विराटनगर । विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अमलेशकुमार कर्णसहित चारजना सञ्चालकले नौ करोडभन्दा बढी रकम अनियमितता गरेको भन्दै सहकारी पीडितहरूले कारबाहीको माग राखेका छन् ।

सहकारीमा निक्षेप गर्ने बचतकर्ताहरूले विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी सहकारीको अनियमितता गरेको नौ करोड २५ लाख ९१ हजार छ सय एक रुपैयाँ तिर्न आलटाल गर्ने सञ्चालकहरूलाई कारबाहीको माग राखेका हुन् । यसअघिको छानबिन समितिले सहकारीका अध्यक्ष कर्ण, सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्की, कोषाध्यक्ष राधादेवी लिम्बू र सहकारी सचिव तथा सञ्चालक समिति सदस्य प्रभाकर थापाले पाँच सय बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको रिपोर्ट दिएको थियो । बचतकर्ताहरूले निक्षेप गरेको उक्त रकम फिर्ताको लागि वर्षौंदेखि हारगुहार गरेका छन् । त्यसको लागि उनीहरूले स्थानीय प्रशासन र सहकारी हेर्ने प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका प्रमुखसहित विभिन्न सरकारोवाला नियकाहरूसँगको रोहवरमा छलफल पनि गरिसकेका छन् । तर, अनियमितता गरेको रकम फिर्ता गर्ने छाँटकाँट नदेखाएपछि आजित भएका सहकारी पीडित बचतकर्ताहरूले कारबाहीको माग राखेका हुन् ।

जिल्ला सहकारी सङ्घ मोरङका सञ्चालक समिति सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय समितिले तयार पारेको छानबिन प्रतिवेदनअनुसार सबैभन्दा बढी घोटाला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ । कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९ सय ५६ रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनले देखाएको छ । कार्कीपछि सहकारी सचिव तथा सञ्चालक समिति सदस्य प्रभाकर थापाले सहकारीको रकम हिनामिता गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटाला गरेको खुलेको छ । थापा नेपाली काङ्ग्रेसको भातृसङ्गठन तरुण दल मोरङका पूर्व सभापति पनि हुन् । यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २ सय ७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा विवेकशील पार्टीका नेता हुन् । यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९ सय ६६ रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्ताभित्रमा सहकारीको हिसाब छानबिन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । उक्त समितिले समयमै छानबिन प्रतिवेदन बुझाएको थियो । पछि सहकारीको सबैभन्दा बढी अनियमितता गरेको आरोप लागेका अमित कार्की र प्रभाकर थापाले निष्पक्ष छानबिन नभएको भन्दै प्रतिवेदनमाथि प्रश्न उठाए ।

छानबिन समितिमा सहकारीको वर्तमान पदाधिकारी रहेको र निष्पक्ष छानबिन नभएको भन्दै पुनः विज्ञ टोली अडिटर माग गरेपछि दोस्रो चरणको तीन सदस्यीय समिति गठन भएर छानबिन सुरु गरेको छ । छानबिन समितिमा सहकारीविज्ञ (आर.ए.) रामचन्द्र गौतम, नरबहादुर कार्की र व्यवस्थापक  प्रकाश सापकोटा रहेका छन् । समिति गठन भएको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि सहकारी रजिष्ट्रारको कार्यालयलाई प्रतिवेदन बुझाएको छैन । जसले गर्दा सहकारीको करोडौं रुपैयाँ घोटाला गर्ने सञ्चालकहरू कानूनी कारबाहीबाट जोगिएको बचतकर्ता विराटनगर–११ का कुन्दनकुमार साहले बताए । साहले माछापुच्छ्रे सहकारीमा निक्षेप गरेको ११ लाख ७७ हजार रुपैयाँ पाउनु पर्नेछ । ‘निक्षेप फिर्ता गर्ने पटक–पटक छलफल भयो । पैसा फिर्ता गर्ने कैयौं पटक मौखिक र लिखित प्रतिबद्धता जाहेर भयो । तर, अहिलेसम्म फिर्ता पाउने कुनै छाँटकाँट छैन । बाध्य भएपछि सहकारीको घोटाला गर्ने सञ्चालकहरूलाई कानूनी कारबाहीको लागि हामीले माग गरेका छौँ’ उनले भने, ‘कारबाहीको लागि मोरङ प्रहरी कार्यालय जाँदा पनि अहिलेसम्म उजुरी दर्ता भएको छैन । सहकारी अनुगमन र नियामक निकाय सहकारी रजिष्ट्रारको कार्यालयले पनि कुनै पहल गरेको छैन ।’ सयौंको सङ्ख्यामा भेला भएका सहकारी पीडितहरूले सहकारीको रकम अपचलन गर्नेलाई मोरङ प्रहरीले पक्राउ गरी कडा कारबाही गरिनुपर्ने र निक्षेप गरेको रकम फिर्ता दिलाइदिनुपर्ने माग राखेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले सहकारी पीडितहरूको जाहेरी लिएर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । ‘अहिले सहकारी विज्ञ टोलीले छानबिन गरी प्रतिवेदन बुझाउने भनिएको छ । उक्त प्रतिवेदन हामीले पाएपछि तत्काल प्रक्रिया अगाडि बढाउनेछौँ’ डिएसपी दाहालले भने, ‘छानबिन प्रतिवेदन आउन ढिलो भएको कारणले प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको हो ।’ यता प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले पटक–पटक छलफल गरी निकास दिन खोज्दा पनि नमिलेको कारणले अब कानूनी कारबाहीको लागि अगाडि बढ्ने बताए । ‘छानबिन समितिसँग बुझेर भोलि नै मुद्दा चलाउनको लागि प्रहरी प्रशासनलाई पत्र काट्नेछु’–उनले भने ।