धरान । धरानको भाटभटेनी सुपरमार्केटमा अराजक समूहले गरेको आगजनीपछि सयौंले रोजगारी गुमाएका छन् । 

२४ भदौको साँझ भएको जेन जी  आन्दोलनपछि जेन जी समूहको नाममा अराजक समूहले गरेको तोडफोड र आगजनीले सुपरमार्केट मात्र जलाएन, त्यहाँ काम गर्दै आएका सयौं युवाको आर्थिक आधारसमेत डग्मगाएको छ ।

१७ वर्षदेखि भाटभटेनीमा काम गर्दै आएकी जमुना भण्डारीले भक्कानिँदै भनिन्, “भाटभटेनी मेरो रोजगारीको मात्र होइन, अस्तित्वको आधार थियो । अब कहाँ जाने ?”

उनको आवाजमा भविष्यप्रतिको चिन्ता थियो । वर्षौंको मिहिनेत गुमाएको पीडाले उनका आँखा आँसुले भरिएका थिए । धरान शाखामा मात्रै तीनसय किशोरकिशोरी कार्यरत थिए भने अप्रत्यक्षरूपमा करिब एक हजार जनाले जीविकोपार्जन गरिरहेका थिए । उनीहरूको रोजगारी अनिश्चित भएपछि पिरोलिएका छन् ।

स्थानीय परिना राई, जो ९ वर्षदेखि त्यहीँ काम गर्दै आइरहेकी थिइन् । “हामीले पढ्दै कमाउने, आफै टिक्ने सपना देखेका थियौँ । त्यो सबै रातारात अपराधीहरूले खरानी बनाइदिए ।”

अर्की कर्मचारी उषा राईको स्वरमा आक्रोश मिसिएको थियो । “नेपालमै बसेर नेपालीलाई काम दिने एउटा व्यवसायीको संस्थामाथि यस्तो आक्रमण हुनु भनेको हाम्रो भविष्यमाथि आक्रमण हो ।”

धरानस्थित भाटभटेनीमा काम गर्ने धेरैजसो युवावर्गका थिए । उनीहरू आफू पढ्दै थिए भन् परिवार पनि पाल्दै थिए । 

जेन जी आन्दोलनले उठाएका मुद्दाहरू अलग हुन सक्छन्, तर त्यसको असर सर्वसाधारणमा परेको छ । यत्रो क्षति हुँदा पनि रोकथामका लागि स्थानीय सरकार उदासीन रहनु थप पीडादायी बनेको स्थानीयको आरोप छ । 

स्थानीय बासिन्दा सलुजा मास्के भन्छिन्, “हामीले मेयर र जनप्रतिनिधिलाई बेलैमा खबर ग¥यौँ, प्रहरीलाई पनि भन्यौँ । तर कसैले सुनेनन् ।” घटनापछि १० नं. वडाध्यक्ष विवेक राईले भने अग्रसरता देखाएर दमकल बोलाएर आगो निभाउने प्रयास गरेका थिए । तर ढिलो भइसकेकाले जोगाउन  सकेनन् । वडाध्यक्षले भने पीडितको पीडामा मलहम लगाउन कोशिस गरेको मास्केले बताइन् । शुक्रबार   भवनभित्रबाट ४ जनाको जलेर खरानी भएको अवस्थाको मानव कङ्कालसमेत फेला परेको थियो । जिउँदै व्यक्तिलाई जलाउने, अर्काको रोजगारी खोस्ने अपराधीहरूलाई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् ।