धरान । जेन जीको आन्दोलनको नाममा धरानस्थित भाटभटेनी जल्ने क्रममा लुटपाट तथा चोरीको उद्देश्यले गएका चारजना युवाको जलेको अवस्थामा कङ्कालको अवशेष भेटिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूका अनुसार जलेको अवस्थामा मानव कङ्काल भेटिएको हो । तर उक्त कङ्काल कसेको हो भन्ने विषयमा पुष्टि हुन बाँकी रहेको उनले बताए । उनले भने, “जम्मा चारजनाको मानव कङ्काल भेटिएको छ । पहिचान खुलेको छैन । आफन्त तथा कसैबाट आधिकारिकरूपमा आएको छैन ।” उनले लुटपाट तथा चोरीका उद्देश्यले भाटभटेनीमा छिरेको हुन सक्ने र बाहिरबाट जलाइदिएका कारण बाहिर निस्कन नसक्दा जलेको हुनसक्ने अनुमान गरे ।
भाटभटेनी जलेपछि सोही वडाका वडाध्यक्ष विवेक राईसहित सुरक्षा संयन्त्रको टोली, धरान नगर प्रहरीहरूले प्रत्येक तलाको जाँच गरेका थिए । उक्त जाँच गर्ने क्रममा दोस्रो तलामा एकै ठाउँमा ३ जनाको शव फेला परेको उनले जानकारी दिए । “त्यो तलामा फ्रिजलगायतका सामग्री राखिने गरिएको रहेछ । त्यहाँ नै चोरीका लागि पसेको हुन सक्छन् । उनीहरूले आफ्ना साथीभाइ र आफन्तलाई फोन गरेर आफूहरू फसेको कुरा बताएकोसम्म बुझिन आएको छ” उनले फोनसम्पर्कमा भने, “फ्रिज भएको ठाउँमा छौँ भनेर फोन गरेका रहेछन् ।” उनका अनुसार धरान–८ पारुहाङ चोकका मिलन राई रहेको उनका आफन्तहरूबाट जानकारी आएको छ ।
यस विषयमा इप्रका धरानका डिएसपी जवेगूले भने, “हामीलाई पनि अनौपचारिक रूपमा जानकारी आएको हो । आधिकारिकरूपमा पुष्टि हुन बाँकी छ । एकजना अन्सारी थरका युवा पनि छन् भन्ने आएको छ । तर पुष्टि नभई भन्ने कुरा भएन ।” उनले चोरी तथा लुटपाटकै उद्देश्यबाट त्यहाँ पुगेको हुनसक्ने दाबी गरे । “चोरी तथा लुटपाटकै लागि गएको देखिन्छ” –उनले फोन सम्पर्कमा भने ।
वडाध्यक्ष राईका अनुसार सबैभन्दा तलको फ्लोरमा खासै केही नभेटिएको र सम्पूर्ण सामान जलेको अवस्थामा भेटिएको छ भने पहिलोमा पनि सम्पूर्ण सामग्री जलेको अवस्थामा भेटिएको थियो भने दोस्रो तलामा एकजनाको मानव कङ्काल फेला परेको थियो । “सर्च गर्दै जाँदा मानवको हड्डीखुड्डी भेटियो । थर्ड फ्लोरमा केही भेटिएन । फेरि चौथो फ्लोरमा चाहिँ मानव कङ्काल भेटियो” उनले भने, “कसको हो भन्ने विषयमा चाहिँ डिएनए टेष्टबाटै थाहा होला ।” चौथो तलामा पूर्णरूपमा आगो निभिनसकेको पाइएपछि दमकल बोलाएर आगो निभाइएको उनले बताए ।