विजयपुर । नेपालमा दादुरा रुबेला रोग उन्मूलनमा चुनौती देखिएको छ । नेपाल सरकार नीतिअनुरूप दादुरा रोग निवारणका लागि सबै तह (जिल्ला र पालिका) मा खोपको पहिलो र दोस्रो मात्रा कम्तिमा ९५ प्रतिशत पुग्नुपर्ने स्वास्थ्य निर्देशनालयका अधिकारीले बताएका छन् । 

स्वास्थ्य निर्देशनालय धनकुटा, कोशी प्रदेशका खोप अधिकृत भरत भण्डारीले भने, ‘सबै तह (जिल्ला स्थानीय तह, वडा) मा कम्तिमा ९५ प्रतिशत पुगेको एकिन हुनुपर्छ ।’ तर कोशी प्रदेशका प्रायः जिल्ला स्थानीय तहमा ७० प्रतिशतदेखि ९० प्रतिशत मात्र प्रगति विवरण निर्देशनालयको तथ्याङ्कले देखाएको छ । ‘प्रदेश तहमा ९० प्रतिशत मात्र, कतिपय जिल्लामा ८० प्रतिशतभन्दा कम र कतिपय पालिकामा ७० देखि ८० प्रतिशत मात्र खोप पुगेको छ ।’ निर्देशनालयका खोप अधिकृत भण्डारीले भने, ‘यो अवस्थामा कोशी प्रदेशमा दादुरा निवारणमा चुनौती देखिएको छ ।’ कोशी प्रदेशमा खोपको पहिलो मात्रा ९२.१ प्रतिशत प्रगति विवरण छ भने दोस्रो मात्रामा ८७ प्रतिशत मात्र प्रगति विवरण रहेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

  निर्देशनालयको तथ्याङ्कले मोरङ जिल्लामा सबैभन्दा बढी प्रगति विवरण धनपालथान गाउँपालिकाको एक सय २ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रगति विरणमा जहदा गाउँपालिकाको ६८ प्रतिशत मात्र रहेको छ । मोरङका १८ स्थानीय तहमा ४ स्थानीय तहले मात्रै न्यूनतम् प्रगति गरेका छन् । सुनसरी जिल्लामा सबैभन्दा बढी बर्जु गाउँपालिकाको १ सय १४ प्रतिशत प्रगति विवरण छ भने सबैभन्दा कम ५७ प्रतिशत हरिनगर गाउँपालिकाको छ । सुनसरीका १२ स्थानीय तहमा २ स्थानीय तहले न्यूनतम् प्रगति विवरण प्राप्त गरेका छन् ।

यस्तै कोशी प्रदेशका १४ जिल्लामा दादुरा खोपको दुवै मात्राको प्रगति विवरण न्यून रहेको तथ्याङ्कले देखाएको छ । दादुरा खोपको तेह्रथुम जिल्लामा पहिलो मात्रा ८१.५ प्रतिशत प्रगति विवरण छ  भने दोस्रोमा मात्रामा ८२.१ प्रतिशत प्रगति छ । सङ्खुवासभा जिल्लाको पहिलो मात्रा ७२.९ प्रतिशत प्रगति छ भने दोस्रो मात्रा ७१.७ प्रतिशत रहेको छ । सोलुखुम्बु जिल्लामा खोपको पहिलो मात्रा ८०.१ प्रतिशत प्रगति छ भने दोस्रो मात्रा ७३.८ प्रतिशत रहेको छ । ओखलढुङ्गा जिल्लामा खोपको पहिलो मात्रा ६५.५ प्रतिशत प्रगति छ भने दोस्रो मात्राको ६३.८ प्रतिशत रहेको छ । खोटाङका जिल्लामा खोपको पहिलो मात्रा ७५ प्रतिशत छ भने दोस्रो मात्रामा ७४.३ प्रतिशत प्रगति रहेको छ । भोजपुर जिल्लामा खोपको पहिलो मात्रामा ८०.४ प्रतिशत प्रगति छ भने दोस्रोमा ८१.३ प्रतिशत प्रगति निर्देशनालयको तथ्याङ्कले देखाएको छ । धनकुटा जिल्लामा खोपको पहिलो मात्रामा ६९.५ प्रतिशत प्रगति छ भने दोस्रो मात्रामा ६६.७ प्रतिशत प्रगति छ । तेह्रथुम जिल्लामा खोपको पहिलो मात्रामा ८०.६ प्रतिशत प्रगति छ भने दोस्रो मात्रामा ८३ प्रतिशत प्रगति छ । पाँचथर जिल्लामा खोपको पहिलो मात्रामा ९१.९ प्रतिशत प्रगति छ भने दोस्रो मात्रामा ९१.६ प्रतिशत प्रगति छ । इलाम जिल्लामा खोपको पहिलो मात्रामा ९४.८ प्रतिशत प्रगति छ भने दोस्रो मात्रामा ९१.१ प्रतिशत छ । झापा जिल्लामा खोपको पहिलो मात्रामा १०४.७ प्रतिशत प्रगति छ भने दोस्रो मात्रामा ९८.८ प्रतिशत मात्र प्रगति विवरण छ ।

मोरङ जिल्लामा खोपको पहिलो मात्रामा ९९ प्रतिशत प्रगति छ भने दोस्रो मात्रामा ९१.२ प्रतिशत प्रगति विवरण निर्देशनालको तथ्याङ्कले देखाएको छ । सुनसरी जिल्लामा खोपको पहिलो मात्रामा ९७.६ प्रतिशत प्रगति विवरण छ भने दोस्रो मात्रामा ८९ प्रतिशत मात्र छ । उदयपुर जिल्लामा खोपको पहिलो मात्रामा ८१.४ प्रतिशत प्रगति विवरण छ भने दोस्रो मात्रामा ७८.८ प्रतिशत मात्र रहेको छ । दादुरा उन्मूलनमा सरकारले लामो समयदेखि ठूलो मात्रामा लगानी गरे तापनि रोग निवारण हुन सकेको छैन ।

पछिल्लो समय सरकारले सन् २०१९ मा दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको थियो । सन् २०१९ मा पनि निवारण नभएपछि सरकारले सन् २०२३ दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो । यसमा पनि निवारण असम्भव भएपछि सरकारले २०२६ मा नेपालमा दादुरा रोग निवारणको लक्ष्य राखेको छ । हाल विभिन्न पालिकामा दादुरा रुबेला उन्मूलनका लागि अभियान सञ्चालन भइरहेका छन् । अभियान सञ्चालन गरे पनि सरोकारवाला पक्ष गम्भीररूपमा नलागे रोग निवारण हुन चुनौती देखिएको छ । स्थानीय तहले खोप सुनिश्चित गर्ने कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्नुपर्छ ।

प्रदेश सरकारले अनुगमन, सहजीकरण र सुपरीवेक्षण प्रभावकारी गर्नुपर्ने देखिन्छ । बालबालिकाले सबै खोप प्राप्त गरेको एकिन गर्ने जिम्मा पनि स्थानीय तहको हुने अधिकारीले बताए । ‘नेपाल सरकारको ठूलो लगानी रहेको दादुरा खोप पुर्ण भएको प्रतिवेदन प्राप्त भए पनि कोशी प्रदेशमा गत आर्थिक वर्षमा दादुराको महामारी देखिनाले कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ । निर्देशनालयका  खोप अधिकृत भण्डारीले भने, ‘खोप निवारणका लागि सबै सरोकारवाला निकाय सजग रहनु पर्ने अवस्था छ ।’

धरानमा खोप अभियान
धरानमा पुस १ देखि ८ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएको छ । धरानमा खोप अभियान पुस १ देखि ८ गतेसम्म २० वटै वडाहरूमा सञ्चालन गरिने भएको हो ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानका २० वटै वडामा तालिमप्राप्त स्वास्थ्यकर्मी, अहेव, अनमि, स्टाफ नर्स, हेअ, सिअहेव, स्टाफ नर्सहरूबाट गुणस्तरीय खोप सेवा सञ्चालन गरिनेछ । दादुरा रुबेला प्रकोप नियन्त्रण, रोकथामका लागि ६ महिनाको शिशु देखी १५ वर्षका किशोरकिशोरीलाई खोप लगाउनु पर्दछ ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने, ‘महामारीबाट बच्न र बचाउन बालबालिकाहरूलाई अनिवार्यरूपमा खोप लगाउन खोप केन्द्रसम्म अभिभावकहरू आइदिन अनुरोध गर्दछु ।’