिम्बुवानको मुद्दालाई प्राज्ञिक विषयका रुपमा उठाउँदै आएको लिम्बू विद्यार्थी मञ्चले चैत्र ६ गतेदेखि १० गतेसम्म 'अस्तित्वको लागि एकता' भन्ने मूल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्ने भएको छ ।

मञ्च स्थापना भएको २५ औं वर्षगाँठ पूरा भएको अवसरमा युप्पा तङ्बे (रजत जयन्ती) को अवसरमा सम्मेलनको उद्घाटन हुनेछ । आइतबार पत्रकार महासङ्घ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले महासम्मेलनबारे जानकारी दिएको हो ।

सोही अवसरमा चैत्र ७ र ८ गते दुई दिने महासम्मेलनमा २२ बढी कार्यपत्र प्रस्तुत हुने मञ्चका उपमहासचिव श्री लिङ्खिमले जानकारी दिए ।

'मातृ भाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, सङ्घीय, लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान' को नारासहित स्थापित मञ्चले सभामा लिम्बु भाषाको इतिहास र लिपिको विकासक्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्क्रम निर्माण र विकासक्रम, किरात धर्म र सस्कार-सँस्कृति, समुदायमा युमा धर्म र दर्शनको प्रभाव, लिम्बुवानको किपट व्यवस्था लगायतको विषयमा बहस गर्ने छ ।

यस्तै भूमि अभिलेखीकरण र अधिग्रहण, लिम्बुवानको मुन्धुमी तथा ऐतिहासिक स्थलको चर्चा, लिम्बुहरुको प्रथाजनित कानुन, संघीयता र जनसंख्याको राजनीति, लिम्बु चलचित्र र साहित्य, मुन्धुममा समाजशास्त्रीय पक्ष, खेलकुद, पत्रकारिता, लिम्बुहरुको शैक्षिक अवस्था, लिम्बुहरुको आर्थिक अवस्थाका बारेमा छलफल हुनेछ ।

राजनीतिक संघर्षको अवस्था, अन्तराष्ट्रिय कानुन र आदिवासी अधिकार, पर्यावरण र जलवायु परिवर्तन, लिम्बुवान आन्दोलन, वर्तमान पहिचानको आन्दोलन, द्वन्द्व शान्ति र विकास, भारतमा रहेका लिम्बुहरुको अवस्था, विश्वको विभिन्न देशमा रहेका लिम्बुहरुको अवस्था, लगायत विभिन्न २२ वटा भन्दा बढी विषयहरुबारे कार्यपत्र प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।

महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्सलगायत विश्वको विभिन्न १७ देश र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने र एक सय जना सभासदस्यहरुको उपस्थिति रहने महासम्मेलन आयोजक समितिका संयोजक नितेश सिङ्घकले जानकारी दिए ।

प्रेस नोट जारी गर्दै मञ्चले 'चैत्र ७ र ८ गते दुई दिन अन्तराष्ट्रिय सभा  हुने र त्यसबारे बृहत रुपमा छलफल हुने' उल्लेख गरेको छ । 'चैत्र ९ गते सम्मान तथा धन्यवादसहित तरेचा कार्यक्रम हुनेछ भने चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुनेछ ।' प्रेस नोटमा भनिएको छ ।

विश्वमा रहेका लिम्बु विद्यार्थीहरुलाई भावनात्मक रुपमा एकीकृत गर्न र याक्थुङ लिम्बुहरुसँग सम्बन्धित विभिन्न पक्षहरुमा बृहत छलफल गरी समुदायलाई एकताबद्ध गर्ने दोस्रो महासम्मेलनको प्रमुख उद्देश्य हुने बताइएको छ ।

युप्पा तड्वेको अवसर पारेर चैत्र ६ गते केःलाङ, येवालाङ, माङलाङ र याःलाङ प्रदर्शन गर्दै विशाल र्यालीसहित सम्मेलनको उदघाटन समारोह सम्पन्न हुनेछ ।

दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा मञ्चका महासचिव प्रदीप नेयोङ, पूर्व केन्द्रीय सचिव अमित थेवे, पूर्व केन्द्रीय सल्लाहकार हर्ष सुब्बा, सुनसरी जिल्ला अध्यक्ष विनिता मादेनलगायतको उपस्थिति थियो ।