सङ्खुवासभाको पाँचखपन घर भएकी १८ वर्षीया सीता कार्की (नाम परिवर्तन) रोजगारको लागि तराई झरिन् । उनी साथीसँग सुनसरीको इटहरी आइन् ।

सामान्य लेखपढ गरेकी सीताले इटहरीको एक होटलमा काम गर्न थालिन् । काम राम्रै चलेको थियो । त्यही क्रममा होटलमा आउने ग्राहकसँग उनको प्रेमसम्बन्ध रह्यो । लामो समयसम्म प्रेममा रहेका उनीहरूबीच शारीरिक सम्पर्कबाट गर्भ बस्यो ।

समाजमा बेइजत हुने डरले अनिच्छित गर्भ पतन गराउने निर्णायमा पुगिन् । गर्भपतनका लागि औषधि पाइन्छ भन्ने सुनेकी उनले औषधि लिन नजिकको मेडिकल पसलमा पुगिन् । चिकित्सकको सिफारिस विना मेडिकलबाट औषधि किनेर सिधै प्रयोगमा ल्याउँदा उनको स्वास्थ्यमा समस्या आयो । औषधि सेवन गरेको केही घण्टापछि रक्तस्राव हुन थाल्यो । गर्भपतन भयो भनेर उनी ढुक्क भइन् । तर, लामो समयसम्म रक्तस्राव रोकिएन । कमजोरी महसुस हुँदै गयो ।

अत्यधिक रक्तस्रावले ज्वरो, रगतमा हेमोग्लोबिन र आइरनको कमी भएपछि असार १५ गते विराट मेडिकल कलेजमा पुगिन् । अस्पताल पुग्दा धेरै ढिलो भएर उनको अत्यधिक रक्तस्राव भएर हेमोग्लोविनको मात्रा एकदमै कम थियो । अत्यधिक रक्तस्राव भएर पुगेकी उनको एक घण्टा नपुग्दै मृत्यु भयो । अस्पतालका अनुसार उनले गर्भ पतन गराउने औषधि जथाभावी सेवन गरेकी थिइन् ।

प्रेमका नाममा विहेअगावै शारीरिक सम्पर्क राख्ने र प्रेमीले धोका दिएपछि चिकित्सकको सिफारिस विना आफूखुसी असुरक्षित तरिकाले गर्भपतन गराउने प्रवृत्तिका कारण महिलाको ज्यान जाने गरेको छ । यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन् ।

चिकित्सकका अनुसार बिहेअघिको शारीरिक सम्बन्धले समाजमा बदनाम हुने, पारिवारिक र सामाजिक बहिष्कारमा पर्ने डरले लुकीछिपी असुरक्षित गर्भपतन गराउँदा ज्यानै जोखिममा पर्छ । बिहेअघिको सम्बन्धबाट रहेको गर्भ पतन गराउन मेडिकल पसलबाट जथाभावी औषधि किनेर खाने प्रवृत्ति पनि बढेको छ ।

तेह्रथुम म्याङ्लुङ नगरपालिका घर भई मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बहिनीको घरमा बस्दै आएकी ३७ वर्षीया रीमा राई (नाम परिवर्तन) को गाउँकै एक जना युवासँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरूबीचको प्रेम सम्बन्ध दरिलो हुँदै गयो । रीमा गर्भवती भएपछि ती युवा विस्तारै टाढिँदै गए । प्रेमीले धोका दिएपछि रीमा गर्भपतन गराउन बाध्य भइन् ।  उनले ८ मङ्सिर २०८० मा गाउँमै रहेको मेडिकलबाट गर्भपतन गराउने औषधि ल्याएर खाइन् ।

औषधि सेवन गरेको केही घण्टापछि रक्तस्राव हुन थाल्यो ।  गर्भपतन भयो भनेर उनी ढुक्क भइन् । तर, लामो समयसम्म रक्तस्राव रोकिएन । कमजोरी महसुस हुँदै गयो । उनी भित्रभित्रै डराउन थालिन्, चिन्तित भइन् र कोठामा बेहोस अवस्थामा उनकी बहिनीले भेटिन् । हतार–हतार उनलाई बेलबारीस्थित नोबेल सामुदायिक हस्पिटलमा पुर्याइयो । त्यहाँ उपचार सम्भव नहुने बताएपछि तत्काल बूढीगङ्गा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा पुर्याए । त्यहाँ पुर्याएको केही घण्टामा उनको मृत्यु भयो ।

अनिच्छित गर्भ पतन गर्न प्रयोग हुने औषधि हचुवाको भरमा चिकित्सकको सिफारिस विना बिक्री गर्दा महिलाको स्वास्थ्य अवस्था जोखिममात्र भएको छैन, ज्यानसमेत गएको छ । सहरदेखि गाउँसम्म झाँगिएको अवैध धन्दाले गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

कतिपय महिला मृत्युको मुखमा पुगेका छन् । ठीक समयमा उचित तरिकाले  औषधि प्रयोग गर्न नजान्दा यसले नकारात्मक असर गर्छ । यसलाई मेडिकल भाषामा ‘इन्कम्प्लिट एवर्सन’ भनिन्छ । ‘गाउँ–सहर जताततै हचुवाको भरमा यति संवेदनशील औषधि खुलेआम बिक्री भइरहेको छ’ कोशी अस्पतालको गाइनो वार्डका प्रमुख स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जु देवले भनिन्, ‘मनपरी औषधि सेवनले जटिल समस्या निम्त्याएपछि उनीहरू अस्पताल आइपुग्छन् ।’

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा ‘इन्कम्प्लिट एवर्सन’ भएर आएका बिरामीको सङ्ख्या हेर्दा पनि औषधिको दुरुपयोगले महिलालाई कसरी गाँजेको छ भन्ने प्रष्ट हुन्छ । चालु आर्थिक वर्षमा एक दर्जन बढी महिलाको असुरक्षित गर्भपतन गरेपछि स्वास्थ्य समस्या लिएर कोशी अस्पतालमा आएको यहाँका चिकित्सक बताउँछन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था, निजी अस्पताल र मेडिकलमा पुग्नेको सङ्ख्या योभन्दा धेरै गुणा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

कोशी अस्पतालको गाइनो वार्डका प्रमुख डा. देवका अनुसार यसरी आउने बिरामीमा अत्यधिक रक्तस्राव र पाठेघर सङ्क्रमणको समस्या बढी हुन्छ । ‘सही तरिकाले प्रयोग गर्ने हो भने त औषधिले समस्या निम्त्याउँदैन, प्रभावकारिता पनि राम्रै हुन्छ’ उनले भनिन्, ‘तर, यो औषधिलाई मेडिकलहरूले जथाभावी बेच्दा नकारात्मक असर देखिएको छ ।’

चिकित्सकको ‘प्रेस्क्रिप्सन’ विना बेच्न नमिल्ने यो औषधि सहरदेखि गाउँसम्म झाँगिएका मेडिकलमा खुलेआम बेचिन्छ । त्यसैले मेडिकल सञ्चालकले बिरामीको स्वास्थ्य परीक्षण र गर्भवती जाँच नगरिकनै औषधि दिन्छन् । औषधि प्रयोग गर्ने तरिका र यसको प्रभावबारे राम्ररी बुझाउने फुर्सद उनीहरूसँग हुँदैन । यसले गर्दा गलत तरिकाले औषधि सेवन गरेका गर्भवती महिला मृत्युवरण गर्न पुग्छन् ।

खुलमखुला चलिरहेको अवैध धन्दामा औषधिको मूल्य पनि मनोमानी छ । मेडिकलले गर्भ पतन गराउने औषधिको एक हजारदेखि दुई हजार रुपैयाँसम्म लिन्छन् । यसको खास मूल्य भने करिब ८ सयमात्र हो । स्वास्थ्य मन्त्रालय भने यो औषधि प्रयोगको लागि नीतिगत व्यवस्था भए पनि कार्यान्वयनमा चुनौती भएको बताउँछ ।

मन्त्रालयअन्तर्गत परिवार महाशाखाका अनुसार सुरक्षित गर्भपतन निर्देशिकामा चिकित्सकको ‘पे्रस्क्रिप्सन’ र तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थिति विना उक्त औषधि दिन मिल्दैन । औषधि पसल सञ्चालनका लागि दिइने अनुमति–पत्र (लाइसेन्स) मा समेत मेडिकलले चिकित्सकको ‘प्रेस्क्रिप्सन’ विना यो औषधि बेच्न नमिल्ने उल्लेख गरिएको हुन्छ । कानूनी रूपमा स्पष्ट भए पनि यो औषधिको अवैध कारोबार हुनाले ठूलो चुनौती बनेको मन्त्रालयको भनाइ छ ।

चेतनाको कमी
गर्भपतन रहरले गराउने होइन । यसका पछाडि विभिन्न बाध्यता हुने गरेको चिकित्सक बताउँछन् । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तिने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । कसैका बच्चा सानो भएको, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठुला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

गर्भपतन गराउने केही विधि प्रचलित छन् । ती सुरक्षित विधि हुन् । अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सक सुझाउँछन् । असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी पनि भएको चिकित्सक बताउँछन् ।

‘सहरमा आफूखुसी पसलबाट किनेर गर्भपतन गर्ने पिल्सको व्यापक दुरुपयोग भइरहेको छ’ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर बालकृष्ण साह भन्छन्, ‘यसले अत्यधिक रक्तस्राव मात्र नभएर पाठेघर फुट्नेजस्ता ज्यान जोखिममा पर्ने घटनाहरू बढ्दो छ ।’ सहरदेखि गाउँ सबैजसो स्थानका औषधि पसलहरूमा जुनसुकै उमेर समूहका, जोसुकैले पैसा तिरेपछि चिकित्सकीय पुर्जाविना पाउने किसिमले गर्भपतनका औषधिहरूको खुलेआम बिक्री वितरण भइरहेको छ । चिकित्सकको पुर्जाविना यस्ता औषधि बिक्री वितरण गर्नेलाई हाम्रो मुलुकको कानूनअनुसार न्यूनतम् पाँच वर्ष कैद र जरिबाना वा दुवै सजाय हुनसक्छ ।

के छ कानूनमा ?
गर्भपतन सेवा लिन कानूनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । यस्तै सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको परिच्छेद ४ मा सुरक्षित गर्भपतनसम्बन्धी विभिन्न व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउँछन् ।

यो ऐनले २८ हप्तासम्मको गर्भ पनि गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ । जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा, भू्रणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भू्रणमा खराबी रहेको, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था भएमा मात्र २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन ऐनले स्वीकृति दिएको छ । यस ऐनले बलपूर्वक गराउने गर्भपतन र लिङ्ग पहिचान गरी हुने गर्भपतनलाई अपराध मानेको छ ।

के छ सजाय ?

मुलुकी अपराध संहिता ऐनले गैरकानूनी रूपमा या असुरक्षित गर्भपतन गर्ने र गराउनेलाई सजायको व्यवस्था गरेको छ ।

गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउँछन् । तर, महिलाको मञ्जुरी विना जबरजस्ती  १२ हप्तासम्मको गर्भपतन गरे १० हजार रुपैयाँ जरिबाना र एक वर्षको जेल सजाय हुने कानूनी व्यवस्था छ ।

यसैगरी २५ हप्तासम्मको गर्भपतन गरे ३० हजार जरिबाना र तीन वर्षको जेल, २५ हप्ताभन्दा माथिको गर्भपतन गरे ५० हजार जरिबाना र ५ वर्षको जेल सजाय यस ऐनले तोकेको छ । गर्भमा भएको भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेलाई ऐनले झन् बढी सजाय तोकेको छ ।

ऐनमा उल्लेख छ– ‘गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भू्रणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्ष कैद हुनेछ ।’