कुम्मायक गाउँपालिका–२ स्थित माङ्जाबुङको सिद्ध सरस्वती माध्यमिक विद्यालय २०५२ सालमा माध्यमिक विद्यालयको रूपमा स्थापित भयो । माध्यमिक तह विस्तार भएको समयदेखि विद्यालय नजिकैका ओमबहादुर खड्कालाई विद्यालयले सहयोगी कर्मचारीका रूपमा नियुक्त गरेको थियो । धुलाम्य विद्यालयको सरसफाइदेखि बाहिरी व्यवस्थापनको सबै जिम्मेवारी खड्काको काँधमा थियो । पूर्वप्रधानाध्यापक निलकण्ठ सापकोटाका अनुसार सो समय खड्काको पारिश्रमिक मासिक ३ सय रुपैयाँ थियो ।

विद्यालयनजिकै ओमबहादुरको घर थियो । केही रोपनी पाखोबारी पनि । मकै, मस्यामलगायत एक सिजन बाली उत्पादन हुने बारीको उब्जनीले खड्काको परिवारलाई दुई महिना पनि खान पुग्दैनथ्यो । ३ सय रुपैयाँबाट सुरु भई बढ्दै गएको तलबले नै खड्काको परिवार चलेको थियो ।

खड्का प्रायः विद्यालयमै काम गर्थे । काठको सामान्य काम गर्न जान्ने भएकाले विद्यालयका धेरै काम खड्काबाट हुन्थे । ‘तलब एक जनालाई दिए पनि परिवारका सबैले विद्यालयका लागि काम गर्दथे । काठको काम लगाउँदा ओमबहादुरलाई अतिरिक्त खर्च दिने गर्दथ्यौँ’ सापकोटाले विगत सम्झिए, ‘श्रीमान् विद्यालयको जागिरे भए पनि ओमबहादुरकी श्रीमती ठूलीले सरसफाइदेखि खानेपानीको जोहो गर्न मद्दत गर्थिन् ।’

झापाको दमकमा बसोबास गर्दै आएका पाँचथरको कुम्मायक गाउँपालिका–२ माङ्जाबुङस्थित सिद्ध सरस्वती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक निलकण्ठ सापकोटाले असार १८ गते दमक बसपार्कमा ४ बोरा सामान र एउटा सिलिण्डर ग्याँस लिएर उभिएका आमाछोराको फोटो सामाजिक सञ्जाल फेसबुकमा हाले ।

तस्बिरमा भएका आमाछोरा थिए, माङ्जाबुङकै आनन्दकुमारी खड्का (ठूली) र उनका कान्छा छोरा कबिन खड्का । सापकोटालाई नै खोज्दै दमक पुगेका आमाछोरा सिद्ध सरस्वती माध्यमिक विद्यालयका पूर्वविद्यालय कर्मचारी ओमबहादुर नामले चिनिने अमरबहादुर खड्काका श्रीमती र छोरा थिए ।  उनी अन्यायमा पर्नु र सापकोटालाई खोज्दै दमक पुग्नुको कारण भने निकै मर्मस्पर्शी छ ।

गत वैशाख २४ गते ओमबहादुरको निधन भएपछि आनन्दकुमारीका दुःखका दिन सुरु भए । ओमबहादुर र आनन्दकुमारीका चार जना छोराछोरीमध्ये जेठा छोरा रोजगारीका लागि विदेशमा छन् भने छोरीहरू विवाह गरेर घरतिर गइसकेका छन् । ओमबहादुरको काजकिरियापछि आनन्दकुमारीले विद्यालयमा श्रीमान्ले गर्दै आएको काम गर्न थालेका थिए । तर, स्वास्थ्य अवस्था र उमेरका कारण विद्यालयको सबै काम उनीबाट सम्भव भइरहेको थिएन ।

ओमबहादुरको निधनपछि विद्यालयमा सहयोगी कर्मचारी राख्ने विषयमा छलफल भयो । विद्यालयका प्रधानाध्यापक पूर्णकुमार शेर्माका अनुसार विद्यालय व्यवस्थापन समितिमा सहयोगी कर्मचारी राख्ने विषयमा छलफल भयो, तर सहमति भएन । धेरै अभिभावक, शिक्षक तथा स्थानीयवासीले परिवारले विद्यालयलाई दिएको योगदान सम्झेर ओमबहादुरका कान्छा छोरा कबिनलाई विद्यालयमा कर्मचारीका रूपमा नियुक्त गर्न चाहेका थिए । २१ वर्षका कबिन पनि काम गर्न इच्छुक थिए ।

प्रधानाध्यापक शेर्माका अनुसार विद्यालय व्यवस्थापन समितिमा कबिनलाई नियुक्ति दिने विषयमा छलफल चल्यो तर, सहमति जुटेन । यसपछि विद्यालयले सहयोगी कर्मचारीका लागि विज्ञापन आह्वान गर्यो । ‘विद्यालय व्यवस्थापन समितिमा सहमति नभएपछि आवेदन आह्वान गरेर परीक्षा गरायौँ । गाउँपालिकामा भएको परीक्षामा (कबिन खड्का)को नाम निस्किएन । अर्कै परीक्षार्थी सफल भए’ प्रधानाध्यापक शेर्माले भने, ‘परीक्षा प्रणालीमा जाँदा त्यस्तो भयो ।’

असार १२ गते कुम्मायक गाउँपालिकामा भएको परीक्षामा कबिन छनौट हुन नसकेपछि खड्का आमाछोराको माङ्जाबुङमा जीविका चलाउने कुनै आधार बाँकी रहेन । जीविका चलाउने आधार समाप्त भएपछि आमाछोरा पाखो बारी र सानो घर छोडेर झापा झरे । विगतमा अभिभावक झैं सहयोग गर्ने ‘हेडसर’ सापकोटाको सहयोगमा उतै बस्ने तयारी आमाछोराको थियो ।

कर्मचारी राख्न परीक्षा हुने भएपछि खड्का परिवारले विद्यालयलाई दिएको योगदान सम्झेर कबिनलाई नियुक्त गर्न आफूले सुझाव दिएको पूर्वप्रधानाध्यापक सापकोटा बताउँछन् । ‘हालसम्म योगदान दिएका आधारमा केही अङ्क थपेर छोरालाई राखिदिँदा कल्याण हुन्छ भनेर सुझाव दिएको थिएँ’ सापकोटाले भने, ‘तर, विद्यालयमा आश्रय नपाएपछि खड्का आमाछोरा गाउँ छोडेर मेरो शरणमा आइपुग्न विवश बने ।’

आफूलाई खोज्दै आएका आमाछोरालाई भेटेपछि आफ्नै घरमा राखेर बसोबासको व्यवस्था मिलाएको सापकोटाको भनाइ छ । ‘दमक पश्चिम बस स्टेण्डमा हाम्रो हेडसरको घर कता छ भनेर खोज्दै रहेछन् । अहिले मेरै अर्को घरमा बसेर मेरो लगानी भएको निजी विद्यालयमा कबिनलाई काम गर्ने व्यवस्था मिलाइदिएको छु’ सापकोटाले भने, ‘आमा चाहिँ धेरै कमजोर भएकाले प्रशस्तै आराम गर्न भनेको छु । स्वास्थ्य अवस्था ठीक भएपछि कामको प्रबन्ध मिलाइदिनेछु ।’ खड्का परिवारको आर्थिक अवस्था नाजुक भएका कारण ओमबहादुरको काजकिरिया गर्दा बाँकी रहेको ऋण तिर्न माङ्जाबुङ नै घर भई दक्षिण कोरियामा रोजगारीमा रहेका गजेन्द्र शेर्माले १९ हजार १ सय रुपैयाँ सहयोग गरेको सापकोटाले जानकारी दिए । सापकोटाकै फेसबुक पोष्टमा धेरै स्थानीयवासीले खड्का परिवारमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

श्रीमान्को शोकमा रहेकी एकल महिलामाथि विद्यालय व्यवस्थापन समितिले सहयोग गर्नुपथ्र्यो ।  खड्का परिवारको आर्थिक अवस्था निकै कमजोर भएको, परिवारले नै विद्यालयका लागि योगदान दिएको हुँदा सानो भए पनि रोजगारीको अवसर दिई न्याय गर्नुपर्ने तर्क स्थानीयवासीको छ । यद्यपि विद्यालयले नयाँ कर्मचारी नियुक्त गरी काममा लगाइसकेको प्रधानाध्यापक शेर्माले बताए ।