काठमाडौं । देशमा जारी राजनीतिक अन्योल, भ्रष्टाचारविरोधी जेन जी आन्दोलन र सत्ता रिक्तताबीच राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनलाई नेपालको संविधान २०७२ को धारा ६१ अनुसार शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

सङ्कटपूर्ण घडीमा देशको नेतृत्व गर्ने जिम्मेवारी पाएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले दोस्रो पटक इतिहास रच्ने अवसर पाएकी छन् । ‘कडा मिजास’ की कार्की २०७३ असारमा सर्वाेच्च अदालतको पहिलो प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।

शुक्रबार  भ्रष्टाचारविरुद्धको सडक आन्दोलन गर्ने जेन जी समूहको सिफारिसमा उनै कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार प्रमुखमा नियुक्त गरेका हुन् । नेपालमा प्रधानमन्त्री नियुक्त हुन थालेको २ सय २० वर्षको इतिहासमा यो पदमा पुग्ने कार्की पहिलो महिला हुन् । वि.सं. १८६३ सालमा नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा बनेयता देशमा हालसम्म ४६ जना प्रधानमन्त्री बनेका छन् ।

गत सोमबार र मङ्गलबार भएको जेन जी पुस्ताको आन्दोलनपछि वर्तमान केपी ओली सरकारले राजीनामा दिएको थियो । राजीनामापछि वर्तमान सरकारका मन्त्रीहरू तथा तीन राजनीतिक दलहरूका शीर्षनेताहरू नेपाली सेनाको सुरक्षा घेरामा रहेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार नै राष्ट्रपति निवास शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । तर प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष भने उपस्थित थिएनन् ।

नेपालको इतिहासमा यो पदमा पुग्ने कार्की पहिलो महिला हुन् । वि. सं. १८६३ सालमा नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा बनेयता देशमा हालसम्म ४६ जना प्रधानमन्त्री बनेका छन् ।

गत भदौ २३ गतेदेखि सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलन (जेन जी) ले सत्ता समीकरणलाई तहसनहस बनाइदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि उत्पन्न सत्ता रिक्ततामा जेन जीले सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । पूर्व प्रधानन्यायाधीश कार्कीलाई स्वतन्त्र, इमानदार र निर्णायक छविका कारण आन्दोलनरत पुस्ताको समर्थन प्राप्त छ ।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा बन्ने अन्तरिम मन्त्रीमण्डलको संरचना, जिम्मेवारी र कार्यकालको विस्तृत खाका यो समाचार तयार पार्दासम्म सार्वजनिक भइसकेको छैन ।