विराटनगर । भाटभटेनी सुपरमार्केटमा आगजनी गरेपछि लुटपाट गरिएका सामान फिर्ता ल्याउने अभियान विराटनगरमा सुरु भएको छ । 

सामाजिक अभियन्ता पारुल क्षेत्रीको अगुवाइमा युवाहरूको एक समूहले लुटपाटमा संलग्न व्यक्तिहरूको घर–घरबाट सामान फिर्ता गराउने अभियान चलाएको हो । जेन जी आन्दोलनका क्रममा विराटनगरको भाटभटेनीसहित यहाँका सरकारी कार्यालयहरूबाट विभिन्न सामानहरू लुटपाट भएको छ । 

केही दिनअघि भएको आन्दोलनको मौका छोपी भाटभटेनीमा आगजनी गरिएपछि सयौँको सङ्ख्यामा भीडले पसलभित्र पसेर खाद्यान्न, विद्युतीय उपकरण, कपडालगायतका करोडौँ मूल्य बराबरका सामग्रीहरू लुटेका थिए । उक्त घटनाले विराटनगरको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको थियो । क्षेत्री र उनको २० देखि २५ जनाको स्वयम्सेवी समूहले लुटिएका सामानहरू फिर्ता गराएर पीडित पक्षलाई न्याय दिलाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अठोट लिएको हो ।

यो अभियान सूचना सङ्कलनमा आधारित छ । छरछिमेकमा कसैले लुटपाटको सामान लुकाएर राखेको थाहा पाएपछि जिम्मेवार नागरिकहरूले अभियन्ता क्षेत्रीको समूहलाई गोप्य रूपमा खबर गर्छन् । सोही सूचनाको आधारमा समूह उक्त स्थानमा पुगेर सामान फिर्ता गर्न अनुरोध गर्दछ । आइतबार मात्रै यस समूहले विराटनगरका पाँच फरक–फरक स्थानबाट लुटिएका सामग्रीहरू सङ्कलन गरी भाटभटेनी सुपरमार्केटमा फिर्ता बुझाएको छ ।

अभियन्ता क्षेत्रीले भने, “हामीले विराटनगर–५ त्रिमूर्ति चोकका एक युवाले लुटपाट गरेर ल्याएको खाद्यान्न सामग्री फिर्ता गराएका छौँ । जिम्मेवार नागरिकहरूले दिनुभएको गोप्य सूचना नै हाम्रो शक्तिको स्रोत हो । उहाँहरूको सहयोगले हामीले विभिन्न ठाउँमा छापा मारेर सामान जफत गरिरहेका छौँ ।”

अभियानले सामान फिर्ता गराउने मात्र नभई लुटपाटमा संलग्नहरूलाई कडा चेतावनी पनि दिएको छ । क्षेत्रीले आफ्नो सामाजिक सञ्जालमार्फत् एक सार्वजनिक आह्वान जारी गर्दै भनेकी छन्, “अरूतिर पनि हामी आउँदैछौँ । त्यसैले आफैले सम्मानजनक रूपमा सामान फिर्ता गरिदिनुहोला, होइन भने कानूनको कठघरामा उभिनुपर्नेछ ।”

उनले लुटिएका सामानहरू बजारका पसलहरूमा बेच्न खोजिएको सूचना आएको भन्दै कुनै पनि पसलेलाई त्यस्ता सामान खरिद नगर्न आग्रह गरेकी छन् । साथै, कसैले सामान बेच्न खोजेको थाहा पाएमा तत्काल स्थानीय प्रहरी प्रशासनलाई खबर गरिदिन पनि उनले अनुरोध गरेकी छन् । यो नागरिकस्तरीय अभियानले प्रहरी प्रशासनलाई मात्र नभई समाजका हरेक सदस्यलाई आफ्नो जिम्मेवारी बोध गराएको छ । अराजकता र दण्डहीनता मौलाउन खोजेको समयमा पारुल क्षेत्री र उनको समूहको यो कदमले सकारात्मक परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेको छ र यसलाई चौतर्फी प्रशंसा मिलिरहेको छ ।