बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्तरिक आर्थिक समस्याले पिरोलिइरहेको छ । प्रतिष्ठानको स्वायत्तताका बारेमा आवाजहरु उठे पनि राज्यले यसलाई स्वायत्त अधिकार प्रदान गर्न सकेको छैन । प्रतिष्ठान गर्जो टार्नमात्रै स्वायत्त छ । प्रशासनिक स्वायत्ततामा अंकुश लगाइरहेको देखिन्छ । सरकारले यसलाई एउटा जिल्ला अस्पतालका रुपमा मात्रै हेर्ने गरेको प्रतिष्ठान स्रोत बताउँछ ।

प्रतिष्ठानलाई राज्यका तर्फबाट विगतमा आउने आर्थिक सहयोग र बजेट विनियोजन कटौती भएको छ । प्रतिष्ठान सहयोगका लागि एकपैसा समेत विनियोजन राज्यले गरेको छैन । विपन्न नागरिकको निःशुल्क उपचारलगायतमा आउने अस्पताल सञ्चालन खर्च, पुँजीगत खर्च, उपकरण खरिद र चालु खर्चमा समेत प्रतिष्ठानको आर्थिक सहायता सरकारले कटौती गरिदिएको छ ।

‘आर्थिक रुपमा प्रतिष्ठानले इन्टर्नल खर्च गर्नुपर्ने हुन्छ, आर्थिक सहयोग शून्य बनाइदिने, आफैं गर् भनिदिने, तर प्रशासनिक स्वायत्ततामा अंकुश लगाउने सरकारको नीति छ,’ प्रतिष्ठानका एक पदाधिकारीले भने,‘सरकार र त्यसका नेतृत्वले बिपीकेआईएचएसलाई एउटा जिल्ला अस्पताल जस्तो मात्रै बुझेको छ ।’

प्रतिष्ठानका पदाधिकारीहरु दातृ निकायसम्म पुग्न नसक्दा समेत प्रतिष्ठानले आर्थिक, प्रशासनिक भार थप बेहोर्नु परिरहेको छ । प्रतिष्ठानको भौतिक संरचना अद्यावधिक हुन सकेका छैनन् । सडक, शौचालयको दूरावस्था छ । सवारी साधनहरु कवाडी भएका छन् । प्रतिष्ठान पदाधिकारी कहीँकतै पहल गर्दैनन् । 

‘प्रतिष्ठानले प्राप्त गर्दैआएको अस्पताल सञ्चालन खर्च एक पैसा पनि छैन । उपकरण खरिदमा शून्य छ, बजेटमै उल्लेख भएको छैन,’ एक कर्मचारीले भने, ‘लबिङ गरेर आयो भने ठीकै हो नभए एक पैसा छुट्टिएको छैन ।’

यस विषयमा पदाधिकारी औपचारिक रुपमा बोल्न झिंजो मान्छन् । नाम उल्लेख गर्न मान्दैनन् । माथिल्लो निकायलाई देखाइदिन्छन् । भर्खरै नियुक्त उपकुलपति केके विषयमा बोल्ने र नबोल्ने भन्ने कुरा जानकारी गराउने बताउँछन् । 

बिमावापत् भूक्तानी बाँकी 

स्वास्थ्य बिमावापत्को  झण्डै २७ करोड रुपैयाँ भुक्तानी प्राप्त गर्न नसक्दा बिपी प्रतिष्ठानमा आर्थिक समस्या उत्पन्न भएको छ । 

आइतबारसम्मको तथ्यांकअनुसार बिपी प्रतिष्ठानले स्वास्थ्य बिमा बोर्डबाट बिमावापत्को २६ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नुपर्ने देखिन्छ  । पछिल्लो पटक असारमा ६ करोड भुक्तानी गरेको बिमा बोर्डले २०७४ सालदेखि थाँती रहेको ‘रिजेक्सन’ र ‘कम भ्यालुएसन’ भएर देखिएको १३ करोड रुपैयाँ प्रतिष्ठानले घाटा बेहोरिरहेको छ । उक्त भुक्तानीसमेत अनिश्चित छ ।

प्रतिष्ठानस्थित अस्पताल प्रशासन महाशाखाका अनुसार बिपी प्रतिष्ठानको मुख्य आम्दानीको ६० प्रतिशत रकम बिमावापत् प्राप्त हुने रकम हो । बिमा बोर्डले रकम फरकफारक नगर्दा तलब, भत्ता वितरण, सामग्री खरिदलगायतमा समस्या उत्पन्न भएको छ । 

‘पैसा होल्ड भएर अस्पताल सञ्चालन गर्न समेत समस्या उत्पन्न भएको छ,’ अस्पताल प्रशासन स्रोतले भन्यो । 

बिमा बोर्डले बिमाको दररेट पुनरावलोकनका लागि समेत विज्ञ माग गरेको बताइएको छ । वर्षौंदेखि एउटै दरमा स्वास्थ्योपचार भइरहेकामा पुनरावलोकन गर्न र सम्झौता गर्न विज्ञ माग भइआएको बताइएको छ ।