बिपी प्रतिष्ठान पदाधिकारीको निकम्मापनले आन्दोलन गर्न बाध्य १७७ चिकित्सकले राजीनामा दिएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसमक्ष वृत्तिविकासको माग गर्दै आन्दोलनरत चिकित्सकले सामूहिक राजीनामा पत्र बुझाएका हुन् । प्रतिष्ठानले १५ वर्षदेखि कर्मचारी  र करिब सात वर्षदेखि चिकित्सकको बढुवा रोकेको छ ।

चिकित्सकको टोलीले राजीनामाबारे प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी दिइएको प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले जानकारी दिए । भेटमा प्रधानमन्त्रीसँग चिकित्सकहरुले विगत दुई वर्षमा ५० भन्दा बढी योग्य चिकित्सकले प्रतिष्ठान छाडेको जानकारी गराएका छन् । प्रतिष्ठानका विभिन्न विभागमा प्राध्यापक तहका चिकित्सक नहुँदा चिकित्सा अध्ययनसमेत प्रभावित भएको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई लोकसेवासँग समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
यसअघि स्वास्थ्य सचिवसँगको भेटमा चिकित्सकले आफ्ना समस्या राखेका थिए ।
यस्तै चिकित्सकले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसमेतलाई भेट गरी समस्याबारे जानकारी गराएका थिए । अध्यक्ष रेग्मीले चिकित्सकको बढुवा प्रक्रियामा आयोग बाधक नहुने बताएका थिए । उनले अन्य सेवाका कर्मचारीको बढुवा प्रक्रियालाई आधार मान्दै तत्काल बढुवा गर्ने र नयाँ नियमावली आएपछि सोहीअनुसार प्रक्रिया गर्ने गरी प्रतिष्ठानले शिक्षक चिकित्सक र कर्मचारीको बढुवा गर्न सक्ने बताएका थिए । तर प्रतिष्ठानका पदाधिकारी नै चिकित्सक कर्मचारीको वृत्तिविकासमा संवेदनशील नभएको चिकित्सकको भनाइ छ ।

नयाँ सङ्घीय कानुन नबनिरहेको अवस्थामा लोक सेवा आयोगको समन्वयमा निजामती कर्मचारी र सचिवहरुको समेत बाधा अड्चन फुकाउँदै बढुवा प्रक्रिया अघि बढेका बेला प्रतिष्ठानमा कार्यरत चिकित्सकलाई विगत ७ वर्षदेखि प्रतिष्ठानले अनिर्णयको बन्दी बनाएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानका चारै पदाधिकारीलाई बढुवा र वृत्ति विकासका लागि काम गर्न निर्देशन दिए पनि पदाधिकारी गैरजिम्मेवार बनेका छन् । मन्त्रालयले चिकित्सकको बढुवाको काम नगरी कुनै काम लिएर मन्त्रालय नआउन निर्देश गरेको भए पनि पदाधिकारी बढुवा प्रक्रिया अघि बढाउन उदासिन देखिएका छन् ।

'यी पदाधिकारीले प्रतिष्ठानको बदनाम गरिसके, मन्त्रालयको निर्देशनसमेत अवज्ञा गर्दै कुन दुलोमा पसेका हुन् सम्पर्क छैन,' एक असन्तुष्ट चिकित्सकले भने,'प्रतिष्ठानलाई कहाँ लान खोजिएको हो हामी राणभुल्लमा छौँ ।'

प्रतिष्ठानका चिकित्सकहरु माथि पदाधिकारीले अवाञ्छित आरोप लगाउने गरेको समेत चिकित्सकको भनाइ छ ।

प्रतिष्ठानका चिकित्सकले पछिल्लो समय असोज २१ गतेदेखि २६ गतेसम्म आन्दोलन गर्ने कार्यक्रम निर्धारण गरेका थिए । आन्दोलनपश्चात् पनि समस्याको समाधान नभए प्रतिष्ठानबाट सबै शिक्षकले राजीनामा दिने अग्रिम घोषणा गरेका थिए ।

यसअघि २४ भदौ मा एक महिनाभित्र निकास दिने भन्ने प्रतिष्ठानसँग सहमति भएको थियो । २५ दिन बितिसक्दासमेत सहमति पालना गर्ने छाँटकाँट नदेखिएकाले चिकित्सक आन्दोलित भएका थिए ।

प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले वृत्ति विकास रोकिएका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै इलाका प्रशासन कार्यालयमार्फत् स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले मंगलबार आफैं मन्त्रालय पुगेर ध्यानाकर्षणपत्र दिएका थिए ।
शिक्षक कल्याण समाजको निरन्तरको दबाबपश्चात् गत जनवरीमा शिक्षक तथा कर्मचारीहरूको आन्तरिक बढुवाको लागि सूचना निकाली क्रमिक रूपमा प्रक्रिया अघि बढ्दै करिब ५० प्रतिशतको अन्तर्वार्तासमेत सकिएको थियो ।

कायममुकायम उपकुलपतिको रूपमा प्रा.डा. प्रह्लाद कार्कीले जिम्मेवारी सम्हालेपछि बिना कुनै सूचना गैरजिम्मेवारीपूर्ण रुपमा बढुवाको प्रक्रिया रोकिएको चिकित्सकहरुले आरोप लगाउँदै आएका छन् ।