विराटनगर । झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालले जीवनमरणको अवस्थामा रहेका आगलागीपीडित बिरामीलाई बन्धक बनाएको प्रदेश सभा सदस्यले आरोप लगाएका छन् ।

मङ्गलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै कोशी प्रदेश सांसद् उमाकान्त गौतमले उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएका १० जना बिरामीलाई अस्पतालले एक दिन बन्धक बनाएको आरोप लगाएका हुन् ।
अस्पतालले बन्धक बनाएका कारण थप उपचारका लागि काठमाडौँ पठाउन एक दिन ढिलो भएको उनले बताए । उपचारका लागि लैजान ढिलो भएकै कारण एक जनाको मृत्यु भएको सांसद् गौतमको भनाइ छ । कात्तिक २६ गते उर्लाबारी नगरपालिका–७ इटहरा रोडमा दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा आगलागी हुँदा आगो निभाउने क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको कीर्तिपुरस्थित बर्न हस्पिटलमा मङ्गलबार बिहान मृत्यु भएको हो ।

आगलागीमा परी घाइते भएका उनलाई तत्कालै उपचारका लागि बी एण्ड सी अस्पताल पठाइएको थियो । २६ कात्तिक राति १० बजे भएको आगलागी परी घाइते भएकामध्ये १८ जनालाई विराटनगर र १० जनालाई झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको थियो । २७ कात्तिकमा गम्भीर प्रकृतिका २४ घाइतेलाई काठमाडौँ पठाउन नेपाली सेनाको हेलिकप्टर मगाइएको थियो । बी एण्ड सी अस्पतालले रेफर नदिएपछि विराटनगरबाट १४ जना घाइतेलाई मात्रै काठमाडौँको बर्न अस्पताल पठाइएको थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गरेको बी एण्ड सीले डिस्चार्ज नदिएका बिरामीलाई एकदिनपछि मुख्यमन्त्री केदार कार्कीले भद्रपुर हुँदै बर्न अस्पताल पठाएका थिए । अस्पतालले बन्धक बनाएका घाइतेलाई मुख्यमन्त्री पुगेपछि मात्रै थप उपचारका लागि काठमाडौँ पठाइएको उनले बताए ।

‘घाइतेमध्ये दुई जना बिरामीलाई आफन्तले उपचारका लागि पट्ना लिएर जानुभयो, बाँकी बिरामीलाई भोलिपल्ट तत्कालै उद्धारका लागि काठमाडौँबाट सेनाको एयर ट्रक मगाएर बिर्तामोड र विराटनगरका अस्पतालमा रहेका सम्पूर्ण बिरामीलाई लिएर जाने व्यवस्था गरियो, तर बीचमा बिर्तामोडको बी एण्ड सी अस्पतालले बिरामीलाई डिस्चार्ज नदिएपछि जम्मा १४ जना बिरामीलाई मात्रै सेनाको एयर ट्रकमा राखेर बर्न अस्पताल कीर्तिपुरमा पठायौँ’ सांसद् गौतमले भने, ‘फेरि पनि बी एण्ड सीले बिरामी दिन नमानेपछि मुख्यमन्त्री आफै अस्पताल गएर भद्रपुर एयरपोर्ट हुँदै १० जना बिरामीलाई काठमाडौं पठाउने काम भयो ।’

अस्पतालले घाइतेलाई बन्धक बनाएर थप उपचारका लागि समयमा नै पठाउन नदिएको उनको दाबी छ । ‘जीवनमरणको लडाइँमा रहेका बिरामीलाई बन्धक बनाएर सरकारलाई चुनौती दिने, सरकारको अनुमतिमा सञ्चालन भएका अस्पताल र अस्पताल व्यवस्थापनप्रति खेद प्रकट गर्छु’ उनले भने, ‘जसको कारणले गएराति तपन पण्डितको देहान्त भयो, एक दिन ढिलाइ गर्दा त्यो घटना (मृत्यु) घटेको छ ।’

सरकारले उपचार खर्च व्यहोर्छु भन्दा पनि अस्पतालले डिस्चार्ज नदिएको उनको भनाइ छ । ‘राज्य यति कमजोर हुनुहुँदैन, राज्यको अनुमतिमा सञ्चालित अस्पताल जसलाई नेपाल सरकारले सम्पूर्ण खर्चको जिम्मेवारी लिन्छु भन्दाभन्दै पनि एक दिन बिरामीलाई बन्धक बनाए’ उनले भने, ‘राज्य कडारूपमा प्रस्तुत हुनुपर्छ ।’

उनले आगलागीमा परी घाइते भएका गम्भीर बिरामीलाई नेपालमा उपचार सम्भव नभए भारतमा लगेर उपचार गर्नका लागि माग गरे । प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै सांसद् शोभा चेम्जोङले पनि आगलागीमा परी घाइते भएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरिन् । २६ कात्तिकमा सुनचाँदी पसलमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिण्डर विष्फोट भएपछि चार प्रहरीसहित २८ जना घाइते भएका थिए । आगलागीबाट तीन करोड ४१ लाख बराबरको क्षति भएको अनुमान छ ।