धरान । किरात राई समुदायको महान् चाड उँधौली पूजा खासगरी मङ्सिर पूर्णिमामा मनाइन्छ । तर, भूगोलअनुसार केही ठाउँमा अगाडि नै उँधौली, उँभौली मनाउने प्रचलन छ ।

धनकुटाको खाल्सा क्षेत्रमा वाढाङ्मि भनेर अगाडि नै उँधौली मनाइन्छ भने भोजपुरको दक्षिणी भेगका बान्तवाहरूले पनि करिब एक महिनाअगाडि नै उँधौली मनाउने गर्छन् । साकेला धामीले तोकेको समयअनुसार मनाइने परम्पराअनुसार यसपटक दक्षिणी भोजपुरका बान्तवाहरूले उँधौली पूजा सम्पन्न गरेका छन् ।

शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा भव्यरूपमा साकेला/साकेन्वा नाचेर उँधौली समापन भयो । किरात राई यायोक्खा सुन्दरहरैंचा–६ ले आयोजना गरेको ‘पारुहाङ–सुम्निमा काचिपेन’ मा साकेला/साकेन्वा नाच्न धरान, इटहरी, बेलका, बेलबारी र सुन्दरहरैंचाका बान्तवाहरूका समूह ढोल झ्याम्टा बोकेर सहभागी थिए । त्यस्तै चाम्लिङ समूहबाट पनि नाचमा सहभागी थिए ।

सामान्यतः वैशाख पूर्णिमामा उँभौली र मङ्सिर पूर्णिमामा उँधौली सुरु हुन्छ । मुन्दुम अनुसार चराचुरुङ्गी र माछा उकालो लाग्ने र अन्नबाली रोप्ने समय वैशाखमा उँभौली पूजा गरिन्छ भने चराचुरुङ्गी र माछा ओरालो लाग्ने र अन्नबाली भिœयाउने मङ्सिरमा उँधौली पूजा गर्ने चलन छ । यस्तो बेला विभिन्न जनावर र चराहरूको नक्कल गर्दै नाच्ने गरिन्छ । त्यसलाई साकेला सिली भन्ने गरिन्छ । कतिपयले साकेन्वा पनि भन्ने गर्छन् ।

साकेला संस्कृतिबारे जानकारी किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार ठाउँअनुसार साकेला नाच्ने चलन अघि–पछि भएजस्तै सिली पनि फरक–फरक हुन्छ । अध्यक्ष राई भन्छन्, ‘खोटाङतिरको नाचमा खुट्टाको सिली बढी हुन्छ भने भोजपुरको उत्तरी भेगको सिलीमा हात र खुट्टा उत्तिकै चल्छ तर, दक्षिणतिरको नाचमा हातको सिली बढी हुन्छ ।’

उनका अनुसार दक्षिणी भोजपुरका बान्तवाहरूले करिब एक महिनाअघि नै उँधौली र उँभौली पूजा गर्ने गर्छन् । उनी भन्छन्, ‘धनकुटाको खाल्सामा जस्तै भोजपुरको दक्षिणी भेगमा अगाडि नै साकेला नाचिन्छ । विशेषगरी साकेला धामीले तोकेको समय अनुसार नाच्ने चलन छ ।’