विराटनगर । आन्दोलनको क्रममा मौका छोपेर लुटपाट गरेको सामान फिर्ता गर्न र नगरे कानूनी कारबाही गर्ने विभिन्न सरकारी कार्यालयहरूले चेतावनी दिएका छन् ।
लुटिएका सामान सुरक्षित रूपमा फिर्ता गर्न सार्वजनिक सूचनामार्फत् विराटनगरको सरकारी कार्यालयहरूले आह्वान गरेको हो । जेन जी आन्दोलनको क्रममा प्रदर्शनकारीले विभिन्न प्रशासनिक भवनहरूमा क्षति पु¥याउनुका साथै कार्यालयका महŒवपूर्ण सामग्रीहरू लगेपछि सरकारी निकायहरूले यस्तो आग्रह गरेका हुन् । विराटनगर महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको तोडफोड र आगजनीका क्रममा कार्यालय तथा मातहतका वडा कार्यालयहरूबाट लुटिएका सामग्री तथा महत्वपूर्ण कागजातहरू फिर्ता गर्न अनुरोध गरेको छ । महानगरपालिकाले कसैले ती सामग्रीहरू फेला पारेमा नजिकको वडा कार्यालय वा सुरक्षा निकायमा बुझाइदिन भनेको छ ।
सूचनामा जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने र सामान फिर्ता गर्नेलाई कुनै कारबाही नगरिने तर प्रमाणको आधारमा चोरीमा संलग्नलाई कानूनबमोजिम कारबाही गरिने उल्लेख छ । कार्यालयको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीले खिचेका तस्बिर तथा भिडियो र सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीका आधारमा चोरी गर्नेहरूको पहिचान गरी कारबाही अघि बढाइने महानगरपालिकाले चेतावनी दिएको छ ।
यस्तै आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति व्यहोरेको कोशी प्रदेश सभा सचिवालयले पनि लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै सचिवालयले तोडफोड र आगजनीका क्रममा सचिवालयमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, क्यामेरा, एसी, टिभी, फर्निचर लगायतका सामग्रीहरू चोरी भएको जनाएको छ । निमित्त सचिव गौतमराज अमात्यद्वारा जारी सूचनामा भनिएको छ, “उल्लेखित सामान कसैले देख्नु भएमा, भेट्टाउनुभएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा प्रदेशसभा सचिवालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।”
सचिवालयले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ । विराटनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय लगायतका अन्य सरकारी कार्यालयहरूले पनि तोडफोड र आगजनीपछि लुटिएका सरकारी सम्पत्ति फिर्ताका लागि अनुरोध गरेका छन् । यी कार्यालयहरूबाट पनि महत्वपूर्ण उपकरण र कागजातहरू चोरी भएको बताइएको छ । सरकारी कार्यालयहरूको आग्रहसँगै विराटनगरमा नागरिकस्तरबाट पनि लुटिएका सामान फिर्ता गराउन अभियान सुरु भएको छ । सामाजिक अभियन्ता पारुल क्षेत्रीसहितका युवाहरूले घर–घरमा पुगेर लुटपाटमा संलग्नलाई सम्झाई–बुझाई गरी सामान फिर्ता गर्न आग्रह गरिरहेका छन् ।
शनिबारदेखि सुरु भएको यो अभियानपछि केही व्यक्तिहरूले चोरीका सामानहरू फिर्ता गर्न थालेका छन् । यो अभियानले निजी क्षेत्र, जस्तैः भाटभटेनी सुपर मार्केटबाट लुटिएका सामान फिर्ता गराउन पनि सहयोग पु¥याइरहेको छ । सरकारी निकाय र नागरिक समाजको संयुक्त प्रयासले सहरको अवस्थालाई सामान्यीकरण गर्न र लुटिएका सार्वजनिक सम्पत्तिको पुनः प्राप्तिमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।