धरान । जेन जी आन्दोलनका कारण प्रहरी चौकीहरू निष्क्रिय रहेको मौका छोपेर कारोबारीले भारी परिमाणमा गाँजा लैजाने क्रममा सुनसरीको इटहरीबाट प्रहरीले शनिबार राति गाँजा बरामद गर्न सफल भएको छ ।
सशस्त्र प्रहरी बलको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्यार्सेकाली पेट्रोलपम्प अगाडि पार्किङ गरेर राखिएको अवस्थामा दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रक जाँच गर्ने क्रममा ५ हजार केजी गाँजा बरामद भएको हो ।
सशस्त्र प्रहरीले नियमित गस्तीका क्रममा पार्किङ गरेर राखेको ट्रकमा जाँच गर्दा एक सय ५८ बोरा गाँजा बरामद गरेको थियो । उक्त बोरालाई नापतौल गर्दा पाँच हजार केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल वराह बाहिनी मुख्यालय पकलीका एसपी सुधीरजङ थापाले जानकारी दिए । उनका अनुसार ना.४ ख २९०१ नम्बरको ट्रकबाट एक सय २४ बोरा र बा. ५ ख ११६९ नम्बरको मिनी ट्रकबाट ३४ बोरा गाँजा बरामद भएको छ ।
ट्रकसहित गाँजा बरामद गरिए पनि चालक भने फरार रहेका छन् । बरामद भएको गाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको जनाएको छ । यसबारे जिल्ला प्रहरी कार्यालयमा बुझ्दा बरामद गाँजा जिल्लामा बुझाइसकेको जनाएको छ । “बुझाइसकेको छ, आवश्यक अनुसन्धान हुँदै छ । दुईवटा गाडी ल्याइएको छ । पत्रमा के कति परिमाण छ भन्ने उल्लेख गरिएको छ” –जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले फोनसम्पर्कमा भने ।
यता शनिबार राति नै विराटनगर–१५ पेट्रोल पम्प नजिकैबाट प्रहरीले बन्दाकोपी लोड गरेको बोलेरो गाडीमा २ सय ६२ किलो पाँचसय ८० ग्रामसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरी घर भएका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीबाट गाँजा बरामद गर्न सफल भएको हो ।
गाँजासहित सन्जु र निखिललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त गाँजा श्याम कुमारको हो भन्ने खुलेपश्चात् उनलाई पनि विराटनगर–१८ आईसिपी रोडबाट प्रहरीले पक्राउ गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।