विषय प्रवेशः
वस्तुतः नयाँ त्यसै हुन सक्दैन । गुणात्मक रूपमै नयाँ हुनको लागि यसको पद्धति, प्रक्रिया, शैली र शिक्षा नितान्त भिन्न हुनुपर्दछ । अर्थात् यसको सङ्घटन र विघटनको प्रक्रिया नै फरक हुन्छ । यो साश्वत् सत्य हो । तर, पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा निरपेक्ष नयाँ र नौलो हुट्हुटी डरलाग्दो गरी बढिरहेको छ । बाइक, मोबाइल र श्रीमती फेरेजस्तै नयाँ–नयाँ राजनैतिक पार्टी र नेताहरू छनौटमा परिरहेका छन् । अझ प्रष्ट भाषामा भन्ने हो भने मतदान गर्ने चिन्ह फेरिरहेका छन् ।

उनीहरूमा नयाँले पक्कै गर्छ भन्ने बनीबनाउ चाहना र भावना देखिन्छ । सनातनी अनुहारहरूभन्दा नयाँ अनुहारमा चमक देखेका छन् । नौलो पार्टी, पात्र र स्वतन्त्र व्यक्तिप्रतिको अकल्पनीय आशा र अपेक्षाहरू सजाइरहेका छन् । विश्वास, आड र भरोसा बढाइरहेका छन् । यो भएन, त्यो गरेन भनेर पुरानो पार्टीलाई गाली गरेर राजनैतिक रङ्गमञ्चमा उदाएका नयाँ पार्टी र स्वतन्त्र व्यक्तिहरू हरेक कार्यक्रम, टिकटक, फेसबुक लाइभ र युट्युबहरूमा यो गर्छौं, त्यो गर्छौं भन्दै प्रतिबद्धता पस्किरहेका छन् । मतदाताहरू ताली पड्काइरहेका छन् ।

पार्टी र नेता नयाँः
हाम्रो आधुनिक मतदाताहरूले पद्दति, प्रक्रिया र विधिमा समस्या देखेका छैनन् । अधिभूतवादीरूपमा नयाँ पार्टी र स्वतन्त्र पात्रमा समाधान देखेका छन् । परिणामतः उनीहरू पुरानो पार्टीलाई निषेध गरिरहेका छन् । कसले के बोल्यो, के लेख्यो भन्दा पनि पुरानोले कि नयाँले भनेको वा बोलेकोबाट मापन गर्ने प्रचलन बढेको छ । कसको भनाइ सही, वस्तुवादी र उपयोगी छ भन्ने भन्दा पनि पुरानो पार्टी, नेता वा पात्र कि नयाँ पार्टी, नेता र स्वतन्त्र व्यक्तिले बोलेको आधारमा मूल्याङ्कन गर्न थालिएको छ । अर्थात् बोलाइ र लेखाइको सारभूत गहिराइमा पुग्नु पर्दैन । तब नयाँले बोलेको सही र पुरानोले बोलेको गलत भन्ने भाष्य स्थापित हुँदै गएको छ ।

नयाँ पार्टी वा व्यक्तिको राजनैतिक दस्तावेजको आधारमा समर्थन र विरोध गर्नु पर्दैन । कार्यदिशा, कार्यक्रम र कार्ययोजना हेर्नुपर्दैन । आर्थिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू वस्तुसम्मत हुनु पर्दैन । अर्थात् राजनैतिक दृष्टिकोणको आधारमा सही र गलत निर्धारण गर्नुपर्दैन । सही र तथ्यको आधारमा समर्थन र विरोध गर्नुपर्दैन । यसो भएपछि पुरानो निरपेक्ष गलत नयाँ निरपेक्ष ठीक भन्ने भाष्य स्थापित भइरहेको छ, जुन सही होइन । तब उनीहरूलाई पार्टी वा पात्र पनि नितान्त नयाँ भए पुग्छ । तर, समस्या पुरानो र नयाँमा होइन । समस्या राजनैतिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना र कार्यक्रममा हो । नयाँसँग त्यस्तो भिन्न कार्यक्रम देखिँदैन । उसको ट्याग मात्रै नयाँ हो, जुन धेरै समय टिक्दैन । 

प्रतिबद्धता र घोषण–पत्र नयाँः
राजनैतिक वैचारिक दृष्टिकोणले नेतृत्व गरिरहेको समाजमा हरेक राजनैतिक पार्टीको मूल्याङ्कन दस्तावेज, घोषणा–पत्र वा प्रतिबद्धता पत्रमा अन्तरनिहीत अन्तरवस्तुको आधारमा गर्ने गरिन्छ । तर, पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा वैचारिक कमाण्ड कमजोर भएको छ । तब कुनै पनि राजनैतिक शक्ति वा पात्रको दस्तावेज र प्रतिबद्धता पत्रहरूको गहिरो अध्ययन गर्नु पर्दैन । वस्तुतः उनीहरूले भरपर्दो र कार्यान्वयनयोग्य घोषणा–पत्र तयार पनि गरेको हुँदैन । यस्ता पात्रहरू धरातलीय यथार्थमा भन्दा पनि हावादारी गफगाफमा आधारित हुनेगर्दछन् । मतदाताहरूको आँखामा छारो हाल्ने प्रयोजनमा सीमित गरिएको हुन्छ ।

यस्तो वस्तुगत धरातलमा पहिलो कुरा त घोषणा–पत्र र दस्तावेज अध्ययन गर्ने क्रम खस्कँदो छ । अध्ययन गर्दा पनि कसको सही र गलत भन्ने भन्दा पनि नयाँ पार्टीको प्रतिबद्धता–पत्र कि पुरानो पार्टीको भनेर लक्ष्मणरेखा कोर्न थालिएको छ । घोषण–पत्रको राजनैतिक सार जस्तो भए पनि पुरानो पार्टीकोलाई नजरअन्दाज गर्ने र नयाँ पार्टीकोलाई अन्धसमर्थन गर्ने गलत मनोवृत्ति मौलाइरहेको छ । अर्थात् कुन पार्टीको दस्तावेज वा घोषणा–पत्रमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरूलाई सन्तुलितरूपमा समेटिएको छ भन्ने आधारमा सही र गलत निर्धारण गरिँदैन । नयाँ र पुरानो पार्टी कसले तयार पारेको भन्ने आधारमा हेर्ने गरिन्छ । यो सरासर गलत हो ।

स्टन्ट र प्रचार नयाँः
राजनैतिक–वैचारिकीको स्थान फितलो हुँदैगएको बेला समग्र समाजलाई ह्याण्डल गर्ने मुख्य अश्त्र नै प्रचारबाजी हुने गर्दछ । सामान्य सूचना आदान–प्रदान गर्नुलाई सञ्चार भनिन्छ । यो सामान्य प्रक्रिया हो । यही सञ्चारलाई अलि योजनाबद्धरूपमा बढी प्रचारमुखी र हल्लाखल्ला केन्द्रित बनाएर उपयोग गर्नुलाई प्रचारबाजी भनिन्छ । यही अतिप्रचारमुखी र हल्लामुखी सामग्रीहरूलाई अझ कलात्मक अभिनयको शृङ्गारद्वारा सजाइन्छ र निश्चित लक्ष्य हासिल गरिन्छ भने त्यसलाई स्टन्टबाजी भनिन्छ । पछिल्लो समय राजनीतिमा स्टन्टबाजी अपरिहार्य बन्दै गइरहेको छ ।

विशेषतः विचार र राजनीतिप्रति युवाहरूको रुझान निकै कम छ । पुरानो वा नयाँ कुनै पनि पार्टीहरूले पनि युवालक्षित राजनैतिक कार्यक्रम दिन सकिरहेको छैन । राजनैतिक–वैचारिक प्रशिक्षण र तालिमहरूको निरन्तर कक्षाहरू सञ्चालन गरिएको छैन । यसले आम युवापुस्ता राजनैतिकरूपमा नितान्त भुत्ते सावित भइरहेको छ । यसरी युवापुस्ता भुत्ते भएको बेला मिडिया स्टन्टबाजी वा कलात्मक प्रचार उद्देश्य प्राप्तिको मुख्य साधन बन्ने गर्दछ । आज हाम्रो समाज ठीक यही विन्दुमा देखिन्छ । अझ पुरानोले भन्दा नयाँ र स्वतन्त्रहरूले गरेको स्टन्टबाजीमा निकै बढी आकर्षण देखिन्छ । यसकारण राजनैतिक स्टेजमा उनीहरूको स्वर अलि ठूलो सुनिदैछ ।

पद्दति भने पुरानैः
तर, आजसम्म नेपाली राजनीतिको सतहमा देखापरेको सबै नयाँहरूले प्रणाली गलत छ भनेर टिकाटिप्पणी गरेका छैनन् । पद्दति र प्रणालीको विकल्पबारे बोलेका छैनन् । यही पुरानै प्रणालीभित्र नयाँको वकालत गरिरहेका छन् । पुराना पार्टीहरू बिग्रिए भनिरहेका छन् । तर, पुराना पार्टीहरूलाई बिगार्ने प्रणाली बदल्ने कुरा गरेका छैनन् । उनीहरूलाई प्रणालीमा समस्या भएर पुराना पार्टीहरू असफल भएको भन्ने न्यूनतम् ज्ञान छैन । पुरानाले यो बिगारे, त्यो बिगारे अब हामी सपार्छौं मात्र भन्छन् । यस्तो बनीबनाउ र अमूर्त भनाइहरू व्यवहारतः कार्यान्वयनमा जान सक्दैन । यस्तो वस्तुगत सच्चाइबारे हाम्रा मतदाताहरूमा आधारभूत ज्ञान छ जस्तो लाग्दैन ।

उदाहरणको लागि संसदीय प्रणाली अन्तर्गतको चुनावी प्रक्रिया असाध्यै खर्चिलो छ । यो तपाईं हामी सबैलाई थाहै छ । अब नयाँ पार्टी पनि त्यही चुनावी प्रणालीमा छिरेपछि उसले पनि सोही अनुरूप खर्च गर्नुपर्ने हुन्छ । त्यो अमुक नयाँ पार्टी वा स्वतन्त्र व्यक्तिले म वा हामी चुनावमा बढी खर्च गर्दैनौं भनेर प्रतिबद्धता जाहेर गर्दछ । तर, त्यो व्यवहारमा लागू हुँदैन । किनकि एक पटक त माहौलकै भरमा जित्ला । तर, उसले राजनीतिमा प्रवेश गरेयता निरन्तर चुनाव जितिरहनु पर्दछ । यस्तो भावभूमिमा भावी चुनावहरू विना खर्च जित्न सकिन्न । तब उसले खर्च जोहो गर्ने बाटो रोज्नु पर्ने हुन्छ । विचलन वा बिग्रिने प्रस्थान विन्दु नै यही हुन्छ । उसको आदर्श र प्रतिबद्धताका पिलरहरू सबै ढल्न थाल्दछ । वस्तुतः नयाँ वा स्वतन्त्रहरूको आन्दोलन भनेको विचारले नेतृत्व गरेको आन्दोलन होइन । यो पार्टी तथा नेता गालीमा केन्द्रित र सामाजिक सञ्जालमा आधारित आन्दोलन हो । यस्तो आन्दोलनले प्रणाली र पद्दतिमा समस्या देख्न सक्दैन । अघिल्लोले बिगार्यो हामी सपार्छौं भनेर राजनैतिक स्वार्थ हासिल गर्ने दाउ स्पष्टै छ ।

निष्कर्षः
त्यसैले पुरानै प्रणाली अन्तर्गत कुनै पनि सत्ता, व्यक्ति वा वस्तु गुणात्मकरूपमै नयाँ हुन सक्दैन । नाम मात्रको नयाँ होला । औसत नयाँ होला । केही फरक नयाँ होला । सुधारिएको नयाँसम्म होला । तर, गुणात्मकरूपमै नयाँ बन्न सक्दैन । त्यसको लागि पद्दति वा प्रणालीलाई नै बदल्नु पर्दछ । आजसम्म जन्मिएका नयाँ पार्टी र स्वतन्त्रहरूले प्रणालीमाथि एक शब्द पनि बोलेको सुनिदैन । अमूर्तरूपमा पुरानो पार्टी र नेताहरूले यो बिगारे, त्यो बिगारे भन्दै अब हामी सबै सपार्छौं मात्र भनिरहेका छन् ।

वस्तुतः प्रणाली मुख्य हुन्छ । प्रणाली टाउको हो भने अरू सबै तपशिलका अङ्गहरू हुन् । प्रणालीको फेरबदलसहितको नयाँ पार्टी र नेताले धेरै चिज बदल्ने हैसियत राख्दछ । अन्यथा औसत नयाँ मात्र हुन्छ । प्रणाली परिवर्तनसहितको नयाँ दस्तावेज र घोषणापत्र मात्र गुणात्मक नयाँ हुन्छ । यस्तो नयाँ मात्र आजको यावत् समस्याहरूको वस्तुवादी विकल्प बन्न सक्दछ । यद्यपि हाम्रो नयाँ जनमत गुणात्मक नयाँको पक्षमा देखिँदैन । यस्तै औसत र मात्रात्मक नयाँको मात्र खोजी गर्दै जाने हो भने पुस्तौं–पुस्ता गुज्रिएला । तर, गुणात्मक समाधान र परिणाम कहिल्यै हात लाग्ने देखिँदैन ।