विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–३ स्थित उद्योगी पारस लोनियाले सञ्चालनमा ल्याएको महालक्ष्मी केवल उद्योगबाट केमिकलयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन बाँझो भएको भन्दै यहाँका स्थानीयले उजुरी दिएका छन् ।

उद्योगबाट निस्किएको केमिकलयुक्त दूषित पानी खेतीयोग्य जमिन बाँझो हुनुको साथै दुर्गन्धले बस्न नसक्ने अवस्था सिर्जना भएको भन्दै स्थानीयले कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय र बूढीगङ्गा गाउँपालिकामा उजुरी दिएका हुन् । उद्योगलाई पटक पटक लिखित र मौखिक रूपमा केमिकलयुक्त दूषित पानी खेतीयोग्य जमिनतिर नफाल्न आग्रह गर्दा पनि नटेरेपछि बाध्य भएर कारबाहीको लागि प्रशासन र स्थानीय सरकारमा उजुरी दर्ता गराएको स्थानीय बिमला शर्माले बताइन् । शर्माले कात्तिक १२ गते जिल्ला प्रशासन कार्यालय मोरङ र बूढीगङ्गा गाउँपालिकामा उजुरी दर्ता गराएको बताइन् ।

शर्माको किता नं. १२५ लगायतमा तीन बिघा जमिन रहेको छ । उनले तीन बिघा क्षेत्रफलमा सिजनअनुसारको बाली लगाउने गरेकी थिइन् । वर्षमा तीन बाली भिœयाउने उनले केही वर्षयतादेखि जमिन बाँझो राखेकी छन् । ‘उद्योगबाट केमिकल मिसिएको दूषित पानी खेतमा पस्ने गरेको छ । केमिकल भएको पानी खेतमा पसेपछि बाली बिग्रिने गरेको थियो । हामीले पटक पटक भनिसक्यौं । छलफल पनि भयो तर उद्योगबाट निस्किने फोहर पानी खेतीयोग्य जमिनमा पठाउन छोडेन,’ बिमलाले भनिन्, ‘जुनसुकै बाली लगाए पनि उद्योगको दूषित पानी खेतमा पसेपछि बोट बिरुवा सुकेर मर्न थाल्छ ।’

यस विषयमा बूढीगङ्गा गाउँपालिका र उद्योग सङ्गठनमा पटक पटक छलफल हुँदा पनि अहिलेसम्म उद्योगले केमिकलयुक्त पानी खेतमा फाल्न छोडेको छैन । ‘हामीले उद्योगबाट निस्किने केमिकल भएको फोहर पानी व्यवस्थित गर्न पटक पटक छलफलमा भनेका छौँ । अहिलेसम्म कुनै सुनवाइ भएन,’ उनले भनिन्, ‘तेही भएर धान बाली पनि लगाउन छोडियो । खेती लगाएर मात्र के गर्नु । उत्पादन नहुने भएपछि ।’ यसअघि धान लगाएको थियो । धानको बोट उद्योगबाट निस्किएको केमिकल मिसिएको पानीले मारिदिएको उनको आरोप छ । ‘बाली लगाउँदा लागत मात्र खेर जाने गरेको छ  । त्यसैले अहिले खेती नलगाई जग्गा बाँझो राखिएको छ’ उनले भनिन् ।

विराटनगर–इटहरी सडक खण्डमा जोडिएको बूढीगङ्गा–३ गोकुल चोकस्थित महालक्ष्मी केबल उद्योगबाट केमिकलयुक्त पानीसँगै कालो धुलो पनि निस्कने गरेको छ । यो उद्योगबाट बूढीगङ्गा–३ का स्थानीय बढी समस्यामा छन् । धुवाँ र उद्योगबाट निस्किने केमिकल मिसिएको दुर्गन्धित पानीले बस्न नसक्ने अवस्था भएको स्थानीय बताउँछन् ।

‘उद्योगीलाई जथाभावी धुवाँ नछाड्न र केमिकलयुक्त पानी नालामा नफाल्न हामीले पटक पटक आग्रह गर्यौँ’ उनले भनिन्, ‘तर सञ्चालकले हाम्रो आग्रहलाई बेवास्ता गर्दै आएका छन् ।’ यता उद्योग सञ्चालक पारस लोनियाले भने उद्योगबाट प्रदूषित पानी खेतमा नगएको दाबी गर्दै आएका छन् । ‘उद्योगबाट निस्किएको पानी नालीमा जान्छ । तेही भएर हामीले अहिले खेतीयोग्य जमिनतिर पानी नजाओस् भनेर माटो पनि हालेका छौँ’–उनले भने ।