विषय प्रवेशः
विरलै बस्ने धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक यसपटक पनि स्थगित भएको छ । गत असोज १७ गते बसेको कार्यपालिका बैठक नगरप्रमुख र वडाध्यक्षहरूबीचको तिक्त भनाभनको कारण बीचैमा स्थगित भएको हो । विशिष्ट परिस्थितिबाहेक मासिकरूपमा कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ । तर, धरानमा नियमितरूपमा मासिक बैठक बसेको देखिँदैन । बल्ल–तल्ल बसिहाले पनि ठोस निर्णय र निष्कर्ष विना स्थगित हुँदै आएको छ । यसले तुरुन्तै निर्णय गरेर पहल लिनुपर्ने थुप्रै जनसरोकारका मुद्दाहरू ओझेल परिरहेका छन् । यो हामी सबै धरानवासी नागरिकहरूको लागि दुःखद् र दुर्भाग्यको कुरा हो ।

नयाँ जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको पनि झण्डै डेढ वर्ष भइसकेको छ । यो अवधि भनेको कार्ययोजना बनाएर काम आरम्भ गर्नलाई पर्याप्त समय हो । तर, यहाँ अहिलेसम्म कुनै पनि किसिमको अल्पकालिक र दीर्घकालिक कार्ययोजना बनेको छैन । धरानलाई कस्तो बनाउने भन्ने स्पष्ट मार्गचित्र वा स्केच कोरिएको देखिँदैन । समृद्ध धरान बनाउन आर्थिक समृद्धिको खाका बनाइएको छैन । शिक्षा, स्वस्थ्य, रोजगारी, सामाजिक, सांस्कृतिकरूपमा धरानलाई कस्तो बनाउन सकिन्छ भनेर गम्भीर बहस र छलफल भएको छैन । धरानभित्रका सबैखाले व्यक्ति र व्यक्तित्वहरूबाट आइडियाहरू आदान–प्रदान गरिएको छैन । प्रोजेक्ट प्लानहरू बनाइएको छैन । आप्mनै मनोगत सुर, ताल र लयमा मात्र कामहरू भइरहेका छन् । आप्mनै तालले समग्र सङ्गीतको स्वाद दिन सक्दैन । तर, पनि यस्तो किन भइरहेको छ । यस सन्दर्भमा यहाँ चर्चा गरिएको छ ।

नगरप्रमुखको हल्का–फुल्का प्रतिक्रियाः
हर्क साम्पाङ स्वतन्त्र पृष्ठभूमिबाट जितेर आएका नगरप्रमुख हुन् । खानेपानीको मुद्दा नै उनको चुनाव विजयको आधार बन्न पुग्यो । उनले चुनाव जित्दा एक खालको सनसनी छाएको थियो । त्यतिखेर धेरैको नजर हर्क साम्पाङतिर रह्यो । नगरप्रमुख भएपछि नजिकैको खोलाखोल्सीमा खानेपानी सङ्कलनको लागि गरिएको व्यापक श्रम अभियानले उनलाई अर्को चर्चाको शिखर चढाइदियो । नगरप्रमुखको कुर्सीमा बस्नुभन्दा पनि श्रममा आपैm लागेर खानेपानी समस्या सुल्झाएरै छाड्छु भन्दै श्रम अभियानलाई तीव्र पारे । यो उनको उदाहरणीय र सबैले देखासिकी गर्नलायकको काम हो । उनले श्रमसंस्कृतिको लागि नयाँ क्रान्ति भनेर उद्घोषसमेत गरे । यो उनको असाध्यै सह्रानीय कार्य थियो । श्रमप्रतिको उनको निष्ठा र आस्थालाई हामी सबैले कदर, सम्मान र नक्कल गर्नै पर्दछ । यसमा कसैले टाउको दुखाउनु पर्दैन ।

वस्तुतः नगरप्रमुखको उपर्युक्त सकारात्मक तथा उदाहरणीय कार्यहरूको सन्दर्भमा टिप्पणी गर्न जरुरी छैन । यो नितान्त सह्रानीय कार्य हो । तर, उनी पनि त मान्छे हुन्, केही कमजोरीहरू अवश्य नै थिए र छन् । पहिलो उनको शीघ्र र हल्का–फुल्का प्रतिक्रिया दिने स्वभाव रहेछ । यसले नगरप्रमुखको कद जोगाउन कठिन भइरहेको महसुस भइरहेको छ । दोस्रो, उनमा नगरपिताभन्दा पनि अमुक सामाजिक अभियन्ताको भूमिकामा रमाउने बानी रहेछ । यस्तो चरित्रको कारण उनी सिङ्गो धरानको पिताभन्दा पनि खानेपानी, वृक्षरोपण र श्रमअभियन्ताको नायकजस्तो बनिरहेका छन् । यद्यपि यसको नायक बन्नु पनि नराम्रो भने होइन । तर, नगरप्रमुख भएपछि जिम्मेवारी र अपेक्षाहरू कुनै अमुक सामाजिक अभियन्ता बराबर मात्र हुँदैन । तेस्रो, उनीसँग समग्रभन्दा पनि अंशमा रमाउने स्वभाव देखिन्छ । नगरप्रमुख भनेको अंशको नभएर समग्रताको नेतृत्व हो । उनले सबै आयामहरूमा समानुपातिक दृष्टिकोण र ध्यान दिनै पर्दछ । चौथो, दलीय आग्रह(पूर्वाग्रह पनि उल्लेख्य मात्रामा भेटिन्छ । यो उनले प्रयोग गर्दै आएको ‘झोले–सोले’ पदावलीहरूलाई स्मरण गरे काफी हुन्छ । यस्ता कमजोरीलाई मेयर साम्पाङले सच्याउन जरुरी देखिन्छ ।

वडाध्यक्षहरूको मेयरप्रतिको नजरः
 हर्क साम्पाङ स्वतन्त्रबाट जितेर आएका नगरप्रमुख हुन् । अरू सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरू दलीय पृष्ठभूमिबाट आएका छन् । यस्तो वस्तुगत धरातलमा अन्तरविरोधी बुझाइ र दृष्टिकोण बन्नु स्वभाविक हुन्छ । त्यसमा पनि नगरप्रमुखको हल्का–फुल्का तर, घोचिलो अनि गैरजिम्मेवार टिका(टिप्पणीहरूले झनै उनीहरूलाई तरङ्गित बनाइरहेको आभास हुन्छ । परिणामतः कार्यपालिका सदस्यहरूले नगरप्रमुखप्रति सकारात्मक नजर बनाउन सकिरहेको देखिँदैन । यसो हुनु भनेको हामी सबै धरानेहरूको लागि दुःखद् र विडम्बनाको विषय हो । यो पक्ष विपक्षमा लागेर खुसी र दुःखी हुने कुरा पटक्कै होइन । तर, सवाल गम्भीर रहेको छ । किनभने यस्तै रवैया रहिरहे धरान अरू १० वर्ष पछि धकेलिने खतरा देखिन्छ । यो ख्याल–ठट्टाको विषय होइन ।

वडाध्यक्षहरूले नगरप्रमुखप्रति बनाएको धारणा सही छ कि गलत भन्ने कुरा उनीहरूको दृष्टिकोणमा भर पर्दछ । नगरप्रमुख स्वतन्त्रबाट आएकै भरमा एक्लै छ, पार्टी छैन, सङ्गठन छैन भनेर मात्रै नजरअन्दाज गरिएको हो भने त्यो सरासर गलत हुन्छ । हाम्रो पार्टी छ, सङ्गठन छ अनि दलबल छ भनेर कम आँक्ने काम गरिन्छ भने त्यो शतप्रतिशत गलत हुन्छ । विरोधकै लागि विरोध गरिएको हो भने त्यसमा भन्नु केही छैन । तर, जुनसुकै पृष्ठभूमिबाट आए पनि जनमत पाइसकेपछि त्यसको सम्मान गर्न सक्नु पर्दछ । यो लोकतन्त्रको आदर्श हो । यता नगरप्रमुखकै बोली र व्यवहारबाट बनेको नकारात्मक धारणा हो भने त्यसमा सरोकारवाला व्यक्तिले बेलैमा आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । गल्ती, कमी कमजोरीहरूलाई सच्याएर अघि बढ्नु पर्ने हुन्छ ।

समाधानः
वस्तुतः मेयर साम्पाङ र वडाध्यक्ष वा कार्यपालिका सदस्यहरूबीच भइरहेको निरन्तरको झगडा कसैको हितमा देखिँदैन । यो नगरप्रमुख र वडाध्यक्षहरूको मात्र सवाल होइन । धरान उपमहानगरपालिका भनेको सिङ्गो धराने जनताको सरोकारसँग जोडिएको स्थानीय तह हो । यसकारण त्यहाँ भएको विवादको नकारात्मक असर हामी सबैमा पर्दछ । त्यसैले यसको वस्तुवादी समाधानका उपायहरू खोज्न ढिलो गर्नु हुँदैन । सबै सरोकारवालाहरूले मनन् गर्दै वा आत्मसमीक्षा गर्दै आलोचना र आत्मालोचनाको विधिबाट वर्तमान समस्याको सही समाधानको बाटो पहिल्याउनै पर्दछ ।

यसमा समाधानको पहिलो ओखती भनेको द्विपक्षीय सहज र सौहाद्र्र वातावरण बनाउने भन्ने हुन्छ । यसको लागि विगतमा भए गरेका गल्ती, कमी कमजोरीहरूलाई आत्मसात गर्नुपर्दछ । कतिपय गम्भीर प्रश्नहरूमा आत्मालोचित पनि हुनुपर्दछ । नगरप्रमुख भनेको सबैको प्रमुख अभिभावक हो । यसकारण आत्मसमीक्षा र आत्मालोचनामा नगरप्रमुख नै अघि बढ्नु पर्दछ । यसको अर्थ अरूले आत्मालोचित हुुनु पर्दैैैन भन्ने आशय होइन । वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पनि विषयवस्तुको गाम्भीर्यता र गल्ती कमजोरीको आधारमा आत्मसमीक्षा गर्नै पर्दछ ।

यस अतिरिक्त नगरप्रमुखले जथाभावी हल्का–फुल्का र भावनात्मक प्रतिक्रियाहरू दिने काम बन्द गर्नु पर्दछ । रिस र आवेशमा आउनु हुँदैन । कुनै अमुक सामाजिक अभियन्ताभन्दा पनि समग्र धरान सरकारको प्रमुखजस्तो हुनुपर्दछ । अर्थात् प्रमुखले गर्नुपर्ने सबैखाले जिम्मेवारीहरू गम्भीर र दत्तचित्त भएर पूरा गर्नु पर्दछ । अहिले नगरप्रमुखले श्रममा मात्रै ध्यान दिएको भन्ने आरोप छ । यसलाई भ्रम सावित गर्न उपमहानगरपालिकाले गर्ने सम्पूर्ण कामहरूमा पनि समानरूपमा ध्यान दिनु पर्दछ । तब विरोधीहरूको मुखमा बुझो लाग्दछ भने सवै काम एकसाथ अघि वढ्दछ । त्यो भनेको मेयर मात्र होइन सिंगो धरान र धराने जनता अघि वढ्नु हो ।

यता पार्टीका नेता, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पनि तथ्यमा टेकेर मात्र प्रश्नहरू उठाउनु पर्दछ । धरानका आम मुद्दाहरूको स्वार्थमा मात्र विरोध गर्नु पर्दछ । आग्रह–पूर्वाग्रहकै भरमा विरोध र बखेडा झिक्नु हुँदैन । अर्थात् स्वतन्त्रबाट जितेर आएकै भरमा असहयोग गर्नु मिल्दैन । यदि कसैले त्यसो गरे त्यो गैरराजनैतिक, गैरजिम्मेवार र गैरविवेकपूर्ण हुनेछ । यसले पक्ष र विपक्षीहरूलाई सुख–दुःख र मीठो–नमिठो लागे पनि समस्या समाधान हुँदैन ।

त्यसैले ऐतिहासिक तथा सुन्दर नगरी धरानलाई समृद्ध बनाउने हो भने सरोकारवाला सबैले गल्ती कमजोरीमा आत्मसमीक्षा र आत्मालोचना गरौं । सच्चिने र रूपान्तरित हुने वाचा गरौं । दलीय तथा स्वतन्त्रको छेकवारहरू भत्काऔं । मपाईंत्व, घमण्ड र सर्वोच्चताको भावनात्मक पर्खालहरू ढालौं । नियमित कार्यपालिका बैठक बसेर आम धरान र धराने जनताका जल्दा–बल्दा समस्याहरूमा ध्यान केन्द्रित गरौँ । वार्ता, संवाद र छलफलको माध्यमबाट समाधान खोजौं । समृद्ध धरान बनाउने महाअभियानमा लागौँ । यसैमा हामी सबैको बृहत्तर हित अन्तरनिहीत छ ।