धरान । मोरङको विराटनगरमा २००९ साल जेठ २५ गते शनिबारका दिन जन्मिएकी सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन् । उनी २०७३ असार २७ उनी पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् ।

उनको कार्यकाल विवादरहित भने रहेन । २०७४ जेठ २३ गतेसम्म प्रधानन्यायाधीश हुँदा उनीमाथि महाभियोगसमेत लगाइएको थियो । कार्यकालको दौरानमा उनीमाथि केही राजनीतिक तथा संस्थागत नियुक्ति तथा कार्यसम्बन्धी विवादमा मुछिएकी थिइन् । २०३६ सालदेखि वकालत पेशामा होमिएकी उनको बिहे काङ्ग्रेस पृष्ठभूमिका दुर्गा सुवेदीसँग भएको थियो । विराटनगरवासी सुवेदी नेपाली काङ्ग्रेसका नेता हुन् । तर, उनले धरानमा समेत घर बनाएकी थिइन् भने महेन्द्र बहुमुखी क्याम्पसमा कानून विषय पढाएकी थिइन् ।

भारतको बनारस हिन्दू विश्वविद्यालय र नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनपश्चात् वकालत पेशामा प्रवेश गरेकी थिइन् । तीन दशकभन्दा लामो समयमा विराटनगर र धरानमा सक्रिय वकालत गरेकी थिइन् । त्यसपश्चात् नै उनी सिधै सर्वोच्च अदालतमा प्रवेश गरेकी थिइन् । धरानमा रहँदा केही समय पत्रकारिता पनि गरेको अग्रज पत्रकार आनन्द श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् । “धरान–१० मा घर बनाउनुभएको थियो । उहाँका आफन्तजन सबै धरानमा हुनुहुन्छ । सुशीला दिदीले वनारसमा राजनीतिक शास्त्र र कानून पढ्नुभएको हो । पत्रकारिता पनि गर्नुहुन्थ्यो” –उनले बिहीबार लेखेका छन् ।

हक्की स्वभावकी मानिने कार्की जेन जीको आन्दोलनमा दोस्रो दिन देखिएकी थिइन् । साथै, उनले आन्दोलनलाई समर्थन गर्दै निहत्था बालबालिकाहरूको हत्या गर्नेहरूलाई कानूनी कारबाहीमा ल्याउनुपर्छ भन्ने दाबी गरेकी थिइन् । सोही कारण जेन जी पुस्ताले उनलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा स्वीकार गरेका थिए । अधिवक्ता हुँदै प्रधानन्यायाधीशसम्म बन्न पुगेकी उनलाई श्रीमान्को साथ पनि रहेको पाइन्छ । प्रधानन्यायाधीशको रूपमा रहँदा महाभियोगको घटनासमेत बेहोरेकी थिइन् । ११ महिने कार्यकालमा महाभियोग लागेपछि उनी राजनीतिक दलहरूप्रति रुष्ट देखिँदै आएकी छन् । उनी न्यायाधीश रहँदा काङ्ग्रेस नेता जेपी गुप्ताको भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेकी थिइन् । बहालवाला सञ्चारमन्त्री रहेका बेला गुप्तालाई दोषी ठहर गरेका कारण कार्कीको चर्चा भएको थियो ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा फैसला पुनरावलोकन गर्न भनी दिएको निवेदनमा सुशीला कार्कीले मुद्दा ब्यूँतिने गरी निस्सा हुने आदेश दिएकी थिइन् । यो मुद्दाका कारण पनि उनी निकै चर्चामा रहिन् । यसले गर्दा राजनीतिक दलले उनीमाथि रिस साध्दै आएका थिए । महाभियोग लगाउने कार्यका कारण पनि उनी राजनीतिक दलहरूप्रति उनको पानी बाराबारको स्थिति सिर्जना भएको थियो । उनले पछिल्ला वर्षहरूमा नेताहरूले गरेको भ्रष्टाचारको विरोध गर्दै आइरहेकी थिइन् । सोहीअनुसारको अन्तरवार्ता दिँदै चर्चामा आएकी थिइन् । यस्तै विभिन्न न्यायिक तथा सामाजिक मुद्दामा निरन्तर सार्वजनिक मञ्चमा देखिँदै आएकी थिइन् । उनले आफ्नो आत्मकथा ‘न्याय’ २०७५ सालमा ल्याएकी थिइन् ।