पूर्वको रेफरल सेन्टर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी तथा वार्डका बिरामीलाई सुविधा दिन अलग्गै बिल काउन्टर सञ्चालन गरेको छ । 

वार्ड तथा जेनेरल ओपिडीका बिरामीका लागि एकै स्थानमा बिल काउन्टर हुँदा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । प्रतिष्ठानले करिब ६ महिना अगाडिबाट ‘इन्डोर बिल काउन्टर’ को व्यवस्था गरेको हो । धरान–१७ बाट डायलाइसिस गर्न आएकी विमला लिम्बूले वार्ड र ओपिडीको लागि छुट्टाछुट्टै बिल काउन्टर बनाएपछि सहज भएको सुनाइन् ।

‘बिल काउन्टर थपेर उपचारमा निकै सजिलो भएको छ’–उनले भनिन् । बीपीमा कोशी प्रदेश, मधेश प्रदेश र भारतको बिहार क्षेत्रका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । ओपिडीमा दैनिक दुईदेखि तीन हजारको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । वार्डमा पनि बिरामीहरूको चाप उस्तै हुने गरेको छ । बिल काउन्टर सीमित हुँदा बिरामीका आफन्तले सास्ती पाउने गरेका थिए । 

वार्डमा भर्ना भएका र भिडियो एक्स–रे गर्ने बिरामीको लागि छुट्टाछुट्टै बिल काउन्टर रहेको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेलले बिरामीको चाप बढी हुने हुँदा बिल काउन्टरमा लामो लाइन हुने समस्यालाई मध्यनजर गरेर बिल काउन्टर थप गरिएको बताए । विभाजन गर्दा चाँडो सेवा लिन सक्ने र झन्झटिलो नहोस् भनेर नै बिल काउन्टर थपिएको उनले बताए । ‘सकेसम्म बिमारीलाई कसरी छिटो छरितो तरिकाले उपचार सेवा दिन सकिन्छ भनेर प्रतिष्ठान निरन्तर लागिपरेको छ’ –उनले भने । 

वार्डका लागि अलग्गै बिल काउन्टर हुँदा धेरै नै सहज भएको सिरहा जिल्लाबाट प्रतिष्ठानमा उपचार गराउन आएका रविनकुमार यादवले बताए । उनले भने, ‘एक ठाउँ मात्रै बिल काउन्टर हुँदा माथ्लो र तल्लो बिल्डिङ घुम्दाघुम्दै समय जान्थ्यो । त्यहाँ पुग्दा लामो लाइन बस्नु पथ्र्यो । कम्तीमा त्यो समस्या अहिले छैन ।’

त्यस्तै नशाको उपचार गर्न सुनसरीको इनरुवाबाट आएकी ५९ वर्षीया कर्णकुमारी अधिकारीले बिल काउन्टर थपिँदा जेनेरल ओपीडीमा घन्टौँसम्म लाइन बस्नुपर्ने समस्या हटेको बताइन् । उनले टोकन सिस्टमले गर्दा पनि झन्झट हटेको बताइन् । ओपिडीमा टोकन वितरण गर्दै आएकी कर्मचारी सीता तिमल्सिनाले भनिन्, ‘टोकन सिस्टम लागू भएदेखि बिरामीको घुइँचो कम भएको छ । टोकनअनुसार बिल काट्दा कसैले लाइन बस्नु पर्दैन । कर्मचारीलाई पनि सहज भएको छ ।’

अहिले रेडियोलोजी विभागमा पनि छुट्टै बिल काउन्टर राखिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. जगतनारायण प्रसादले बिरामीलाई मिति लिएर मात्रै अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) र सिटी स्क्यान गर्नुपर्ने भएकाले बिरामीलाई सहज होस् भन्नका लागि छुट्टै बिल काउन्टर राखिदिएको बताए । ‘अल्ट्रा साउन्ड र सिटी स्क्यानको डेट लिएर आउनुस् भनेर भन्ने चलन थियो । त्यसले गर्दा बिरामीका कुरुवालाई तल–माथि गर्नुपथ्र्यो । सहज होस् भन्नका लागि त्यहीँ नै सेवा दिएका हौँ’ उनले फोन सम्पर्कमा भने, ‘त्यहीँ डेट दिन्छ, त्यहीँ बिल काटिन्छ ।’

वार्डमा भर्ना भएका बिरामीलाई बिहान ७ बजेदेखि रातिको ९ बजेसम्म सेवा दिने गरेको इन्डोर बिल काउन्टरकी कर्मचारी रेजिना लिम्बूले बताइन् । गत मङ्सिर २० गतेबाट जेनेरल ओपिडीको बिल काउन्टरमा पनि टोकन सिस्टम लागू गरिएको छ । यसले गर्दा जेनेरल ओपिडीको बिल काउन्टरमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ । प्रतिष्ठानमा आकस्मिक कक्ष, जेनेरल ओपिडी र प्रसूति विभागमा मात्रै बिल काउन्टर रहेको थियो ।