विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति (का.स.) को बैठक अनिश्चित बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शनिबार नै का.स. को बैठक राख्न निर्देशन दिए पनि कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले काठमाडौंस्थित प्रतिष्ठानको सम्पर्क कार्यालयमा बैठक बस्ने अडान राखेपश्चात् बैठक बस्न सकेको छैन भने कहिले बस्ने भन्ने पनि निश्चित छैन । तर, काठमाडौंमा नै बस्ने भनिएको बैठकको कार्यसूचीमा शिक्षक, कर्मचारीको पदोन्नतिको प्रस्ताव नै नरहेको आन्दोलनरत पक्षले जनाएको छ ।

का.मु.उपकुलपति प्रा.डा. कार्कीले बैठकको कार्यसूचीमा कार्यकारिणी सदस्य स्वागत, विभागीय प्रमुख जिम्मेवारी अनुमोदन, निर्णय सञ्चालक परिषद्मा पेस, प्रतिष्ठानको प्रस्तावित नियमावली आवश्यक परेमा संशोधन सम्बन्धमा र विज्ञापन सम्बन्धमा प्रस्ताव राखेका थिए । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सूर्यप्रसाद सङ्ग्रौला भन्छन्, ‘विज्ञापन सम्बन्धमा भनिएको छ । त्यही हो अलि बृहत्रूपमा हेर्ने भन्ने होला ।’

प्रतिष्ठानका चिकित्सक कर्मचारीको आकस्मिकबाहेक सेवा बहिष्कारले सेवाग्राहीले सास्ती पाइरहेका छन् भने अर्कातर्फ प्रतिष्ठानले दैनिक लाखौँ आम्दानी गुमाइरहेको छ । तर, का.मु उपकुलपति कार्की प्रतिष्ठानका शिक्षक कर्मचारीको मागभन्दा आफ्नो अनुकूलका विभागीय प्रमुखको जिम्मेवारी अनुमोदन गर्न आतुर देखिएको भन्दै आन्दोलनकारीले असन्तुष्टि जनाएका छन् ।

प्रा.डा. कार्कीले तोकेका विभागीय प्रमुखको अनुमोदन गर्ने प्रस्ताव कार्यसूचीको प्राथमिकतामा राखिएको छ । विभागीय प्रमुखको हेरफेर तथा जिम्मेवारी सम्बन्धमा पनि कार्यकारिणी समितिले गर्नुपर्ने प्रतिष्ठानको नियमावलीको प्रावधान छ । तर, का.मु. उपकुलपति कार्कीले आफूखुसी विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको आरोप छ । रजिष्ट्रार डा. सङ्ग्रौलाले भने, ‘विभागीय प्रमुखको जिम्मेवारी हेरफेर नै त्रुटीपूर्ण छ । तर, त्योभन्दा पहिले जटिल समस्या समाधान गरौँ भन्नेमा छौँ । त्यसपश्चात् विभागीय प्रमुखका विषयमा छलफल गर्दा पनि हुन्छ ।’

प्रतिष्ठानको नियमावलीअनुसार का.स.को बैठक बसेको तीन हप्तामा सिनेट बैठक बस्ने कानूनी प्रावधान छ । तर, प्रतिष्ठानको समस्या समाधान गर्नका लागि चाँडै पनि बस्न सकिन्छ । ‘आकस्मिक अवस्थामा सिनेट ७ दिनमा बस्न सकिन्छ’–रजिष्ट्रार सङ्ग्रौलाले भने । तर, न त शनिबारका लागि तय गरेको बैठक बस्न सक्यो, न त सिनेट बैठक बस्ने मिति नै तय भएको छ । यसले प्रतिष्ठानको समस्या झनै जटिल बन्दै गएको छ । २०८० पुस २५ गते कार्यकारिणी समितिको बैठक बोलाएर का.मु. उपकुलपति प्रा.डा. कार्की अनुपस्थित बनेपछि त्यसको भोलिपल्ट पदाधिकारी काठमाडौँ लागे । पदाधिकारीसँगै धरानका राजनीतिक दलको प्रतिनिधिको टोली पनि काठमाडौँ पुग्यो । प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य सङ्ग्रौलाका अनुसार स्वास्थ्यमन्त्री बस्नेतसहित मन्त्रालयका सचिवसँग प्रतिष्ठानका पदाधिकारी तथा राजनीतिक दलका प्रतिनिधिले छलफल गरेका थिए । स्वास्थ्यमन्त्रीले दुई दिनभित्र कार्यकारिणी समितिको बैठक राखी समस्या समाधान गर्न निर्देशन दिएका थिए । रजिष्ट्रार डा. सङ्ग्रौलाले भने, ‘मन्त्रीसँग भेट्यौँ । का.स. बसेर समाधान गर्न निर्देशन दिनुभयो । त्यसपश्चात् सचिवसँग भेट्यौँ । सचिवले चारै जना पदाधिकारीको सामुन्नेमा लोकसेवा आयोगसँग सम्पर्क गर्नुभयो । उहाँले पनि का.स. को बैठक बसेर समस्या समाधान र सिनेटको बैठक पनि राख्नू भन्नुभयो ।’ मन्त्री बस्नेत र सचिवको निर्देशनअनुरूप शनिबार का.स.को बैठक तय गरिएको थियो । तर, प्रतिष्ठानका रजिष्ट्रार डा. सङ्ग्रौला र रेक्टर डा. सञ्जीव शर्मा धरान आइसकेका थिए । किनकि त्यसअघिसम्म धरानमा नै बैठक बस्ने भन्ने थियो ।

काठमाडौंमा का.स. को बैठक बस्ने भनेपश्चात् प्रतिष्ठानका आन्दोलनरत शिक्षक, कर्मचारीले डा. सङ्ग्रौला र डा. शर्मालाई जान दिएनन्, प्रतिष्ठानमा धर्ना दिएर रोके । गाडीको चाबीसमेत आन्दोलनरत पक्षले लगेको डा. सङ्ग्रौलाको भनाइ छ । प्रतिष्ठानमा आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले का.स. को बैठक प्रतिष्ठानको मुख्य कार्यालय धरानमा नै राख्नुपर्ने र आफूहरूलाई पनि बैठकमा आमन्त्रण गर्नुपर्ने माग राखेका छन् । रजिष्ट्रार सङ्ग्रौलाले भने, ‘पदोन्नतिको समस्या र सिनेट बैठक पहिलो प्राथमिकता हो । यति भए प्रतिष्ठानको तत्कालको गाँठो फुक्छ । अन्य छलफल पछि हुन्छ ।’ उनले प्रतिष्ठानका शिक्षक कर्मचारीको माग धरानमा नै बस्नुपर्ने र बैठक बस्नका लागि लिखित निर्देशन मागेको बताएका छन् । सिनेट बैठक र पदोन्नतिका लागि वार्ताको मिति तोक्ने बित्तिकै तत्कालको समस्या समाधान हुने रजिष्ट्रार डा. सङ्ग्रौलाको भनाइ छ ।

प्रतिष्ठान कर्मचारीको १६ वर्ष र शिक्षकको ६ वर्षदेखि पदोन्नति भएको छैन । २०७९ पुस २० गते र २५ गते आन्तरिक बढुवाका लागि सूचना प्रकाशित गरी प्रक्रिया अघि बढेको थियो । २०८० असार ५ गते प्रतिष्ठानको का.मु. उपकुलपतिमा प्रा.डा. कार्की नियुक्त भएपछि बढुवा प्रक्रिया रोकिएको थियो । त्यसपछि आन्दोलित शिक्षक कर्मचारीसँग २०८० कात्तिक २० गते एउटा सहमति भएको थियोे । प्रतिष्ठानको पदाधिकारी र आन्दोलनरत शिक्षक, कर्मचारीबीच २०८० पुस २ गतेदेखि अन्तरवार्ता सुरु गर्ने सहमति भयो । तर, प्रक्रिया अघि बढेन । त्यसपछि कर्मचारी र शिक्षकले पुनः आन्दोलन चर्काएपछि पुस २९ गतेदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।