भद्रपुर । झापाले पर्यटनको पूर्वाधारमा व्यापक लगानी गरेको छ । यसले आगामी दिनमा झापाको पर्यटन व्यवसायले फड्को मार्ने पर्यटन व्यवसायीहरू बताउँछन् । तर केही पर्यटन व्यवसायीले स्थानीय सरकारको ‘मुड’मा लगानी भइरहेकाले पर्यटन व्यवसायले दिगो हुनेमा आशङ्का व्यक्त गर्छन् ।

जिल्लामा धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीय क्षेत्रहरूमा स्थानीय तहले लगानी गरेका छन् । तर, पूर्वाधारमा जुन लगानी भएको छ त्यो लगानी पर्यटनको दिगो विकासका लागि लगानी नभएको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन व्यवसायी वासु बरालका अनुसार स्थानीय तहले पूर्वाधारमा लगानी गरेको जस्तो देखिए पनि ‘मुड’ का भरमा काम गर्दा त्यसले पर्यटनको दिगो विकास हुन सकेको छैन । ‘योजनापूर्ण ढङ्गले मास्टरप्लान बनाएर काम गरिएको छैन । अध्ययन भएन । यो कामले यति मान्छे आउँछन्, हाम्रो टार्गेट ग्रुप यो हो भन्ने भएन’ उनले फोनसम्पर्कमा भने, ‘जे जे बनेका छन् । त्यो भिजिटरका लागि बनेका छन् । टुरिस्टलाई आकर्षण गर्ने खालको केही पनि बनेको छैन । भिजिटरबाट लगानीअनुसारको प्रतिफल आउँदैन ।’ स्थानीय तहले पर्यटनको क्षेत्रमा लगानी गर्दा विदेशी पर्यटकलाई लक्षित गरी लगानी गर्नुपर्ने पर्यटन व्यवसायी निरकुमार कार्की बताउँछन् ।

जिल्लाका स्थानीय तहको तथ्याङ्कमा अर्जुनधाराधाम, सताक्षीधाम, कनकाईधाम, जामुनखाडी सिमसार, किचकबध, कचनकवलस्तम्भ, पाउ पाथीभरा, भेलागढी सिमसार, कृष्ण थुम्की, सुखानी पार्क तथा सालबारी, दमक भ्युटावर, चन्द्रगढ, विराट पोखरी, दोमुखा, बाँसबारी हुन् । त्यस्तै पर्यापर्यटनमा पनि उस्तै गरी लगानी भइरहेको छ । कतिपय स्थानमा निजी क्षेत्रले पनि लगानी गरी पर्यटन पूर्वाधार निर्माण गरिरहेका छन् ।

कहाँ कति लगानी ?
नेपालकै होचो भू–भाग झापाको कचनकवल गाउँपालिकाले कचनकवल स्तम्भ निर्माण गरेको छ । गाउँपालिकाले २० करोड रूपैयाँको लागत अनुमानसहित पाँच वर्षे गुरूयोजना बनाई काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । जहाँ हाल माछाको आकृति बनाई कछुवाको माथि स्तम्भ निर्माण गरिएको छ । उपाध्यक्ष भट्टराईका अनुसार कचनकवल स्तम्भ समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको छ । यहाँ २०४४ साल पुस १६ गते तत्कालीन राजा वीरेन्द्र शाहले पोखरीको जमिनलाई घेरी कछुवा आकृतिको जगमा स्तम्भ निर्माण गराएका थिए । सोही कछुवा आकृतिको जगमा अहिले माछाको आकृति थपिएको छ । यस्तै दमकमा राष्ट्रिय गौरवको परियोजना भन्दै दमक भ्युटावर निर्माणको क्रममा छ । २०७६ असार २७ गतेबाट सुरू भएको भ्युटावर ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । जसमा एक अर्ब ३८ करोड १८ लाख पाँच सय ६९ रूपैयाँमा सम्झौता भएको छ । चिनियाँ कम्पनी सीजीआईईसी र आशिष–ओमसाइराम जेभीको साझेदारीमा निर्माण भइरहेको हो । सम्झौताअनुसारको बजेटमा नौ प्रतिशत थप भई कुल लागत भ्याटबाहेक एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रूपैयाँ रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले बताएको छ ।

पर्यटक झन् घटे
कोरोना अघिसम्म झापामा विदेशी पर्यटक वार्षिक १० हजारको सङ्ख्यामा आउने गरेका थिए । कोरोनापछि हाल दुईदेखि तीन हजारको हाराहारीमा मात्रै भित्रिने गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराई बताउँछन् । ‘तेस्रो मुलुकका पर्यटन आउने अवस्था नभएकाले यो सङ्ख्या घटेको हो’–उनले भने । यता आन्तरिक पर्यटकको भने कुनै हिसाब छैन । पर्यटन व्यवसायी निरकुमार कार्कीले तेस्रो मुलुकबाट आउने पर्यटकलाई प्रवेश निषेध गरेका कारण पर्यटन क्षेत्र धरासायी बनेको दाबी गरे ।

गुरुयोजना नै अलपत्र
झापाको भद्रपुर–३ र ४ वडामा पर्ने महाभारतकालीन ऐतिहासिक स्थल किचकबधलाई पर्यटकीय पूर्वाधार निर्माण गर्न स्थानीय तहले १० वर्षे गुरूयोजना सार्वजनिक गरेको थियो । अहिले उक्त गुरूयोजना अलपत्र छ । महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रुपमाथि कुदृष्टि राख्ने सेनापति रहेका विराट राजाका सालो किचकलाई भीमसेनले मुड्क्याएर मारेका थिए । सोही किंवदन्तीअनुसार उक्त ठाउँको नाम किचकबध राखिएको थियो । स्थानीय सरकारले किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण गरेको थियो । यहाँ हरेक वर्ष माघ शुक्ल पूर्णिमा र स्वस्थानी ब्रतका बेला मेला लाग्दै आएको छ । सरकारले १० वर्षे गुरूयोजना बनाए पनि हाल ओझेलमा छ ।