यो तस्बिरमा बायाँपट्टि चेक सर्टमा देखिएको दुब्लो–पातलो केटो अब हामी बीच रहेनन् ! फेसबुकका भित्तामा उनी यस संसारमा नरहेको खबर देखेर मन बेचैन भइरह्यो । केही लेख्न नै आएन, लेख्न खोजे पनि मन नै भएन । बरू २०५२–५३ सालतिर धरानमा उनीसँगको सङ्गत र बितेका दिनहरू फिल्मको रिलजस्तै दिमागमा घुमिरह्यो । 

यो तस्बिर त्यही समयतिर धरानको सैनिक भवनमा हिमायती परिवारको कार्यक्रमपछि खिचिएको हो । तस्बिरमा गायक चेतनारायण राई र आजका चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल देखिन्छन् र दायाँपट्टि म । यो कार्यक्रमको आयोजक समूहको सक्रिय सदस्य थिए दीपक । उनी हिमायती परिवारका ‘हिमायती’ नै थिए ।  हिमायतीका शिव सुब्बा दाइको घरमा राजकुमार दिक्पाल दाइको डेरा थियो । दीपक त्यहाँ बरोबर आइरहन्थ्यो । दिक्पाल दाइसँगै म डेरामा बस्न थालेपछि दीपकसँगको दोस्ती झनै बढ्यो । हिमायती परिवारको अघोषित कार्यालय जस्तै बनेको शिव सुब्बाको घर नै डेरा भएकाले हामी चाँडै नजिकिएका थियौँ । दशैं–तिहारको देउसी–भैलो होस् या हिमायतीको वनभोज सधैँ दीपक अगाडि हुन्थ्यो । जे गर्न पनि हरदम तम्तयार हुन्थ्यो । आफ्नो समूह मात्र हैन टोल, समाज सबैको सामाजिक कामहरूमा अघि सर्दथ्यो । हिमायतीका कुन्ता योञ्जन दिदी, हर्क चुम्मे, जीवन भट्टराई, सुरेश श्रेष्ठलगायत सबैका उनी प्रिय थिए । जनगायक रामेशका फ्यान थिए । काठमाडौँसमेत पुगेर रामेश दाइलाई भेटेको कुरा उनी सुनाइरहन्थे ।

म भर्खर एसएलसी सकेर गाउँबाट धरान सहर छिरेर क्याम्पस पढ्दै राजकुमार दिक्पालको सङ्गतले लेख्न सिक्दै गरेको ठिटो थिएँ । त्यही समयमा हो, उसलाई भेटेको । सङ्घर्षका ती दिनहरूमा म हिमायती परिवार, अनाम नाट्य जमात, पराग परिवारजस्ता धरानका कला–संस्कृतिमा लागिपरेका संस्थाहरूसँग निकट थिएँ । यी संस्थाको सदस्य नै नभए पनि सदैव शुभचिन्तक र परिवारभित्रकै सदस्यजस्तै थिएँ । त्यही समय धरानमा जसकुमार राई, देवराज राई, प्रदीप मेन्याङ्बो, सुजीत सुब्बालगायत मेरा निकटका साथीहरू बनिसकेका थिए । जोसँग मेरा धेरै समय बित्दथे । उनीहरूको घर–परिवारसँग समेत भेटघाट र आउजाउ हुन्थ्यो । यहीबेला नयाँ मित्र थपिएको थियो दीपक र ऊ सबै भन्दा अलग थियो । जोशिलो र क्रान्तिका कुरा गथ्र्यो हिमायतीसँगको हुर्काइ र रामेशका गीत–सङ्गीतको गहिरो छाप परेर होला उसका कुरा नै अलग हुन्थे ।  

धरानका ती दिनहरू एक समय दीपक दुःख–सुखका साथी बनेका थिए । म उसको धरान–१६ को घर पनि जान्थेँ । उसले पनि मेरो गाउँको घरसम्म पुगेर बा–आमालाई धराने गफ सुनाउन भ्याएको थियो । दिक्पाल दाइको सङ्गतले गीत–गजल लेख्न सिक्दै गर्दा लेख्ने बित्तिक्कै सुनिदिने साथी नै दीपक बनेको थियो । नराम्रो शब्द लेखे पनि ‘राम्रो छ’ भनेर हौसला र ढाडस दिन्थ्यो । गीत–सङ्गीत, प्रेम–जीवन, समाजका बारेमा कुरा हुन्थे । एकै किसिमका सपनाहरू सँगालेर हामी त्यसैको पछि दौडिरहेका हुन्थ्यौँ । पत्र–पत्रिकामा मैले लेखेका कुरा छापिएको देखेरे ऊ खुसी हुन्थ्यो । उसले चिने जानेकाहरूसँग भेट हुँदा ‘मेरो साथी पत्रकार’ भन्दै परिचय गराइदिन्थ्यो ।

धरानमा दीपकसँगको उठबस धेरै लामो समय भएन । केही समयपछि ऊ एकाएक धरानबाट बाहिरतिर गयो । घरको जेठो छोरा थियो । घर–व्यवहारको जिम्मेवारीले होला पोखरातिर काम गरेर बसिरहेछु भन्थ्यो । ऊ धरानबाट बाहिरिएको केही समयपछि म पनि काठमाडौँलाई कर्मथलो बनाउँदै त्यतै लागेँ र आफ्नै संसारमा हराएँ । बेला–बेला धरानतिर भेट हुँदा पुराना दिन सम्झिँदै गफिनबाहेक पहिलेजस्तो दिनरात गफ गरेर हिँड्ने फुर्सद फेरि कहिल्यै आएन । फेसबुक आएपछि त्यता बेला–बेला सम्पर्क हुन्थ्यो । केही समयअघि फेसबुकमा कुरा हुँदा दमकतिर परिवारसहित बसिरहेको र त्यतै व्यवसाय गरिरहेको बताएको थियो । मैले ‘नेपाल आएको बेला भेट्न दमक आउँछु’ भनेको थिएँ । तर, त्यो समय आएकै थिएन । बरू त्यही फेसबुकको भित्तामा दीपकको तस्बिरमा ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएको दुखःद् खबर आयो ! जसकुमारले अमेरिकाबाट हिमायती समूहको ग्रुप च्याटमा लेख्यो, ‘के हो दीपकको खबर त राम्रो छैन त ?’ हङ्कङबाट शिव सुब्बा दाइले जवाफ फर्काउनुभयो, ‘मैले पनि भरखर खबर पाएँ, भाइ आज बिहान बित्नुभयो अरे, पूरा कुरा थाहा छैन । हिमायती को एउटा योद्धाको देहावसानले हामी  मर्माहत भएका छौँ ।’ म स्तब्ध थिएँ । हिमायतीका सुरेश श्रेष्ठ, किशोर श्रेष्ठ आदिले फेसबुकबाट श्रद्धाञ्जली लेख्दै दीपकलाई सम्झिएको देखेँ । मूर्तिकार, कलाकार, रङ्गकर्मी विक्रमश्रि दाइको फेसबुकबाट दीपकको असामयिक मृत्युबारे अलि धेरै जानकारी पाएँ । बाटोमा हिँडिरहँदा मोटरसाइकलले उसलाई ठक्कर दिएको रहेछ । विक्रमश्रिले फेसबुकमा लेख्नुभएको छः

‘तिम्रो योगदानले अमर रहनेछौ !!

रङ्गकर्मी कलाकार भाइ दीपक तिम्सिना (धरान) को असामयिक निधनको खबरले स्तब्ध बनायो । केही वर्षदेखि दमकमा व्यवसाय सञ्चालन गर्दै आएको भाइ कात्तिक १७ गते दमक–२ स्थित बाटोमा हिँडिरहेको अवस्थामा अज्ञात व्यक्तिको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएको र सघन कक्षमा उपचाररत अवस्थामा आज (मङ्सिर ७ गते) निधन भएको जानकारी प्राप्त भयो । केही महिनाअघि मात्र भेट भएको भाइ स्वर्गीय भयो भन्दा पत्यार लागेको छैन । यस दुःखद् घडीमा शोक र पीडामा डुबिरहनुभएका बडा बा, बडी, माइलो भाइ कृष्ण, कान्छो, बुहारी नानीहरू सबै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् । कला कर्मको माध्यमबाट तिमीले पु¥याएको योगदानले तिमी हामी सबैको हृदयमा अमर रहनेछौ । ठूलो भाइ तिम्रो आत्मालाई चिर शान्ति प्राप्त होस् । भावपूर्ण श्रद्धाञ्जली !!”

दीपकसँग मेरोभन्दा अलि धेरै नै सङ्गत भएको साथी जसकुमार पनि उसको मृत्युको खबरले मजस्तै बेचैन भएको होला भनेर सम्झिएँ । दीपकलाई भाइ अझ छोरालाई जस्तै माया गर्ने हिमायतीकी कुन्ता दिदीको छट्पटी सम्झिएँ । दीपककै परिवारजनमा थपिएको पीडा त अकल्पनीय हुने नै भयो । हामीले उनीहरूको शोकमा समवेदना दिन मात्र सक्छौँ । मृत्यु एउटा अकाट्य सत्य हो र यसलाई सबैले स्वीकार्नुको अरू विकल्प छैन ।

एक दिनपछि जसकुमार राईले उही हाम्रो दीपक तिम्सिनाको लागि फेसबुकमा लेखेको देखेँ, ‘यौटा दन्तेकथाको नायकजस्तै सपनाहरू थियो तिम्रो । परिवर्तनको समानताको र अग्रगामी सांस्कृतिक कदमहरूमा सँगै थियौ । दीपक तिम्रो आत्माले शान्ति पाओस् । यति चाँडै बिदा हुन्छौ भन्ने लागेकै थिएन । हिमायती सांस्कृतिक परिवारले तिम्लाई सम्झी रहनेछ ।”

हुन पनि दीपक हिमायतीको मात्र नभएर सोच–विचार र कर्मले नेपाली समाजको उज्यालो ‘दीपक’ नै थियो । जीवन र सङ्घर्षको कुरा गर्दा ऊ बरोबर रामेश र गोविन्द विकलको स्वर÷शब्दको गीत गाइरहन्थ्योः

‘सङ्घर्ष हो जीवन, 

जीवन सङ्घर्ष हो, 

जीवनदेखि हारेर बस्छु नभन, 

जीवनदेखि हारेर मर्छु नभन’ 

गीतमा भनिएजस्तै जीवनमा दीपकले धेरै सङ्घर्ष ग¥यो तर, ऊ कहिल्यै हारेको थिएन । तर, उसको जीवन नै मृत्युसँग हा¥यो । असमयमै दीपक गयो । भेटेर फेरि पुराना दिनहरू ताजा गर्ने चाहना अधुरै रहे । अल बिदा दीपक ! सधैँ सम्झिरहनेछौँ !!

–२६ नोभेम्बर २०२३, हङ्कङ